logo
२०८१ बैशाख १३ बिहीवार



क्वारेन्टाइनमा काम गर्ने तीन जनामा कोरोना सङ्क्रमण

फिचर |


क्वारेन्टाइनमा काम गर्ने तीन जनामा कोरोना सङ्क्रमण


नरेन्द्रकुमार कर्ण
जलेश्वर, असार १६ गते । महोत्तरी जिल्लाको औरही नगरपालिकामा रहेको क्वारेन्टाइनमा कामकाज गर्ने तीन जनालाई पनि कोरोना सङ्क्रमण भएको देखिएको छ ।  औरही नगरपालिकाका स्वास्थ्य संयोजक बालबोध रायले औरही नगरपालिकाको वडानं. ७ मा रहेको रामबिलास माध्यमिक विद्यालयको क्वारेन्टाइनमा भान्सेको काम गर्ने तीन जनामा पनि कोरोनाको सङ्क्रमण देखिएको जानकारी दिनुभयो । उहाँले नगरभित्रका १० जना कोरोना पोजिटिभमध्ये क्वारेन्टाइनमा कामकाज गर्ने तीन जनामा पनि देखिएको बताउनुभयो ।

नगरभित्रका १० जना कोरोना सङ्क्रमितलाई जलेश्वर अस्पतालको आइसोलेसनमा लगिएको बताउँदै स्वास्थ्य संयोजक रायले भन्नुभयो, ‘नगरभित्रमा रहेको तीन वटा क्वारेन्टाइनमध्ये दुई वटा अहिले खाली भएको छ भने अर्काे क्वारेन्टाइनमा अब १० जना मात्र बाँकी रहेको छ ।’

औरही नगरपालिकाको स्वास्थ्य चौकी तथा श्रीपुरमा रहेको सोन्फी दशैं माविको क्वारेन्टाइन खाली रहेको छ भने रामबिलास माध्यमिक विद्यालयको क्वारेन्टाइनमा अहिले १० जना रहेको रायले बताउनुभयो । 

नगरपालिकामा मात्रै अहिलेसम्म तीन वटै क्वारेन्टाइनमा २२९ जना रहेका थिए ।  स्वास्थ्य कार्यालय महोत्तरीका कोभिड-१९ फोकल पर्सन गिरेन्द्रकुमार झाले अहिलेसम्म जिल्लाको ६१२ जनामा कोरोना पोजिटिभ देखिएको जानकारी दिनुभयाे । अब क्वारेन्टाइनभन्दा पनि होम क्वारेन्टाइनमा सुरक्षितसाथ बस्नेहरू बढेको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?