logo
२०८१ बैशाख १२ बुधवार



विद्यालय नखुले पनि सिकाइ निरन्तर

शिक्षा |
मुख्य समाचार |


विद्यालय नखुले पनि सिकाइ निरन्तर


गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन २२ गते । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण बढेर तत्काल विद्यालय खुल्न सक्ने अवस्था नदेखिए पनि विद्यार्थीको सिकाइलाई निरन्तरता दिनुपर्नेमा जोड दिइएको छ ।
हतारिएर विद्यालयमा बालबालिका बोलाउनुभन्दा सिकाइ निरन्तर गरेर उनीहरूको क्षमता तथा दक्षता अभिवृद्धि गर्नु नै समय सान्दर्भिक हुने सुझाव शिक्षा क्षेत्रका सरोकारवालाले दिनुभएको छ ।
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घका अध्यक्ष कृष्ण थापाले स्वास्थ्य सुरक्षाका कारण केही महिना अझै विद्यालय खोल्न नसकिए पनि विद्यार्थीको सिकाइलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । विद्यालय खुल्ने र विद्यार्थीमा सङ्क्रमण हुने हो भने त्यसले सीधै समुदाय नै सङ्क्रमित बनाउने भएकाले यसमा विचार पु¥याउनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।
सामाजिक अभियन्ता गुणराज मोक्तान तत्काल विद्यालय खुल्ने परिस्थिति नदेखिएको उल्लेख गर्दै सरकारले बालबालिकालको सिकाइलाई निरन्तर अगाडि बढाउन आगामी दिनमा झन् ध्यान दिनुपर्ने बताउनुभयो ।
शिक्षाविद् प्राडा विद्यानाथ कोइरालाले जुन विकल्प प्रयोग गरेर भए पनि विद्यार्थीको पठनपाठनलाई निरन्तरता दिनुपर्ने सुझाव दिनुभयो । सके विद्यालय चलाउने नभए आधा समय कक्षा चलाउने र त्यो पनि नभए वैकल्पिक तथा अनलाइन विधिबाट कक्षा सञ्चालन गर्नुपर्ने विकल्प उहाँ सुझाउनुहुन्छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव दीपक शर्माले कोरोना सङ्क्रमणको अन्योलका कारण विद्यालय खुल्ने सयम यकिन नभए पनि उनीहरूको सिकाइ कार्यक्रमले भने निरन्तरता पाउने बताउनुुभयो ।
यसअघि सरकारले भदौ १ देखि विद्यार्थी भर्ना, तथ्याङ्क अभिलेखीकरण लगायतका शैक्षिक गतिविधि अगाडि बढाउने र जनस्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड पालना गर्दै भदौ १५ बाट नियमित पठनपाठन सञ्चालन गर्ने तयारी गरेको थियो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?