logo
२०८० चैत्र १५ बिहीवार



त्रिविकाे सेमेष्टर प्रणालीका परीक्षाबारे कार्यदल गठन

शिक्षा |


त्रिविकाे सेमेष्टर प्रणालीका परीक्षाबारे कार्यदल गठन


काठमाडौँ, असार १६ गते । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बन्दाबन्दीका कारणले रोकिएका सेमेष्टर प्रणालीअन्तर्गतका परीक्षाका बारेमा निर्णय गर्न कार्यदल गठन गरेको छ । सो प्रणालीका परीक्षालाई के गर्ने भन्ने बारेमा सुझाव दिन त्रिविका शिक्षाध्यक्ष प्रा डा. शिवलाल भुसालको संयोजकत्वमा कार्यदल गठन गरिएको हो । त्रिवि परीक्षा नियन्त्रण कार्यालयका (पनिका) परीक्षा नियन्त्रक पुष्पराज जोशीले कार्यदलले दिएको सुझावका आधारमा सेमेष्टर परीक्षाबारे निर्णय गर्ने बताउनुभयो ।

‘‘कार्यदलले दिएको सुझावको आधारमा हामीले परीक्षाका बारेमा निर्णय गर्ने छौँ’’, उहाँले भन्नुभयो, ‘‘अहिलेसम्म सेमेष्टर प्रणालीका परीक्षाका बारेमा कुनै निर्णय गरेका छैनौँ ।’’ कोभिड-१९ को कारणले त्रिविको स्नातक तहको दोस्रो, चौथो तथा स्नातकोत्तर तहको दोस्रो र चौथो सेमेष्टरको परीक्षा स्थगित भएको थियो ।

वार्षिक परीक्षा सञ्चालन हुने

उहाँले वार्षिकअन्तर्गतका परीक्षा भने स्थिति सामान्य भएपछि सञ्चालन गरिने जानकारी दिनुभयो । परीक्षाको कार्यतालिका सार्वजनिक गरिसकेकोले बन्दाबन्दी हटेपछि नियमित परीक्षा गरिने बताउनुभयो । ‘‘अहिले सबै विद्यार्थी घर गएका छन् । बन्दाबन्दी खुलेर यातायात सहज भएपछि विद्यार्थी आउने वातावरण हुन्छ’’, उहाँले भन्नुभयो, ‘‘अनि विद्यार्थीलाई केही समय बाँकी राखेर पुनः परीक्षाको कार्यतालिका सार्वजनिक गर्नेछौँ ।’’ त्रिविले गत चैत ७ गतेदेखि कोभिड–१९ को कारणले सेमेष्टर तथा वार्षिक सबै परीक्षा स्थगित गरेको थियो ।

यसैगरी पनिकाले बन्दाबन्दीको बीचमा १४ वटा तहका परीक्षाफल प्रकाशित गरेको छ । गत वैशाख २० गतेबाट कार्यालय कर्मचारीलाई ल्याएर परीक्षाफल प्रकाशित गरिएको हो । उहाँका अनुसार स्नातक तहका व्यवस्थापन सङ्काय, मानविकी सङ्काय, शिक्षा र विज्ञान सङ्कायका द्वितीय वर्ष तथा कानून सङ्काय स्नातक र स्नातकोत्तर तह तथा मानविकी सङ्कायका स्नातकोत्तर तहका पाँच विषयमा परीक्षाफल प्रकाशित गरिएको छ । यसैगरी उहाँले चाँडै नै स्नातक तह व्यवस्थापन र मानविकि सङ्कायको प्रथम वर्षको परीक्षाफल पनि प्रकाशित गरिने जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?