logo
२०८१ बैशाख ८ शनिवार



कक्षा १० का विद्यार्थी मूल्याङ्कन गर्ने विषयमा शिक्षकहरु अलमलमा

शिक्षा |


कक्षा १० का विद्यार्थी मूल्याङ्कन गर्ने विषयमा शिक्षकहरु अलमलमा


गोरखापत्र समाचारदाता
कोहलपुर (बाँके), असार १५ गते । आफ्ना कक्षा १० का विद्यार्थीको मूल्याङ्कन गर्ने विषयमा यतिबेला धेरै शिक्षकहरु अलमलमा छन् । कोभिड–१९ का कारण शिक्षकले विद्यार्थीको अन्तिम मूल्याङ्कन गर्न पाउने व्यवस्था माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को विद्यार्थी मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधिले गरिदिएको छ । कार्यविधिले यही असार २० गतेभित्र विद्यालयले सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय एकाइमा र एकाइले असार २० गतेभित्र राष्ट्रिय परीक्षा बोर्डमा पठाइसक्नुपर्ने स्पष्ट व्यवस्था गरेको छ ।

शिक्षक तथा प्रधानाध्यापकलाई विद्यार्थी तथा अभिभावकले बढी अङ्क प्रदान गर्ने व्यापक दवाव दिँदै आएका छन् । थुप्रै सामुदायिक विद्यालयले एसईई अगाडि पूर्वतयारी परीक्षा लिएका छैनन् । त्यसले गर्दा कतिपय शिक्षक तथा प्रधानाध्यापकले मूल्याङ्कनको आधार कसलाई लिने भन्नेमा पनि अन्योल मान्दै आएका छन् ।

कोहलपुर नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले प्रधानाध्यापकहरुलाई भेला गराई कक्षा १० को विद्यार्थीहरुको मूल्याङ्कन गर्ने विधिका बारेमा तालिम दिएको छ ।
कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावलले दुरुस्त नतिजा पठाउन निर्देशन दिँदै भन्नुभयो, “इमान्दारीका साथ विद्यार्थीको मूल्याङ्कन गर्नुहोला । आफ्ना विद्यार्थीलाई अरु विद्यालयका विद्यार्थीभन्दा अब्बल बनाउने चाहनामा बढी अङ्क प्रदान गर्ने गल्ती नगर्नुहोला ।”

शाखा प्रमुख अनन्तकुमार पौडेलले वस्तुगत नतिजाको चिन्ता रहेको उल्लेख गर्दै दवावमा वा माया लाग्यो भन्दैमा विद्यार्थीलाई बढी अङ्क दिने काम प्रधानाध्यापक वा शिक्षकले नगर्लान् भन्ने विश्वास गरेका छौँ ।

एकाइका शाखा अधिकृत भोजप्रसाद लम्सालले अब प्रधानाध्यापकको वास्तविक परीक्षा सुरु भएको उल्लेख गर्दै थप्नुभयो, “अब आफ्नै परीक्षा लिदैछौँ भनेर शिक्षकहरुले सोच्नुपर्दछ । यो परीक्षा विद्यार्थीको भविष्यसँग जोडिएको छ ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?