logo
२०८१ बैशाख ४ मंगलवार



अनलाइन प्रविधिबाट अध्यापन सुरु

शिक्षा |
मुख्य समाचार |


अनलाइन प्रविधिबाट अध्यापन सुरु



शेषकान्त पण्डित

काठमाडौँ, वैशाख ८ गते । त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण अवरुद्ध स्नातकोत्तर तहको पठनपाठन अनलाइन प्रविधिबाट सुरु गरेको छ । सङ्क्रमणको अवधि लामो हुने सङ्केत देखिएपछि विश्वविद्यालयले
प्रविधिको प्रयोग गरेर विद्यार्थीलाई पढाउने मेसो मिलाएको हो ।  प्रविधि चलाउन सक्षम विश्वविद्यालयका शिक्षकले आफ्नै घरबाट बन्दाबन्दीमा परेका विद्यार्थीलाई पढाउन थालेको विश्वविद्यालयका उपकुलपति प्रा. डा. धर्मकान्त बाँँस्कोटाले जानकारी दिनुभयो ।
स्नातकोत्तर तहतर्फ सेमेस्टर प्रणालीमा सञ्चालित दोस्रो तथा चौथो वर्षका कक्षा सञ्चालन सुरु गरिएको हो । पहिलो सेमेस्टरमा हाल विद्यार्थी भर्ना मात्रै भएकाले धेरै विद्यार्थी सम्पर्कमा आएका छैनन् । स्नातकोत्तरमा विज्ञान तर्फका भौतिक शास्त्र, वातावरण विज्ञान, सूक्ष्म जीव विज्ञान, बायो टेक्नोलोजी लगायतका केन्द्रीय विषयमा पढाइ सञ्चालन गरिएको छ । व्यवस्थापन सङ्कायतर्फ होटल व्यवस्थापन तथा एमबीए तर्फको कक्षा सञ्चालन गर्न थालिएको विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा. डा. शिवलाल भुसालले जानकारी दिनुभयो । मानविकीतर्फ स्नातकोत्तर तहमा ग्रामीण विकास विभागले पहिलो सेमेस्टरका विद्यार्थीलाई अनलाइनबाट कक्षा प्रारम्भ गरेको जानकारी त्रिविका प्रिन्सिपल कृष्ण आचार्यले जानकारी दिनुभयो । अनलाइनबाट कसरी पढाउने भन्ने विषयमा केन्द्रीय विभागीय प्रमुख र क्याम्पस प्रमुखसित छलफल भइरहेको जनाइएको छ ।
विश्वविद्यालयले शिक्षकलाई प्रविधिमैत्री बनाउन तालिमसमेत सञ्चालन गर्दैछ । कक्षामै पुगेर पढाउने बानी परेका शिक्षकलाई प्रविधिबाट कक्षा लिन सक्षम बनाउनुपर्ने भएपछि तालिम दिने योजना बनाइएको छ । पहिलो चरणमा ४० तथा अर्को चरणमा गरी तीन सय शिक्षकलाई तालिम दिइने शिक्षाध्यक्ष भुसालले बत(ाउनुभयो ।
शिक्षाध्यक्ष भुसालले परीक्षा प्रणाली तथा मूल्याङ्कनबारे पछि सोचिने र त्यसका लागि समय रहेको बताउनुभयो । हाल सेमेस्टर प्रणालीमा शिक्षकलाई विद्यार्थीको आन्तरिक मूल्याङ्कन गर्न ४० र परीक्षाका लागि ६० अङ्क छुट्याइएकाले यस विषयमा परिस्थिति हेरेर निर्णय गरिने उहाँले बताउनुभयो ।
विश्वविद्यालयले अनलाइन प्रविधिबाट पठनपाठन कसरी अगाडि बढाउने तथा यसका नीतिगत समस्या कसरी समाधान गर्ने भन्ने विषयमा अध्ययन गर्न एक कार्यदल बनाएको छ । कार्यदलको सुझावका आधारमा अनलाइन शिक्षाबारे नीतिगत निर्णय गरिने जानकारी शिक्षाध्यक्ष भुसालले दिनुभयो ।
समस्या कम छैनन्
विश्वविद्यालयले केन्द्रीय विभागमा अनलाइन प्रविधिबाट पठनपाठन सुरु गरे पनि धेरै विद्यार्थी भएका विषयमा भने पठनपाठन गर्न समस्या हुनेभएको छ । धेरै विद्यार्थीलाई प्रविधिबाट पढाउन पहुँच नपुग्ने उहाँको भनाइ छ । हजारौँ विद्यार्थी अध्ययन गर्ने मानविकी, व्यवस्थापन, शिक्षा शास्त्रका विषयमा अनलाइनबाट पढाउन समस्या हुने शिक्षाध्यक्ष भुसालले बताउनुभयो ।
धेरै विषय अध्यापन गराउने विश्वविद्यालयका मातहतका आङ्गिक क्याम्पसमा पनि प्रविधिबाट अध्यापन गराउन कठिनाइ हुने देखिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?