logo
२०८० चैत्र १५ बिहीवार



कर्मचारी नहुँदा खाद्यको चामल वितरण हुन सकेन   

राष्ट्रिय |


कर्मचारी नहुँदा खाद्यको चामल वितरण हुन सकेन   


रुकुमपूर्व,असोज १४ गते। रुकुम–पूर्वमा खाद्य संस्थानको चामल मागअनुसार समयमै वितरण हुन सकेको छैन । रुकुम–पूर्व छुट्टै जिल्ला स्थापना भए पनि खाद्य संस्थानको शाखा कार्यालय स्थापना हुन नसक्दा र कर्मचारीको अभावमा मागअनुसार समयमै चामल वितरण हुन नसकेको हो । कर्मचारी नभएकै कारण जिल्लामा अहिले ठेकेदारमार्फत खाद्यको चामल वितरण भइरहेको छ । जसले गर्दा सबै नागरिकले सहज रुपमा खाद्य संस्थानको चामल नपाएको गुनासो गरेका छन् ।    
    
 ठेकेदारमार्फत खाद्यको चामल जिल्लामा पुगे पनि सीमित ठाउँमा मात्र वितरण हुने गरेको पुथाउत्तरगङ्गा गाउँपालिका–२ पेल्माका सूर्य बुढाले बताउनुभयो । जिल्लामै शाखा स्थापना भई कर्मचारीको व्यवस्थापन गरेमा जिल्लावासीलाई धेरै सहज हुने उहाँको भनाइ छ । जिल्लामा अहिले खाद्य डिपो कार्यालय शोभा गाउँ र तकसेरा वितरण केन्द्र गरी दुई ठाउँबाट चामल वितरण भइरहेको छ । विगतका वर्षमा शोभा डीपोमा मात्रै एक हजार ५०० क्विन्टल चामलको कोटा निर्धारण गरिँदै आएको थियो । कर्मचारी अभावकै कारण निर्धारित कोटाको चामल वितरण हुन नसकेपछि पछिल्ला केही वर्षमा चामलको कोटा घटाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय रुकुम–पश्चिमका नीमित्त प्रमुख चन्द्रबहादुर खड्काले बताउनुभयो ।    
    
 जिल्लामा कर्मचारी नभएपछि चामल नियमित रुपमा बिक्री भएन । “निर्धारित कोटा अनुसारनै पठाएको चामल थन्किएपछि केही वर्षयता रुकुम–पूर्वमा कोटा घटाएर चामल पठाइरहेका छौँ”, उहाँले भन्नुभयो । पछिल्ला केही वर्षमा जिल्लामा पठाएको चामल यहाँको मागभन्दा निकै कम भएको खड्काको भनाइ छ । यस वर्ष जिल्लाको दुई ठाउँमा गरी एक हजार २०० क्विन्टल चामलको कोटा निर्धारण गरिएको छ । शोभा डिपोमा ७०० क्विन्टल र तकसेरा विक्री केन्द्रमा ५०० क्विन्टल चामलको कोटा निर्धारण गरिएको रुकुम–पश्चिम कार्यालयका निमित्त प्रमुख खड्काले बताउनुभयो । निर्धारित कोटाको चामल खपत भई थप माग गरेमा आवश्यकतानुसार जिल्लामा खाद्य संस्थानको चामल पठाइने उहाँले बताउनुभयो ।    
    
 अहिले चामल वितरणका लागि ठेकेदारसँग ठेक्का सम्झौताको काम अन्तिम चरणमा पुगेको बताइएको छ । सम्झौताको काम सकिने बित्तिकै दशै अगाडि नै गाउँमा चामल पु¥याउने गरी काम अगाडि बढाइने बताइएको छ । शोभा डीपोका लागि दाङबाट र तकसेराको लागि भैरहवाबाट चामल आउने छ । रुकुम पश्चिममा रहेको खाद्य संस्थानको शाखाले दुवै जिल्लामा काम गर्छ ।    
    
 पटकपटक रुकुम–पूर्वका सरोकार निकायलाई डिपो स्थापना गरिदिन आग्रह गरिए पनि ध्यान नपुगेका कारण खाद्य आपूर्ति गर्न समस्या भइरहेको प्रमुख खड्काले बताउनुभयो । रुकुमकोटमा शाखा स्थापना गर्नुका साथै हाल ठेक्कामार्फत वितरण भइरहेका ठाउँ गरी जिल्लाभर १० वटा डिपो कार्यालयको स्थापना गर्न गत वर्ष सिफारिस गरी पठाए पनि अहिलेसम्म कुनै प्रतिक्रिया नआएको खड्काले बताउनुभयो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?