logo
२०८० चैत्र १६ शुक्रवार



भौतिक उपस्थितिमै कक्षा १२ को परीक्षा

शिक्षा |
मुख्य समाचार |


भौतिक उपस्थितिमै कक्षा १२ को परीक्षा



शेषकान्त पण्डित

काठमाडौँ, मङ्सिर ५ गते । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण कायमै रहेको अवस्थामा पनि जनस्वास्थ्यप्रति संवेदनशील हुँदै भौतिक दूरी कायम गर्दै कक्षा १२ का विद्यार्थीको अन्तिम परीक्षा भौतिक उपस्थितिमा नै लिइने भएको छ ।
विद्यार्थीलाई भौतिक उपस्थितिमा नै परीक्षा लिन कुनै समस्या नभएको र त्यसका लागि आवश्यक तयारी गरिएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले जानकारी दिनुभयो । बोर्डले गत वैशाख ८ गतेबाट सञ्चालन हुनुपर्ने तर स्थगित भएको परीक्षा यही मङ्सिर ९ गतेबाट सञ्चालन गर्दैछ । परीक्षा मङ्सिर १६ गते सकिने गरी कार्यतालिका सार्वजनिक गरिएको छ ।

अभिमुखीकरण जारी
बोर्डले झन्डै ५० जिल्लाका परीक्षा सञ्चालन हुने विद्यालयका प्रधानाध्यापक र परीक्षा हेर्ने कर्मचारीलाई कक्षा १२ को परीक्षा कसरी सञ्चालन गर्ने भन्ने विषयमा भर्चुअल रूपमा नै अभिमुखीकरण कार्यक्रम जारी राखेको छ । केही दिनमा सबै जिल्लाको अभिमुखीकरण सकिने र परीक्षा सञ्चालन गरिने जनाइएको छ ।
कोरोना सङ्क्रमण कायमै रहेको अवस्थामा पनि निर्वाध रूपमा परीक्षा सञ्चालन गर्न सक्ने आत्मविश्वास केन्द्राध्यक्षहरूले राखेको जनाइएको छ । भौतिक रूपले टाढाको दूरीका परीक्षा केन्द्रमा प्रश्नपत्र पठाइसकिएको छ । नजिकका परीक्षा केन्द्रमा अनलाइनको माध्यमबाट परीक्षा सञ्चालन हुनुभन्दा आधा घण्टा अगाडि प्रश्नपत्र पठाइने व्यवस्था मिलाइएको छ ।
यसैबीच बोर्डले विद्यार्थीलाई भौतिक दूरी कायम गर्दै परीक्षा लिन सम्बद्ध विद्यालयलाई निर्देश गरेको छ । परीक्षाको दूरी कायम गर्न केही विद्यालयले समस्या भए नजिकैको विद्यालयमा परीक्षा केन्द्र विस्तार गरेर भए पनि परीक्षा लिने गरी बाटो खुला गरिएको जानकारी बोर्डका अध्यक्ष पौडेलले दिनुभयो ।
कक्षा १२ को परीक्षामा विभिन्न ७३ वटा विद्यालयमा पाँच सयभन्दा बढी परीक्षार्थी छन् । ती विद्यालयलाई परीक्षा सञ्चालन गर्न समस्या भएको अवस्थामा नजिकैको विद्यालयमा परीक्षा केन्द्र विस्तार गर्न सक्ने अधिकार दिइएको हो । धेरै विद्यार्थी अध्यापन गराउन सक्ने विद्यालयमा भौतिक संरचनासमेत ठूलो हुने र हाल अन्य कक्षाका विद्यार्थीको कक्षा नचलेकाले समस्या नहुने जनाइएको छ ।
बोर्डले परीक्षा सञ्चालनको अवधिमा कोरोना सङ्क्रमण पुष्टि भएका विद्यार्थीलाई परीक्षामा सहभागी नहुन र नआत्तिन अनुरोध गर्दै ती विद्यार्थीको छुट्टै परीक्षा लिइने जनाएको छ । सङ्क्रमित अवस्थाका विद्यार्थीलाई हाल परीक्षामा सहभागी नगराउने र निको भएपछि १५ दिनपछि परीक्षा लिइने जानकारी बोर्डका अध्यक्ष पौडेलले दिनुभयो ।
सङ्क्रमण कायमै रहेको अवस्थामा विद्यार्थीलाई परीक्षामा सहभागी गराउँदा जोखिम झनै बढ्ने भएकाले उनीहरूका लागि अलग्गै परीक्षा लिने व्यवस्था गरिएको हो । सङ्क्रमित विद्यार्थीले निको भएपछि आफ्नै विद्यालयबाट परीक्षा दिन पाउने व्यवस्था बोर्डले मिलाएको छ । सबै विद्यार्थीको अन्तिम नतिजा प्रकाशन एकैपटक गरिने भएकाले सङ्क्रमित विद्यार्थीले १५ दिनपछि परीक्षा दिएको अवस्थामा पनि केही फरक नपर्ने जनाइएको छ ।
बोर्र्डले कक्षा १२ को परीक्षालाई यस पटक भिन्न तरिकाले सञ्चालन गर्न खोजेको छ । विद्यार्थीलाई नजिकको परीक्षा केन्द्र्र र होम सेन्टर दिइएको छ । विद्यार्थीले आफूले कक्षा १२ पढेको विद्यालयबाटै अन्तिम परीक्षा दिन पाउने छन् । परीक्षा केन्द्र परिवर्तन गर्न चाहेका विद्यार्थी मात्र अर्को विद्यालयमा परीक्षा लिन पुग्नेछन् ।
केही हजार विद्यार्थीले परीक्षा केन्द्र परिवर्तनका लागि अनुरोध गरेको जानकारी बोर्डले


दिएको छ । एउटा परीक्षा केन्द्रमा थोरै विद्यार्थी मात्र नयाँ हुन सक्ने जनाइएको छ । यसपटक विद्यार्थी अध्ययन गरेको विद्यालयलाई नै परीक्षा केन्द्र मानिएका कारण विद्यार्थीलाई डेरा लिएर बस्नु नपर्ने, धेरै टाढा जानु नपर्ने र परीक्षार्थीका बीचमा धेरै जमघट हुनु नपर्ने भएकाले परीक्षालाई स्वास्थ्यको हिसाबले समेत सुरक्षित बनाउन सकिने जनाइएको छ ।

कक्षा ११ को परीक्षा विद्यालयबाटै
कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीको परीक्षा सम्बद्ध विद्यालयले नै सञ्चालन गर्ने जानकारी बोर्डले दिएको छ । विद्यालयले आफ्नो आन्तरिक व्यवस्थापन अनुसार कक्षा ११ को परीक्षा सञ्चालन गर्न पाउने छन् । प्रश्नपत्र निर्माण, परीक्षा सञ्चालन, नतिजा प्रकाशन लगायतको सबै काम गर्ने अधिकार सम्बद्ध विद्यालयलाई नै दिइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?