logo
२०८० चैत्र १६ शुक्रवार



कोरोनामा आयुर्वेदिक औषधिको अनुसन्धान

मुख्य समाचार |


कोरोनामा आयुर्वेदिक औषधिको अनुसन्धान


यलु जोशी

काठमाडौँ, भदौ १४ गते । कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रले कोरोना भाइरस लागेका बिरामीको चाँडो स्वास्थ्य लाभमा उपयोगी हुुने औषधिको अनुुसन्धान गरिरहेको छ । त्यसक्रममा अनुुसन्धान भइरहेको एक औषधिले बिरामीलाई लाभ भइरहेको छ । सो औषधिको प्रयोगले दुुई साताभन्दा कम समयमै सङ्क्रमित बिरामीले स्वास्थ्य लाभ गरी घर फर्कन थालेको चिकित्सकले दाबी गरेका छन् ।
राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका चिकित्सक तथा कोभिड–१९ का संयोजक डा. जितेन्द्र श्रेष्ठले आयुर्वेदिक उपचारबाट अरू रोग भएका कोरोना सङ्क्रमित व्यक्तिलाई पनि धेरै फाइदा भएको जानकारी दिनुभयो । त्यसक्रममा उहाँले औषधि अनुुसन्धान गरिरहेको जानकारी पनि दिनुुभयो ।
पहिलेदेखि नै विभिन्न रोग भएका व्यक्तिलाई कोरोना सङ्क्रमण भएपछि डरको विषय हो तर आयुर्वेदिक पद्धतिले त्यस्ता व्यक्तिलाई निको पारेपछि चिकित्सक र बिरामीमा उत्साह देखिएको छ । त्यहाँ भर्ना भएका कोरोना सङ्क्रमितहरूमध्ये २१३ जना बिरामी निको भएर घर फर्किएका छन् ।
डा. श्रेष्ठले भन्नुभयो, ‘‘१९ महिनाको दूधेबालकका आमादेखि ७८ वर्षको ज्येष्ठ नागरिकसम्म यही औषधिले राम्रो गरेको छ ।’’ अस्पतालका अनुसन्धान अधिकृत डा. अमितमान जोशी भन्नुहुन्छ, आयुर्वेदिक औषधिमा विभिन्न रोग प्रतिरोधक क्षमता बढाउने जडीबुटी प्रयोग हुने भएकाले कोरोनासँग लड्न सक्ने क्षमता भएको हो । यसैगरी रोग प्रतिरोधी क्षमता बढाउने जडीबुटी मिलाएर बनाइएको औषधि खान दिइएको छ । त्यसको सात दिनपछि पीसीआर परीक्षण गराउँदा सबैको रिपोर्ट नेगेटिभ आयो, कोरोना देखिएन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?