logo
२०८० चैत्र १६ शुक्रवार



दरबार हाइस्कुल सञ्चालनमा आउँदै

शिक्षा |
खुला |


दरबार हाइस्कुल सञ्चालनमा आउँदै



शेषकान्त पण्डित

काठमाडौँ, कात्तिक १८गते । पुनर्निर्माण सकिएर विद्यालयलाई साँचो हस्तान्तरण गरिएपछि ऐतिहासिक दरबार हाइस्कुल (भानु मावि) तिहारअघि नै नयाँ भवनबाट सञ्चालनमा आउनेभएको छ । विद्यालयका सबै भौतिक सामग्रीको बन्दोबस्त गरी तिहारअघि नै दरबार हाइस्कुल नयाँ भवनबाट कामकाज सञ्चालनमा ल्याउने भएको हो । विद्यालयका प्रधानाध्यापक अखिलेश आजादले तिहारअघि नै आफूहरू पूर्णरूपमा विद्यालयमा सरिसक्ने र त्यसका लागि काम भइरहेको जानकारी दिनुभयो ।
पाँच वर्षअघि २०७२ सालको विनाशकारी भूकम्पपछि क्षतिग्रस्त दरबार हाइस्कुल प्रदर्शनी मार्गस्थित वाल्मीकि विद्यापीठ नजिकैको परिसरमा सारिएको थियो । दरबार हाइस्कुलसँगै रहेको संस्कृत माध्यमिक विद्यालय रानीपोखरी पनि सोही स्थानमै सारिएको थियो । वाल्मीकि विद्यापीठ नजिकैको परिसरबाट विद्यालयका भौतिक सामान सार्ने काम सुरु गरिएको जनाइएको छ । विद्यालयमा तत्काल भौतिक कक्षा सुरु हुन सक्ने अवस्था भने छैन ।

यस्तो छ भौतिक संरचना
क्षतिग्रस्त र पुरानो संरचनामा रहेको दरबार हाइस्कुल यतिबेला आकर्षक र भव्य बनेको छ । ऐतिहासिक दरबार हाइस्कुल पुरानो तथा नयाँ स्वरूपमा पुनर्निर्माण गरिएको हो । विद्यालयमा ४६ वटा कक्षाकोठा छन् । विद्यार्थीको पठनपाठनमा यी कक्षाकोठा प्रयोगमा ल्याइनेछ । यसका साथै प्रयोगशाला, कम्प्युटर प्रयोगशाला, चमेनागृह, विज्ञान प्रयोगशाला, पुस्तकालय र हल अलग्गै निर्माण गरिएको छ । चीन सरकारको सहयोगमा दुई वर्षको अवधिमा ८५ करोड ५९ लाख रुपियाँको लागतमा दरबार हाइस्कुलको पुनर्निर्माण कार्य पूरा गरिएको हो । साङ्घाई कन्स्ट्रक्सन गु्रपले तयार पारेर नेपाल सरकारलाई विद्यालय हस्तान्तरण गरिएको हो ।
बाहिरी आवरण पुरानै शैलीमा र भित्री संरचना नयाँ शैलीमा गरी विद्यालयको पुनर्निर्माण कार्य पूरा गरिएको जनाइएको छ । यही कात्तिक पहिलो साता राष्ट्रपति विद्यादेवी भण्डारीले सो विद्यालय भवनको उद्घाटन गर्नुभएको हो । २०७२ सालको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भएको ऐतिहासिक दरबार हाइस्कुल दुई वर्षको अवधिमा पुनर्निर्माण कार्य
सकिएको थियो ।

कक्षा अनलाइनबाटै
विद्यालयको प्रशासनिक बन्दोबस्त तिहारअघि नै गरिए पनि कक्षा भने अनलाइन माध्यमबाटै सञ्चालन गरिने जानकारी विद्यालयले दिएको छ । विद्यालयका प्रअ आजादका अनुसार कक्षा सातदेखि १० सम्मको कक्षा प्रभावकारी रूपमा नै सञ्चालन भएको छ । तल्लो कक्षाको अनलाइन कक्षा भने प्रभावकारी हुन नसकेको विद्यालयका प्रअ आजादले जानकारी दिनुभयो । शिक्षकले घरबाट पढाउन नसकेको अवस्थामा विद्यालयमा उपस्थित भएर पनि अनलाइन कक्षा सञ्चालन गर्न सकिने र प्राविधिक हिसाबले पनि सोही अनुसार तयार पारिएको जनाइएको छ ।

विद्यार्थी बढ्ने आशा
नयाँ शैक्षिक कार्ययोजनाका साथ नयाँ भवनमा सरेपछि विद्यार्थी बढ्ने विश्वास गरिएको छ । विद्यालयका प्रअ आजादले कक्षा १ देखि ८ सम्म अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिएको र मन्टेस्वरी कक्षा सञ्चालन गरिने भएकाले अब विद्यालयमा विद्यार्थीको सङ्ख्या वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । विद्यालयमा हाल २०३ विद्यार्थी अध्ययनरत छन् । निजी स्रोतका समेत २१ शिक्षक कार्यरत छन् । यसका साथै आगामी शैक्षिक सत्रदेखि कक्षा ११ समेत सञ्चालन गर्ने योजना विद्यालयले बनाएको छ । राणा शासन कालमा वि. सं. १९१० मा दरबार हाइस्कुलको स्थापना
गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?