logo
२०८० चैत्र १६ शुक्रवार



प्रविधिको माध्यमबाट समास्या समाधानबारे अन्तर्राष्ट्रिय ‘ह्याकाथोन’ आयोजना

शिक्षा |


प्रविधिको माध्यमबाट समास्या समाधानबारे अन्तर्राष्ट्रिय ‘ह्याकाथोन’ आयोजना


गोरखापत्र अनलाइन
काठमाडौँ, भदौ १५ गते । नेपालको कम्प्युटर इन्जिनियरिङ तथा सूचना प्रविधिका विद्यार्थीहरूमा प्रतिस्पर्धा गराई उनीहरूको प्रतिभा उजागर गर्न सघाउ पुर्याउने उद्देश्यले हालै नेपालमा क्वान्टम ह्याक अन्तर्राष्ट्रिय ह्याकाथन कार्यक्रम आयोजना गरियो ।
इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकका विभागहरूको सहभागिता रहेको सो वेविनार कार्यक्रममा प्रकोप व्यवस्थापन, सबैका लागि आधुनिक वित्तीय व्यवस्थापन, शिक्षा, स्वास्थ तथा शहरी जनसङ्ख्या व्यवस्थापन, वातावरण लगायत स्वतन्त्र विचार शीर्षकजस्ता विभिन्न छ वटा विधामा प्रविधिको प्रयोग तथा त्यसको माध्यमद्वारा समस्याको समाधान पत्ता लगाउने प्रयास गरिएको थियो ।
सो कार्यक्रममा ७० भन्दा बढी समूहका २५० जनाले विभिन्न प्रतियोगितात्मक परियोजना तथा अवधारणा प्रस्तुत गरेका थिए ।
करिब २५ सय जनाले सक्रिय सहभागिता जनाएको सो कार्यक्रममा विश्व प्रशिद्ध एप्पल कम्पनीका सहसंस्थापक स्टिभ वोज्नियाकले विशेष अतिथिको रुपमा सम्बोधन गर्नुभएको थियो भने आइबिएमका वरिष्ठ प्रोग्रामर तथा इन्जिनियर जो सेपी तथा डेभ्फोलियोका कम्युनिटी लिड व्यवस्थापक डेनभर डि सुजाले मुख्य वक्ताको रुपमा सम्बोधन गर्नुभएको थियो ।
सो कार्यक्रममा नासा, अमेजन वेभ सर्भिस आदिका वरिष्ठ प्रतिनिधिहरूले मेन्टर्सको रुपमा काम गर्नुभएको थियो भने विभिन्न विधाका विशेषज्ञ तथा माइक्रोसफ्ट एवम् विभिन्न प्रतिष्ठित संस्थाका विज्ञहरूले प्रस्तावित परियोजनाको मूल्याङ्कन गर्नुभएको थियो । परियोजना प्रतियोगितामा विभिन्न छ वटा टिम पुरस्कृत भएको सो कार्यक्रमकी मिडिया म्यानेजर अनिसा अधिकारीले जानकारी गराउनुभयो ।
लगातार ३६ घण्टासम्म चलेको उक्त कार्यक्रममा ह्याकाथनका अतिरिक्त गोष्ठी, कार्यशालालगायत स्वदेशी तथा विदेशी सेलिब्रेटीहरूले गायन, नृत्य एवम् अन्य कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?