logo
२०८१ बैशाख १३ बिहीवार



लगानी र अवकाशमा थपिँदै सुविधा, चम्कँदै सेयर धितोमा कर्जा

अर्थ |


लगानी र अवकाशमा थपिँदै  सुविधा, चम्कँदै सेयर धितोमा कर्जा


भेषराज बेल्बासे

काठमाडौँ, असोज ११ गते । आर्यतारा इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज प्रालिका निर्देशक रामचन्द्र भट्टराईले फोन उठाउनासाथ भन्नुभयो, “हस्त नमस्कार । ” उठाउनासाथै बिदा पनि माग्नुभयो नि ? भन्ने जिज्ञासामा भट्टराईले भन्नुभयो, “होइन होइन एक जना बैङ्कका साथीलाई बिदा गर्ने र तपाईंको फोन उठाउने काम एकैपटक भयो । ”
अचेल स्टक ब्रोकरको कार्यालयमा बैङ्कका कर्मचारीको पनि अरू दिनभन्दा बढी नै चहलपहल हुने गर्दछ । त्यसैले ब्रोकरहरू एउटासँग भेटघाट र बिदा ग¥यो अनि अर्कोलाई स्वागत एकैपटक गर्ने गर्छन् । ब्रोकर र बैङ्कका कर्मचारीको यो सम्बन्धलाई ब्रोकरहरू डाक्टर र एमआर (मार्केटिङ रिप्रजेन्टेटिभ)को जस्तै भन्न रुचाउँछन् ।
बैङ्करले ब्रोकरलाई भेटिरहनुपर्ने, ब्रोकरको कारोबार नहुने दिन मात्रै फुर्सद हुने वा कारोबार समयपछिको समय मिलाउनुपर्ने । सेयर धितोमा कर्जा लिन चाहने लगानीकर्तालाई पठाइदिनुप¥यो भन्ने आग्रहका साथ पुग्ने बैङ्करलाई शुक्रबार अरू दिनभन्दा धेरै हुने गरेको भट्टराई बताउनुहुन्छ । कारोबार हुने दिनमा व्यस्त भइन्छ त्यसैले भेटघाटका लागि शुक्रबार तोकियो ।
त्यसो त भट्टराईको मोबाइलमा हिजोआज लगानीकर्ता र साथीभाइभन्दा पनि धेरै विभिन्न बैङ्कका कर्मचारीको आउँछ । सबैको माग हुन्छ, सेयर धितोमा कर्जा लिन चाहने लगानीकर्तालाई पठाइदिनुप¥यो ।
एउटै बैङ्कबाट दुई वा धेरैले पनि फोन गर्दछन् किनकि बैङ्कले हरेक कर्मचारीलाई टार्गेट दिएका हुन्छन् । यी सबै गतिविधिले अहिले सेयर कर्जाको बजार विस्तारको क्रम देखाउँछ ।

कोरोनाको दबाब सेयर कर्जामा
ब्रोकर भट्टराईका अनुसार कोरोनाले अरू आर्थिक क्रियाकलाप ठप्प भएका बेला बैङ्कहरूको जोड पनि सेयर धितो कर्जामा देखिएको छ । पछिल्लो समयमा सेयरमा बैङ्कको लगानी विस्तार भएको तथा सेयर धितोमा कर्जाको ब्याज दर पनि एकल अङ्कमा आएका कारण बजारले गति लिएको बताउनुहुन्छ ।
बैङ्किङ प्रणालीमा करिब दुई खर्ब रुपियाँको हाराहारीमा तरलता भए तापनि बैङ्कले कर्जा लगानी बढाउन नसक्दा कर्जाका लागि ग्राहक तानातानको अवस्था छ तर लगानीका अन्य क्षेत्र अपेक्षित रूपमा विकास हुन नसकेकाले बैङ्कको ध्यान सेयर धितो कर्जामा केन्द्रित छ । तुलनात्मक रूपमा यसमा जोखिम कम हुने र असुलीमा सहजता भएकाले बैङ्कहरू त्यसतर्फ आकर्षित भएका हुन् ।
सेयर लगानीकर्ता तारा फुल्लेल पछिल्लो समय सेयर बजार सुधारको मुख्य कारण भनेको सस्तो र सुलभ दरको सेयर धितो कर्जा भएको बताउनुहुन्छ । कोरोनाले आम्दानीमा असर पु¥याए पनि लगानीकर्ताले बैङ्कमार्फत सेयर धितो कर्जा लिएर लगानी गरिरहेका छन् । लामो समयपछि खुलेको सेयर बजार बिस्तारै गति लिने क्रममा रहेको छ ।
फराकिलो कर्जा सीमा
नेपाल राष्ट्र बैङ्कले सेयर धितो कर्जाको सीमालाई बढाएर ७० प्रतिशत पु¥याएपछि लगानीकर्तालाई फाइदा भएको छ । यसअघि यस्तो सीमा ६५ प्रतिशत रहेको थियो । राष्ट्र बैङ्कले चालू आर्थिक वर्ष २०७७÷७८ को मौद्रिक नीतिमार्फत सेयर धितो कर्जाको सीमा ५ प्रतिशतले बढाएको छ भने सेयर धितोको मूल्याङ्कनलाई समेत हेरफेर गरेको छ । पहिले १८० दिनको औसत मूल्यलाई हाल १२० दिन पु¥याइएको छ ।
यसले पुँजी बजारका लगानीकर्ताले सेयर धितो कर्जा पहिलेभन्दा बढी पाएका छन् भने सेयर बजार सुधारमा सहयोग पुगेको लगानीकर्ता तारा फुल्लेल बताउनुहुन्छ । यद्यपि धितोपत्र बोर्डले सेयर धितोमा कर्जा प्रवाह गर्दा सेयरको मूल्याङ्कनको ७५ प्रतिशतसम्म कर्जा प्रवाह गर्नसक्ने व्यवस्था गरिदिन राष्ट्र बैङ्कलाई आग्रह गरेको थियो ।

