logo
२०८१ बैशाख ८ शनिवार



थुनामा रहेका युवकमा कोरोना, बैतडी प्रहरी कार्यालय सिल

प्रदेश |
फिचर |


थुनामा रहेका युवकमा कोरोना, बैतडी प्रहरी कार्यालय सिल


गोकर्ण दयाल
बैतडी, जेठ ९ गते । जिल्ला प्रहरी कार्यालय, बैतडीको हिरासतमा २२ दिनदेखि रहेका एक व्यक्तिमा कोरोना पुष्टि भएको छ । थुनुवामा कोरोना देखिएपछि जिल्ला प्रहरी कार्यालय, बैतडी सिल गरिएको छ ।

बैतडीको शिवनाथ गाउँपालिकाका २३ वर्षका युवक २२ दिनदेखि कर्तव्य ज्यान मुद्दामा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, बैतडीको हिरासतमा थिए । हिरासतमा रहेका युवक बैतडीको पहिलो कोरोना सङ्क्रमित बनेका छन् ।

गत चैत ६ गते भारतको मुम्बइबाट घर आएका २३ वर्षका युवक वैशाख १५ गतेदेखि कर्तव्य ज्यान मुद्दाको अनुसन्धानका लागि थुनामा रहेका थिए ।  बैतडीको शिवनाथ गाउँपालिकामा गत वैशाखमा एक युवती मृत्त अवस्थामा खोलामा फेला परेकी थिईन् । अभिभावकको किटानी जाहेरीका आधारमा अनुसन्धानका लागि युवक थुनामा रहेको बैतडी प्रहरीले जानकारी दिएको छ ।

युवकको ढिलो गरी भएको स्वाब परीक्षण (पीसीआर) रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि जिल्ला प्रहरी कार्यालय, बैतडी सिल गरिएको बैतडीका प्रहरी प्रमुख प्रनाउ डिल्लीनारायण पाण्डेयले बताउनुभयो ।

प्रनाउ पाण्डेयले भन्नुभयो, “लामो समयदेखि थुनामा रहेका युवकमा कोरोना देखिएपछि जिल्ला प्रहरी कार्यालय सिल गरेका छौँ । मुद्दा फाँटमा काम गर्नेदेखि सबै प्रहरीको पीसीआर परीक्षण आवश्यक छ । थुनामा रहेका युवकमा कोरोना पुष्टि भएपछि त्रास बढेको छ । ”

भारतबाट आएकाहरुलाई सम्बन्धित पालिका लैजाने र सीमा नाकामा प्रहरीहरू अग्रस्थानमा खटिँदै आए पनि सबै प्रहरीसँग अहिलेसम्म गतिलो मास्क समेत छैन ।

थुनामा रहेका युवकमा कोरोना देखिएको विषयमा स्वास्थ्य कार्यालय, बैतडीका प्रमुख योगेशप्रसाद भट्टले सबै विवरण स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मलेनमार्फत सार्वजनिक हुने बताउनुभयो ।

बैतडी अस्पतालमा ल्याबसहित भेन्टिलेटर राख्ने प्रदेश सरकारले निर्णय गरे पनि बैतडी आएका चिकित्सक समेत २२ दिन बैतडी बसेर काठमाडौँ फर्किएका छन् । जिल्ला अस्पताल, बैतडीमा चिकित्सक मात्र होइन, आवश्यक उपकरण र स्वास्थ्य परीक्षण गर्ने किट समेत अभाव हुने गरेको छ ।

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?