logo
२०८० चैत्र १६ शुक्रवार



असान्जको सुपुर्दगी सुनुवाई ढिलो गर्न सकिन्न – न्यायाधीश

अन्तर्राष्ट्रिय |


असान्जको सुपुर्दगी सुनुवाई ढिलो गर्न सकिन्न – न्यायाधीश


लन्डन, भदौ २३ गते। बेलायतका एक न्यायाधीशले विकिलिक्सका संस्थापक जुलियन असान्जलाई अमेरिका सुपुर्दगी गर्ने सम्बन्धी मुद्दाको सुनुवाईमा ढिलाई गर्न उहाँका वकीलहरुले गरेको अनुरोधलाई अस्वीकार गर्नु भएको छ ।

अमेरिकी गोप्य एवं वर्गीकृत सूचना प्राप्त गर्न ह्याकरलाई प्रयोग गरेको भन्दै संयुक्तराज्य अमेरिकाले ४९ वर्षीय अस्ट्रेलियाली नागरिक असान्जलाई अमेरिका सुपुर्दगी गराउन चाहेको छ ।

हाल बेलायतमा प्रहरी हिरासतमा रहनु भएका असान्जलाई अमेरिका सुपुर्दगी गर्ने वा नगर्ने भन्ने बारेमा महिनौंदेखि अदालतमा बहस जारी छ ।

असान्जमाथि अमेरिकामा गुप्तचर सम्बन्धी १८ वटा मुद्दा लागेका छन् । साथै विकिलिक्समाथि अमेरिकी सेनाका गोप्य दस्तावेजहरु सार्वजनिक गरेको आरोप पनि छ । यदि असान्जमाथिका आरोपमा दोषी ठहरिए उहाँमाथि १७५ वर्षको जेलसजाय हुनेछ ।

असान्जका वकीलहरुले उहाँमाथिका आरोपहरु राजनीतिक प्रेरित र शक्तिको दुरुपयोग रहेको बताएका छन् । असान्जको मुद्दामा उहाँलाई दोषी ठहर गरिए विश्वभर प्रेस स्वतन्त्रता संकटमा पर्ने र पत्रकारहरुमाथि जोखिम बढ्ने भन्दै बहसहरु भइरहेका छन् ।

कोरोनाभाइरस महामारीका कारण अदालतको सुनुवाई महिनौंदेखि रोकिएको छ ।

बेलायती कारागारमा १६ महिना बिताइसक्नु भएका असान्जलाई सुनुवाईका क्रममा ओल्ड बेली फौजदारी अदालतमा उपस्थित गराइएको थियो । अदालतमा उहाँले अमेरिकी सुपुर्दगीको मागलाई अस्वीकार गर्नु भएको थियो । असान्जका वकीलहरुले उहाँ शारीरिक र मानसिक रुपमा अस्वस्थ रहेको जिकिर गरेका थिए ।

अमेरिकी अधिकारीहरुले असान्जले अमेरिकी सैनिक गुप्तचर विश्लेषक चेल्सी म्यानिङलाई प्रयोग गरेर पेन्टागनको कम्प्युटर ह्याक गरेको दाबी गरेका छन् ।

असान्जका वकीलहरुले अमेरिकी संविधानको “प्रथम संशोधन” का आधारमा उहाँलाई संरक्षण प्राप्त हुनुपर्ने जिकिर गरेका छन् । उनीहरुको भनाईमा विकिलिक्समार्फत सार्वजनिक दस्तावेजले अमेरिकी सैनिकका गलत कार्यहरुको भण्डाफोर गरेको थियो ।

विकिलिक्सले सार्वजनिक गरेको फाइलमध्ये सन् २००७ को एउटा भिडियो पनि समावेश छ जसमा बग्दादमा अमेरिकी सेनाले अपाचे हेलिकप्टरबाट गरेको आक्रमणबाट दुई जना रोयटर्सका पत्रकार समेत ११ जना निर्दोश व्यक्तिको मृत्यु भएको देखिएको छ ।

पत्रकारहरुका संघसंस्था एवं मानव अधिकार समूहहरुले सुपुर्दगीको अनुरोधलाई अस्वीकार गर्न बेलायत सरकार समक्ष आग्रह गरेका छन् । एम्नेस्टी इन्टरनेसनलले अमेरिकी अधिकारीहरुका नकारात्मक अभियानबाट असान्जलाई प्रताडित गर्न खोजिएको बताएको छ ।

न्यायाधीशले अक्टोबरको शुरुमै फैसला सुनाउने सम्भावना छ । तर मुद्दा हार्ने पक्षले पुनरावेदन गर्न पाउने भएकाले पनि यो मुद्दा अझै केही समय लम्बिने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप