logo
२०८० चैत्र १६ शुक्रवार



तनहुँमा पाँचसय बेड क्षमताको क्वारेनटाइन निर्माण हुँदै

प्रदेश |


तनहुँमा पाँचसय बेड क्षमताको क्वारेनटाइन निर्माण हुँदै


अमरराज नहर्की
तनहुँ, जेठ ९ गते । नेपालमा कोरोना भाइरस (कोभिड–१९) फैलँदै जान थालेपछि तनहुँमा उच्च सर्तकता अपनाइएको छ । जोखिम व्यवस्थापनका लागि १० वटा नै स्थानीय तहमा गरी पाँच सय बेडको अत्याधुनिक एवम् व्यवस्थित क्यारेन्टाइन निर्माण हुने भएको छ । प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला कोभिड १९ कमाण्ड पोष्टका अध्यक्ष बद्रीनाथ अधिकारीको अध्यक्षतामा हालै दमौलीमा बसेको सर्वपक्षीय बैठकले त्यस्तो निर्णय गरेको हो ।

जिल्लाका १० वटा स्थानीय तहहरूले कम्तीमा ५०/५० वटा व्यवस्थित क्वारेनटाइन निर्माण गर्नुपर्ने निर्णय गरिएको छ । भानु नगरपालिकामा शारदा कलेज, आबुखैरेनी गाउँपालिकाको मित्रता मावि, बन्दीपुर गाउँपालिकाको रत्न राज्य निमावि, व्यास नगरपालिकाको आदिकवि भानुभक्त क्याम्पस, रिसिङ गाउँपालिकाको शुक्ला माविमा क्वारेनटाइन निर्माण गरिनेछ ।
त्यस्तै, म्याग्दे गाउँपालिकाको मिन मावि, शुक्ला गण्डकी नगरपालिकाको भानुभक्त क्याम्पस, भिमाद नगरपालिकाको जनज्योती क्याम्पस, घिरिङ गाउँपालिकाको चन्द्रज्योती मावि र देवघाट गाउँपालिकाको क्वारेन्टाइनमा बाहिरबाट आएका व्यक्तिहरूलाई राखिनेछ । सरकारले भारतको सीमामा रहेका नेपालीहरूलाई आ-आफ्नो घर फर्काउने जनाएपछि जिल्ला जिल्लामा क्वारेनटाइन थप्न थालिएको हो ।

तनहुँ जिल्लामा बन्दाबन्दीका क्रममा क्वारेनटाइनमा रहेका २५ जनाको पिसिआर परीक्षणका लागि पोखरा पठाइएको र रिपोर्ट नेगेटिभ आएको दमौली अस्पतालका निमित्त प्रमुख डा.रामहरी दाहालले जानकारी दिनुभयो ।

यसअघि पनि तनहुँमा १५० भन्दा बढी बेडको क्वारेनटाइन निर्माण गरी भारतबाट आएका व्यक्तिहरूलाई राख्ने गरिएको छ । हाल जिल्लामा ६० जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । बन्दाबन्दीका क्रममा स्वदेश तथा विदेशबाट आएका व्यक्तिलाई अनिवार्य क्वारेन्टीनमा बस्नुपर्ने नियम बनाइएकाले ती व्यक्तिलाई राखिएको उनीहरूमध्ये अधिकांश भारतबाट आएका रहेको उहाँले बताउनुभयो । जिल्लामा भित्रिने सवारी साधनको लागि गण्डकी प्रदेशको नाका मुग्लिन पुलमा सवारी साधनको समेत स्यानिटाइज गर्ने गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?