logo
२०८० चैत्र १६ शुक्रवार



सुनसरीमा १०२ जना कोरोना सङ्क्रमितमध्ये ८८ जना निको

फिचर |


सुनसरीमा १०२ जना कोरोना सङ्क्रमितमध्ये ८८ जना निको
सांकेतिक तस्विर


जयकृष्ण यादव
इनरुवा, असार ३१ गते । सुनसरीमा असारसम्म भेटिएका १०२ जना कोरोना सङ्क्रमितमध्ये ८८ जना निको भएका छन् । जिल्लामा स्वाब सङ्कलन गरिएकामध्येबाट पोजिटिभ भेटिएका सङ्क्रमित १०२ जनामध्ये ८८ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य कार्यालय सुनसरीका अनुसार पछिल्लो अवस्था सम्ममा बाहिरी जिल्लामा स्वाब सङ्कलन गरिएको तीन जनासमेत सुनसरीका १०५ जना सङ्क्रमित भेटिएका छन् । सुनसरीमा अब थप भएका एक जनासहित कोरोना पोजिटिभ भेटिएकामध्ये धरान, इटहरी, रामधुनी र बर्जुका गरी १४ जना उपचारको क्रममा छन् । स्वास्थ्य कार्यालय सुनसरीका अनुसार उनीहरू सबैको अवस्था सामान्य छ । सुनसरीमा सबैभन्दा बढी भोक्राहामा १९ जना सङ्क्रमित भेटिएका थिए । सबैभन्दा कम दुहबी नगरपालिकामा एक जना कोरोना पोजिटिभ पाइएका हुन् ।

स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको तथ्याङक अनुसार जिल्लामा सबैभन्दा धेरै २१ देखि ३० वर्ष उमेर समूहका व्यक्तिमा कोरोना पोजिटिभ भेटिएको छ । त्यसपछि दोस्रो नम्बरमा ११ देखि २० वर्ष उमेर समूह रहेको छ । यहाँ ६१ वर्षभन्दा माथि कोरोना सङ्क्रमित भेटिएको सङ्ख्या दुई मात्र छ ।

सुनसरीमा अहिलेसम्म पाँच हजार १८४ जनाको पीसीआर परीक्षण गरिएको छ । जसमध्ये १०२ जना पोजिटिभ भेटिएका छन् । सङ्क्रमितमध्ये पुरुषको सङ्ख्या ८४ छ । महिला भने १८ जना रहेका छन् । स्वास्थ्य कार्यालय सुनसरीकी कोरोना फोकल पर्सन सृजना लिन्थेपका अनुसार सुनसरीमा दुई हजार १७८ जनाको आरडीटी टेस्ट गरिएको छ । पछिल्लो अवस्थासम्ममा १०४ जना सङ्क्रमितको आधारमा जिल्लाभित्र र बाहिरको गरी ५२० जनाको कन्ट्याक ट्रेसिङ गरिएको उहाँले बताउनुभयो ।

स्वास्थ्य कार्यालय सुनसरीले आयोजना गरेको जिल्ला समीक्षा कार्यक्रममा सो विवरण सार्वजनिक गरिएको थियो । स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईंका अनुसार सुनसरीमा स्वाब सङ्कलनका क्रममा कोरोना भाइरस सङ्क्रमित पाइएकाहरू भारत लगायतका मुलुकबाट घर फर्किएका व्यक्तिहरू हुन् । उनीहरू सबै क्वारेन्टाइनमा रहेकाहरू हुन् । स्वास्थ्य प्रमुख प्रसाईंका अनुसार सुनसरीमा कोरोना समुदायमा भेटिएको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?