logo
२०८१ बैशाख ८ शनिवार



अफगान शान्तिवार्ता नयाँ चरणमा प्रवेश, तीन दिने युद्धविराम घोषणा

अन्तर्राष्ट्रिय |


अफगान शान्तिवार्ता नयाँ चरणमा प्रवेश, तीन दिने युद्धविराम घोषणा
तस्विर–अलजजिरा


काबुल, साउन १४ गते । लामो समयदेखि ढिलाइ भइरहेको अफगान सरकार र तालिबानबीचको शान्तिवार्ता आगामी हप्ता शुरु हुने सम्भावना बढेको छ । अफगान राष्ट्रपति अस्रफ घानीले तालिबानसँगको मध्यस्थता वार्ता हुन लागेको मङ्गलबार सङ्केत गर्नुका साथै दुवै पक्षबीच तीन दिने युद्धविरामका लागि सहमति भएको छ ।
पहिलो चरणको युद्धविराम मुस्लिम समुदायको महान पर्व इद अल–अधाको पहिलो दिन यही शुक्रबारदेखि शुरु हुनेछ, र यो अरु दुई दिन निरन्तर जारी रहनेछ । तालिबान समूहले नै यसपटक युद्धविरामका लागि प्रस्ताव गरेको थियो । राष्ट्रपति घानीले पनि तालिबान समूहसँगको मध्यस्थता प्रयासमा निकै प्रगति भएको बताउनुभएको छ ।
यसअघि अफगानिस्तानका जेलमा बन्दी रहेका तालिबान समूहका नेता, कार्यकर्ता र लडाकूको बिनाशर्त रिहाईका विषयमा अफगान सरकार र तालिबानबीच मतैक्य हुन सकेको छैन ।
तर राष्ट्रपति घानीले सरकारी अधिकारीहरूलाई सम्बोधन गर्दै भन्नुभएको छ, “शान्तितर्फ सरकारको प्रतिबद्धता जनाउँदै इस्लामिक गणतन्त्र अफगानिस्तानले पाँच हजार तालिबानी बन्दीहरूलाई मुक्त गर्ने कार्य चाँडै सम्पन्न गर्नेछ ।” पाँच हजार तालिबानी युद्धबन्दीलाई मुक्त गर्न यसअघि गत फेब्रुअरीमा अमेरिका र तालिबानबीचको एक सम्झौतामा सहमति भइसकेको छ ।
राष्ट्रपति घानीले तालिबान समूहसँगको प्रत्यक्ष मध्यस्थता वार्ता अर्को साताभित्रै शुरु हुने सम्भावना रहेको बताउनुभयो । राष्ट्रपति घानीका प्रवक्ता सेदिक सेदिकीले काबुल सरकारले युद्धविराम पालना भएनभएको अनुगमन गर्ने जानकारी दिनुभयो । उहाँले अफगान जनताले दिगो युद्धविराम चाहनुका साथै अफगान सरकार र तालिबानबीच प्रत्यक्ष वार्ता होस् भन्ने चाहेका छन् भन्नुभयो ।
तालिबान समूहले गत साता नै इद पर्वलगत्तै अफगान सरकारसँग प्रत्यक्ष मध्यस्थता वार्ता गर्न तयारी गरिरहेको सङ्केत दिएकाे थियाे । तालिबान समूहका तर्फबाट जारी एक वक्तव्यमा तालिबानका सैन्य प्रवक्ता जबिहुल्लाह मुजाहिदले आफ्ना लडाकूहरूलाई इद अल–अधाका अवसरमा तीन दिनसम्म कुनै सैन्य कारबाही नगर्न आदेश दिनुभएको उल्लेख छ । उहाँले सरकारी वा दुश्मन पक्षबाट कुनै कारबाही भए त्यसलाई स्वीकार गर्न नसकिने पनि चेतावनी दिनुभएको छ ।
सन् २००१ मा अफगान युद्ध शुरु भएयता यो तेस्रो युद्धविराम हो । यसअघि सन् २०१८ को जुन तथा यसै वर्षको मे महिनामा रमादानका अवसरमा युद्धविराम गरिएका थिए । पछिल्लो घोषणाप्रति आम अफगानीले सन्तोषप्रद भन्दै स्वागत गरेका छन् ।
काबुलस्थित अमेरिकी कूटनीतिज्ञ रस विल्सनले युद्धविरामको स्वागत गर्नुका साथै दुवै पक्षले जतिसक्दो चाँडो मध्यस्थता वार्ता गर्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले ट्वीट गर्दै सबै अफगानीले इद पर्वलाई शान्तिपूर्वक मनाउने बताउनुभयो । अमेरिका र तालिबानबीच गत फेब्रुअरीमा सम्झौता भएयता तीन हजार ५०० भन्दा बढी अफगान सैनिकको ज्यान गइसकेको राष्ट्रपति घानीले बताउनुभएको छ । यस्तै, ७७५ जना सर्वसाधारण मारिनुका साथै एक हजार ६०९ जना घाइते भएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?