logo
२०८१ बैशाख ७ शुक्रवार



रेडियो, इन्टरनेट र टेलिभिजन नभएपछि नियमित कक्षा सञ्चालन

शिक्षा |


रेडियो, इन्टरनेट र टेलिभिजन नभएपछि नियमित कक्षा सञ्चालन


नवीन शिशिर विक

बागलुङ, असोज ११ गते । बागलुङको ताराखोला गाउँपालिकाले आइतबारदेखि गाउँपालिका भित्रका विद्यालयमा नियमित पठनपाठन सुरु गरेको छ ।
सरकारले वैकल्पिक माध्यमद्वारा शैक्षिक क्रियाकलाप संचालन गर्न आग्रह गरे पनि गाउँपालिकामा रेडियो, इन्टरनटे र टेलिभिजनको सहज सुविधा नभएपछि नियमित पठनपाठन थालिएको हो ।
गाउँ शिक्षा समितिको बैठकले विद्यालयमा स्वास्थ्य सुरक्षा मापदपण्ड अपनाएर विद्यालय संचालन गर्ने निर्णय गरेको शिक्षा अधिकृत सविता कुमारी केसीले जानकारी दिनुभयो । गाउँपालिका भित्र कोरोना संक्रमितको संख्या शून्य रहेको हुँदा सावधानीका साथ प्रावि तह (१–५) को नियमित र ६–१२ को जोडविजोड प्रणालीका आधारमा कक्षा संचालन गर्ने शिक्षा अधिकृत केसीको भनाई छ ।
शिक्षक विद्यार्थी विद्यालय प्रवेश गर्नुअघि साबुनपानीले हात धुने, मास्क तथा सेनिटाईजनको प्रयोगलाई अनिवार्य गर्ने निर्णय भएको छ । प्रावि तहमा विद्यार्थी संख्या  न्यून  भएको हुँदा कक्षामा सामाजिक दूरी कायम गर्न कठिन नहुने शिक्षा अधिकृत केसीको भनाई छ । एउटा बेन्चमा दुई जना विद्यार्थी बस्छन् ।
शिक्षा मन्त्रालयले जारी गरेको विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७ र पाठ्यक्रम विकास केन्द्रले जारी गरेको पाठ्यक्रम सामायोजन ढाँचा २०७७ लाई आधार बनाएर पठनपाठन गर्नुका साथै गृहकार्य दिने र मुल्यांकन गर्ने निर्णय अनुसार कक्षा संचालन भएको अर्गल माविका शिक्षक गणेश घर्तीले जानकारी दिनुभयो ।
६ महिनाको बन्द पछि विद्यालय खुलेको हुँदा पहिलो दिन पठनपाठन भन्दा पनि बसाइँ व्यवस्थापन, सरसफाई स्थल निर्माण, विद्यालय कक्षा कोठा सरसफाईका कार्यलाई प्राथमिकता दिएको उहाँको भनाइृ छ । विद्यार्थीलाई रुघाखोकी, ज्वरो आउने जस्ता समस्या देखिए तत्काल गाउँपालिकासँग समन्वय गरी उपचार गरिनेछ ।
‘हाम्रो पालिकामा नेट, टेलिभिजन, रेडियोको सुविधा छैन’ गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले भन्नुभयो–‘अब सतर्कताका साथ शिक्षा क्षेत्र चलायमान गर्नुको विकल्प भएन । विद्यार्थी संख्या थोरै भएको कारण पछि विद्यालय नियमित संचालन गर्न कठिन नहुने उहाँको भनाई छ ।
गाउँपालिकामा तत्काल संक्रमितको संंख्या शून्य भएका हुँदा जोखिम आँकलन गरी कक्षा संचालनको निर्णय गरेको अध्यक्ष घर्तीले बताउनुभयो । कोरोना संक्रमणको दर बृद्धि भएको खण्डमा तत्काल पठनपाठन रोक्ने निर्णय भएको छ ।
ताराखोला गाउँपालिकामा भित्र १४ वटा (१–५) प्रावि, ३ वटा (१–८) आधारभुत, ६ वटा (१–१०) मावि र ३ वटा (१–१२) मावि विद्यालय रहेका छन् । दैनिक विहान १० बजेदेखि २ बजेसम्म कक्षा संचालन हुनेछ । कक्षा ८–१२ को पठन पाठनलाई आलोपालो र कक्षा विभाजन गरेर शैक्षिक क्रियाकलप संचालन गरिनेछ ।
दश वटा स्थानीय तह रहेको यहाँ अन्य पालिकाले औपचारिक कक्षा संचालन नगरे पनि टोल शिक्षा, अनलाईक कक्षा, शिकाई केन्द्रमा पठनपाठन क्रियाकलप संचालन गरेको शिक्षा विकास तथा समन्वय इकाई बागलुङका प्रमुख कुश्मराज उपाध्याले जानकारी दिनुभयो । संक्रमण बढेको क्षेत्रमा बन्द गर्ने र अन्यत्र नियमित कक्षा चलाउन सकिने उहाँको भनाई छ । विद्यालय बन्द समस्याको समाधान नभएको उपाध्यायले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?