logo
२०८१ बैशाख १२ बुधवार



कोरोनाका कारण पाँच हिमाली जिल्लाको शैक्षिक सत्र धरापमा

शिक्षा |


कोरोनाका कारण पाँच हिमाली जिल्लाको शैक्षिक सत्र धरापमा


अमृतप्रसाद पौडेल
बेनी, भदौ १५ गते । कोभिड–१९ को कारणले गर्दा शैक्षिक सत्र के हुने भन्ने चर्चा चलिरहेको अवस्थामा हिमाली जिल्लाहरूको शैक्षिक सत्र भने अन्यौलमा परेको छ । गएको फागुन १ गतेबाट सुरु हुने विभिन्न पाँच हिमाली जिल्लाहरूको शैक्षिक सत्रको यस अवधिमा अहिलेसम्म पनि पढाइ नहुँदा विद्यार्थी तथा अभिभावकहरूमा अन्यौलमा छन् ।

पाँच वटा हिमाली जिल्लाहरूमा नेपाल सरकारले फागुन १ बाट शैक्षिक सत्र सुरु हुने र मङसिरमा परीक्षा हुने व्यवस्था गरेको छ । चैतदेखि सबै प्रकारका सङ्घसंस्थाहरू बन्द भएपछि पढाइ पनि रोकिएको अहिलेको अवस्थामा हिमाली जिल्लाहरू मनाङ, मुस्ताङ, हुम्ला, मुगु र डोल्पाको शैक्षिक सत्र नै करिब सकिएको शिक्षा विभागका योजना तथा अनुगमन शाखाका निर्देशक घनश्याम अर्यालले बताउनुभयो । ‘सुरुको एक महिना पढाइ भए पनि अबको अवस्थाले उनीहरूको आगामी शैक्षिक कार्यक्रम के हुने भन्ने टुङ्गो छैन’, उहाँले भन्नुभयो ।

हरेक वर्ष मङ्सिरमा परीक्षा हुने र फागुन १ बाट नयाँ शैक्षिक सत्र सुरु हुने गरेको भए पनि यसपटक भने फागुन महिनामा पढाएपछि विद्यालय बन्द हुँदाको अवस्थामा के गर्ने भन्ने अन्याेल देखिएको हो । शिक्षा विकास तथा समन्वय इकाई मुस्ताङका टङ्कराज बरालका अनुसार शैक्षिक सत्रको सुरुमा जाडो याममा घुम्ती विद्यालय सञ्चालन गर्ने उपल्लो मुस्ताङका २० विद्यालयले पहिलो त्रैमासिक परीक्षासमेत सञ्चालन गरेको भए पनि अन्य विद्यालयहरूले एक महिना मात्रै पढाएका छन् ।

'राज्यले बनाएको शैक्षिक क्यालेण्डरअनुसार कुनै पनि हालतमा अब मुस्ताङको शैक्षिक सत्र पूरा हुँँदैन' इकाई प्रमुख बरालले भन्नुभयो । उहाँ भन्नुहुन्छ, ‘मङ्सिरमा परीक्षा हुनपर्ने भदौको आधा सकियो, दसैँ तिहारले गर्दा असोज कात्तिकमा पहिला पनि पढाइ राम्रोसँग हुँदैन्थ्यो । अब शैक्षिक क्यालेण्डरअनुसार हेर्दा मुस्ताङको शैक्षिक सत्र करिब सकियो ।’

राज्यले अर्को विकल्प नसोचेमा बालबालिकाको एक वर्ष त्यसै खेर जाने हिमालपारिको जिल्ला मुस्ताङको कागबेनीमा रहेको जनशान्ति माविका प्रधानाध्यापक प्रेम गौतमले बताउनुभयो । ‘हाल हामीले शैक्षिक सत्र के हुन्छ त्यसको बारेमा पनि छलफल गर्दैछौँ भने कागबेनी वरिपरि रहेका विद्यार्थीहरूलाई दैनिक तीन घण्टाका दरले वैकल्पिक शिक्षाको रुपमा पढाउन थालेका छौँ, उहाँले भन्नुभयो । जनशान्ति माविको संयोजनामा बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिकाको शिक्षा शाखा, स्वास्थ्य शाखाले भौतिक दुरी तथा मास्क स्यानिटाइजरको व्यवस्था गरेर भदौ ११ गतेदेखि पढाउन थालिएको हो । गाउँपालिकाको शिक्षा शाखा प्रमुख शिव खड्काले आइतबार ५० जना बालबालिकालाई पढाएको जानकारी दिनुभयो ।

धौलागिरी मावि जोमसोम, जनशान्ति मावि कागबेनी, जनहित जोमसोम, मुक्तिनाथ आधारभूत विद्यालय झारकोट, जननर्मल आधारभूत विद्यालय छुसाङका गरी त्यस क्षेत्रमा बसोबास गर्ने ५० विद्यार्थी कागबेनीमा पढाउन थालिएको हो । भौतिक दुरीलाई कडाइका साथ पालना गर्दै थप विद्यार्थीहरूलाई पनि पढाउने व्यवस्था मिलाइने प्रमुख खड्काले बताउनुभयो । कोभिड–१९ को जोखिमका विरुद्ध सुरक्षा सामग्रीहरूको व्यवस्था अहिले राम्रोसँग भए पनि थप व्यवस्थापनका लागि कार्यपालिका बैठकमा अनुरोध गरिने उहाँले जानकारी दिनुभयो ।

मुस्ताङ जिल्लामा चालु शैक्षिक सत्रका लागि कक्षा १–१० मा ३ हजार ९१ जना विद्यार्थी भर्ना भएको शिक्षा विकास तथा समन्वय इकाई मुस्ताङका प्रमुख टङ्कराज बरालले बताउनुभयो । पाँच वटा स्थानीय तह रहेको मुस्ताङको घरपझोङ र थासाङ गाउँपालिकामा मात्रै कक्षा ११ र १२ सञ्चालन हुने भए पनि यस वर्षको भर्ना भने लिएको छैन ।
अहिले मुस्ताङको लोमन्थाङ गाउँपालिकाको दिव्यदीप मावि छोसेर, बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिकाको जनशान्ति मावि कागबेनी र जननर्मल आधारभूत छुसाङ तथा थासाङमा सामान्य रुपमा कक्षा १–५ को वैकल्पिक कक्षा सञ्चालन भएको छ । त्यस्तै लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा भने कुनै पनि कक्षा सञ्चालन नभएको इकाई प्रमुख बरालले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?