कर्जा लिन दुईदेखि तीन दिन
कर्जा लिन चाहनेले आवश्यक कागजात बैङ्कमा पेस गरेको दोस्रोदेखि तेस्रो कार्य दिन लाग्ने गरेको छ । कोरोनाले त्रसित बनाइरहेको अवस्थामा बैङ्ले ग्राहकलाई छिटो, छरितो एवं सहज रूपमा कर्जा प्रदान गर्नेसमेत जनाएका छन् ।
नेपाल बैङ्क लिमिटेडका प्रवक्ता अधिकारीले सामान्यतः तीन दिनभित्र यो कर्जा उपलब्ध गराइने जानकारी दिँदै भन्नुभयो, “यसका लागि समय लाग्दैन । ऋणीले डिम्याट खाताको स्टेटमेन्ट दिन्छन् । त्यो हामीलाई स्वीकार्य छ कि छैन हेर्छौं र दिने
नदिने निर्णय गर्छौं । ”
उहाँका अनुसार बैङ्कहरूले ‘ए’ क्लासका वाणिज्य बैङ्क, बीमा कम्पनी, होटल, हाइड्रोपावर लगायतको मापदण्ड बनाएका छन् । बैङ्कहरूमा लिस्टेड नभए बजारमा राम्रो भए पनि लगानी गर्दैनन् । सबै ठीक हुँदा सेयर रोक्का राख्न लगाएर ऋणीले नै रोक्का गरेको पत्र ल्याएपछि प्रक्रिया अगाडि बढ्छ ।

कसरी लिने ?
तपाईंसँग कुनै कम्पनीको सेयर छ र त्यसबाट कर्जा लिएर अझै सेयर खरिद गर्न चाहनुहुन्छ भने आफ्नो सेयर धितोमा राखेर कर्जा लिन सक्नुहुन्छ । सबै वाणिज्य बैङ्कबाट प्रवाह हुने यस्तो कर्जाको हकमा सुरक्षणबापत राखिने सेयरको मूल्याङ्कन गर्दा नेपाल स्टक एक्सचेन्ज लिमिटेडबाट प्रकाशित पछिल्लो १२० कार्यदिनको अन्तिम मूल्यको औसत मूल्य वा सेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ, सो रकमको बढीमा ७० प्रतिशत रकमसम्म सेयर धितो कर्जा प्रवाह गरिने व्यवस्था छ ।
पहिले सेयर प्रमाणपत्र लगेर बैङ्कमा राख्नुपथ्र्यो भने अहिले अनलाइन भएका कारण त्यसो गरिरहनु पर्दैन । सेयर कर्जा लिन व्यक्तिगत उद्देश्य भएकाले पनि पाइन्छ । सेयर धितो राखेर अन्य क्षेत्रमा उपयोग गर्नेलाई ५० लाखको सीमा हुन्छ । विशेषगरी सेयरकै कारोबार गर्ने व्यक्ति या संस्थाका हकमा ५० लाखको सीमा छैन ।
बैङ्कमा इस्यु म्यानेजरले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सेयर ब्रोकरमार्फत सेयर डिम्याटमार्फत रोक्का राख्छन् । सेयर रोक्का राखिसकेपछि राष्ट्र बैङ्कले दिएको निर्देशनबमोजिम जति प्रतिशत कभरेज राख्नुपर्ने हो त्यति राखेर बाँकी ऋण दिइने नेपाल बैङ्कका प्रवक्ता अधिकारी बताउनुहुन्छ ।

कहिलेदेखि सुरु भयो
२०५० साल जेठमा नेपाल धितोपत्र बोर्ड र पुस २९ गते स्टक एक्सचेन्ज स्थापना भएपछि सेयर कारोबार सुरु भएसँगै २०५१ सालदेखि फाट्टफुट्ट सेयर कर्जा सुरु भएको हो । तत्कालीन समयमा बोर्डमा नेतृत्व गर्नुभएका पूर्वअध्यक्ष डा. रेवतबहादुर कार्की विगत सम्झँदै भन्नुहुन्छ, “२०६३÷६४ मा ट्रेडिङ अटोमेसन सुरु ग¥यौँ । पहिला ७० देखि ८० लाख कारोबार हुन्थ्यो । ट्रेडिङ अटोमेसनले कारोबार २० देखि ३० करोड पनि हुन थाल्यो । त्यसपछि सेयर बजारमा बैङ्ककोे कर्जा बढी प्रयोग हुन थाल्यो । ”
हुँदाहुँदै अहिले त यो नै सेयर बजारमा मुख्य कारक बन्न थालेको उल्लेख गर्दै कार्की भन्नुहुन्छ, “अहिले त ब्याज दर पनि सस्तो छ । ७ प्रतिशतसम्म बैङ्कले सेयर कर्जा दिन थालेका छन् । अहिले त बैङ्करले लिन आऊ भनेरै बोलाउन थालेका छन् । यो राम्रो पक्ष हो । ”

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?