logo
२०८० चैत्र १५ बिहीवार



वैकल्पिक पठन पद्धति जरुरी

शिक्षा |
मुख्य समाचार |


वैकल्पिक पठन पद्धति जरुरी


गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ ९ गते । कोरोना भाइरस (कोभिड–१९) का कारण भएको बन्दाबन्दीले विद्यालय बन्द हुँदा लाखौँ विद्यार्थीको अध्ययन प्रभावित भइरहँदा वैकल्पिक पठन पद्धतिमा जानुपर्ने सुझाव आएको छ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का अध्यक्ष टीका पुरीले कोरानाले दुई महिना विद्यार्थीको नियमित पठनपाठन हुन नसकेको र अझै केही महिना पढाउन कठिन हुने देखिएकाले वैकल्पिक विधिबाट पढाइ थाल्नुपर्ने बेला भएको बताउनुभयो । वैकल्पिक विधिमा अनलाइन, टेलिभिजन, रेडियो, एफएम, यूट्युब प्रयोग गर्न सकिने उहाँले बताउनुभयो । लाखौँ विद्यार्थीलाई निराश अवस्थामा घरमा बन्दाबन्दीमा राख्दा पछि धेरै खालको समस्या आउन सक्ने भन्दै उहाँले विद्यार्थीलाई शिक्षक तथा विद्यालयसितको सम्पर्कमा तत्काल जोड्न जरुरी भएको बताउनुभयो ।
नेपाल शिक्षक महासङ्घका उपाध्यक्ष तिलक कुँवरले हालको अवस्थामा विद्यार्थीको सिकाइलाई कसरी अघि बढाउने भन्ने कुरा सम्बोधन गर्न सरकारले अलग्गै नीति ल्याउनुपर्ने आवश्यकता आँैल्याउनुभयो । प्रविधिबाट पढाउनु चुनौतीपूर्ण भएकाले यसको सुरुवात गर्नुभन्दा अघि सरकारले आवश्यक तयारी गर्नुपर्ने उहाँको भनाई छ ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (एन.प्याब्सन) का अध्यक्ष ऋतुराज सापकोटाले जति ढिला पठनपाठन सुरुहुन्छ त्यति नै बालबालिकाको मनस्थितिमा असर गर्ने भएकाले बलियो मनस्थितिकासाथ प्रविधिमैत्री कक्षा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । यस विषयमा आफूहरू छलफलमा जुटेको उहाँको भनाइ छ । सरकारले भने वैकल्पिक विधिबाट पढाउन सामग्री विकास, शिक्षकको क्षमता अभिवृद्धि तथा पूर्वाधार विकास नै प्राथमिकतामा रहेको जनाएको छ । सरकारको हालै जारी नीति तथा कार्यक्रममा अनलाइन शिक्षा सञ्चालन, माध्यमिक विद्यालयमा उच्च गतिको इन्टरनेट सुविधा तथा प्रविधिमा लगानी वृद्धि गर्ने कार्यक्रम प्रस्तुत गरिएको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?