logo
२०८१ बैशाख १३ बिहीवार



अद्यावधिक नक्सा तत्कालै पाठ्यपुस्तकमा

शिक्षा |
मुख्य समाचार |


अद्यावधिक नक्सा तत्कालै पाठ्यपुस्तकमा


शेषकान्त पण्डित

काठमाडौँ, जेठ १२ गते । लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर सरकारले हालै सार्वजनिक गरेको नेपालको अद्यावधिक नक्सा विद्यार्थीले यसै शैक्षिक सत्रदेखि आफ्नै किताबमा पढ्न र हेर्न पाउने भएका छन् । नयाँ कक्षा सुरु भएको दिन सबै विद्यार्थीलाई नेपालको नयाँ नक्सा पु¥याउने गरी गृहकार्य थालिएको छ । यस शैक्षिक सत्रका लागि अधिकांश पुस्तकको छपाइ प्रक्रिया करिब सकिएको छ तर जनक शिक्षा सामग्री केन्द्रका महाप्रबन्धक महेश तिमिल्सिनाले विभिन्न विकल्प प्रयोग गरेर नक्सा पुस्तकमा समेटिने बताउनुभयो  । पाठ्यक्रम विकास केन्द्रको लिखित अनुमतिपछि मात्र जनक शिक्षाले नयाँ नक्साको छपाइ गर्न पाउने कानुनी प्रावधान छ ।
पाठ्यक्रम विकास केन्द्रका प्रवक्ता गणेश भट्टराईले यसबारे आधिकारिक निर्देशन आउन बाँकी रहेको जानकारी दिनुभयो । निर्देशन आएमा विद्यार्थीलाई नयाँ नक्सा उपलब्ध गराउने योजना भने पूरा गर्न सकिने उहाँले बताउनुभयो ।
प्राप्त जानकारी अनुसार छपाइ हुन बाँकी पुस्तकको हकमा नयाँ स्वीकृति दिन सकिने छ । छपाइ भएर विद्यार्थीको हातमा पुगिसकेको पुस्तकको हकमा भने विद्यालयलाई जानकारी गराएर विद्यार्थीलाई नयाँ नक्सा उपलब्ध गराई पढ्न प्रेरित गरिनेछ । यसमा प्रविधिको प्रयोग गरेर शिक्षकलाई जानकारी गराउने योजना पनि अगाडि सारिएको छ ।
विद्यालय तहसम्म नेपालको नयाँ नक्सा मात्रै अलगै छपाइ गरेर पनि पु¥याउन सकिने भट्टराईको भनाइ छ । केन्द्रका प्रवक्ता भट्टराईले छापिएका तर विद्यार्थीको हातमा पुग्न बाँकी रहेका पुस्तकको हकमा भने सबैभन्दा पछिल्लो पातोमा नक्सा टाँस गरेर पनि विद्यार्थीलाई उपलब्ध गराउन सकिने बताउनुभयो । जनक शिक्षाका महाप्रबन्धक तिमिल्सिनाले हालसम्म केन्द्रबाट प्रकाशित भएर क्षेत्रीय कार्यालय तथा डिलरसम्म पुगेका झन्डै २५ प्रतिशत पुस्तक मात्रै बिकेको जानकारी दिनुभयो । छपाइका लागि नयाँ अनुमति आउन समय लागेको अवस्थामा नक्सा मात्रै अलगै छपाइ गरेर पनि देशभरका विद्यार्थीको हातमा पु¥याउने योजनामा आफूहरू रहेको उहाँले बताउनुभयो ।
सरकारले नयाँ भूभाग समेटेर जारी गरेको नयाँ नक्सा विद्यार्थीले तुरुन्त पढ्न र हेर्न पाउनुपर्छ भन्नेमा आफूहरू सजग रहेको उहाँको भनाइ छ । देशभर एक हजार एक सय जति डिलर रहेका कारण नयाँ नक्सा विद्यार्थीको हातमा पु¥याउन कुनै समस्या नभएको महाप्रबन्धक तिमिल्सिनाले बताउनुभयो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?