logo
२०८१ बैशाख ४ मंगलवार



सर्लाहीमा एकैदिन थपिए १५ सङ्क्रमित, सबै भारतबाट आएका

फिचर |
प्रदेश |


सर्लाहीमा एकैदिन थपिए १५ सङ्क्रमित, सबै भारतबाट आएका


जनार्जन खत्री
सर्लाही, जेठ ९ गते । सर्लाहीमा शुक्रबार एकैदिन १५ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् ।  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाण्डौँमा स्वाब परीक्षण गर्दा भारतीय सीमावर्ती क्षेत्रस्थित गोडैता नगरपालिकाका विभिन्न पाँच वडाका १४ जना र जिल्लाको दक्षिणपश्चिम क्षेत्रस्थित बाग्मती नदी किनारमा पर्ने रामनगर गाउँपालिका–७ का एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमित सबै ९-१० दिनअघि भारतका विभिन्न स्थानबाट आएका हुन् ।

भारतबाट लुकीछिपी आएका गोडैता नगरपालिकाका ८० जना र रामनगर गाउँपालिकाका पाँच जना गरी ८६ जनाको वुधबार स्वाब सङ्कलन गरी परीक्षणका लागि टेकु पठाइएको थियो । शुक्रबार सङ्क्रमित थपिएका गोडैता नगरपालिकाको तीनवटा क्वारेन्टाइनमा अहिले १६० जना र रामनगर गाउँपालिकाको एउटा क्वारेन्टाइनमा ३० जनालाई राखिएको छ ।

गोडैता नगरपालिकाका प्रमुख देवेन्द्र यादवले भारतबाट फर्किएकाहरूलाई नगरपालिकाले नारायण हरि माध्यमिक विद्यालय सिसौटिया, वेणी भोला नमूना माध्यमिक विद्यालय गोडैता र वैधनाथ माध्यमिक विद्यालय मधुवनीमा निर्माण गरेको क्वारेन्टाइनमा राखिएको जानकारी दिनुभयो । यस्तै रामनगर गाउँपालिकाका सङ्क्रमित तपस्वी जगदेव माध्यमिक विद्यालय रामनगरको क्वारेन्टाइनमा रहेका गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बर्माले बताउनुभयो ।

एकैपटक १५ जनामा सङ्क्रमण देखा परेपछि सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीसहितका सुरक्षा अधिकारीहरू अहिले गोडैता पुग्नुभएको छ । सङ्क्रमितलाई उपचारका लागि कहाँको आइसोलेसनमा पठाउन सकिन्छ भनेर समन्वय गरिरहेको प्रमुख जिल्ला अधिकारी जिसीले बताउनुभएको छ । उहाँका अनुसार नयाँ सङ्क्रमित सबैलाई भारतबाट आउनासाथ सोझै क्वारेन्टाइनमा लगेर राखिएकाले समुदायमा घुलमिल हुन पाएका छैनन् ।

सर्लाहीमा केही दिनदेखि भारतबाट दैनिक ठूलो सङ्ख्यामा मानिसहरू आइरहेका छन् । भारतमा रेलसेवा सुरु भएपछि विभिन्न स्थानमा अलपत्र परेकाहरू धमाधम आफ्नै देश आउन थालेका हुन् । त्यसरी आइरहेकाहरूलाई क्वारेन्टाइनमा व्यवस्थापन गरी राख्न हम्मेहम्मे परिरहेको छ ।

सर्लाहीमा यसअघि पाँच जनामा कोरोना सङ्क्रमण देखिएको थियो । उनीहरुमध्ये रामनगर गाउँपालिका र बाग्मती नगरपालिकाका दुई सङ्क्रमितको काठमाण्डौँमा, हरिपूर्वा नगरपालिका र हरिवन नगरपालिकाका दुई सङ्क्रमितको जनकपुर र धनकौल गाउँपालिकाका एक सङ्क्रमितको वीरगञ्जमा उपचार भइरहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?