logo
२०८१ बैशाख १३ बिहीवार



‘ओपन बुक’बाटै परीक्षा

शिक्षा |


‘ओपन बुक’बाटै परीक्षा


शेषकान्त पण्डित

काठमाडौँ, असोज १४ गते । खुला विश्वविद्यालयले आफ्ना विद्यार्थीलाई ‘ओपन बुक मोडल’बाट परीक्षा लिन सुरु गरेको छ ।
विश्वविद्यालयले एमफिल, स्नातकोत्तर र स्नातक तहको परीक्षा ओपन बुक विधिबाट सञ्चालन गरिरहेको छ । विश्वविद्यालयका उपकुलपति प्रा. लेखनाथ शर्माले ‘ओपन बुक, ओपन क्वेसन र अनलाइन’ माध्यमबाट विद्यार्थीको परीक्षा सञ्चालन भइरहेको जानकारी दिनुभयो ।
भौतिक रूपमा विद्यार्थी भेला हुन नसक्ने भएपछि भर्चुअल माध्यमबाटै परीक्षा लिइएको हो । उपकुलपति शर्माका अनुसार यी परीक्षा लिन प्रश्नपत्र निकाल्दाकै अवस्थाबाट मिलाउनुपर्ने हुन्छ । संसारका सबैभन्दा उत्कृष्ट परीक्षाका रूपमा यस खालको परीक्षालाई लिने गरिन्छ ।
सिर्जनात्मक हिसाबले यसलाई संसारको सबैभन्दा राम्रो परीक्षा प्रणाली मानिएको र कतिपय विद्यार्थी यो परीक्षा प्रणालीमा बस्न अनिच्छुकसमेत हुने गरेको जनाइएको छ । यस खालको ओपन बुक मोडलमा विद्यार्थीलाई निश्चित समय र दिन दिइएको हुन्छ । परीक्षामा कतिपय अवस्थामा विद्यार्थीले सन्दर्भ सामग्रीसमेत उद्धृत गर्नुपर्दछ । उपकुलपति शर्माले वार्षिक परीक्षा प्रणालीमै अभ्यस्त नेपालजस्तो देशमा यस खालको परीक्षा प्रणाली नौलो भएको तर विद्यार्थी बिस्तारै अभ्यस्त हुँदै गएको बताउनुभयो ।
यस खालको परीक्षामा सबै विद्यार्थीलाई एउटै प्रश्न नदिएर फरक–फरक प्रश्न दिने गरिएको छ । यसका साथै विद्यार्थीलाई मौखिक परीक्षासमेत लिएर विद्यार्थीको अन्तिम मूल्याङ्कन गर्ने गरिएको जनाइएको छ । न्यूूनतम तीनवटा माध्यमको प्रयोग गरेर विद्यार्थीको परीक्षा लिने गरेको उपकुलपति शर्माको भनाइ छ । संसारका राम्रा विश्वविद्यालयले मात्रै यस खालको परीक्षा लिन सक्ने उहाँ बताउनुहुन्छ ।
त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरस (कोभिड–१९) का कारण स्थगित परीक्षा मङ्सिर तेस्रो साताबाट सञ्चालन गर्ने भएको छ । असोज तेस्रो सातासम्म परीक्षाका बारेमा कार्यतालिका सार्वजनिक गर्ने र मङ्सिर तेस्रो साताबाट परीक्षा लिनेगरी विश्वविद्यालयले गृहकार्य थालेको हो ।
विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले मङ्सिरबाट चैतसम्ममा सबै परीक्षा सक्ने योजना रहेको बताउनुभयो । २०७७ सालभित्र लिने तय गरिएका सबै परीक्षा चैतभित्र सक्ने त्रिविको योजना छ । परीक्षाको तयारीका साथै विद्यार्थीको खोजीका लागिसमेत गृहकार्य भइरहेको जनाइएको छ ।
कोरोना सङ्क्रमण कायमै रहेको अवस्थामा पनि धेरै विश्वविद्यालयले आफ्नो परीक्षा कार्यक्रम अगाडि बढाएका छन् ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?