logo
२०८१ बैशाख १३ बिहीवार

  एकान्तबासकाे समाजशास्त्र–४ 



अनलाइन कक्षा बालबालिकाका लागि उपयुक्त विकल्प

शिक्षा |


अनलाइन कक्षा बालबालिकाका लागि उपयुक्त विकल्प


यलु जोशी
काठमाडौं, चैत २३ गते । कोरोना भाइरसको सम्भावित जोखिमका कारण जारी लकडाउन (बन्दाबन्दी) का बेला घरमा बसेर बालबालिकालाई कसरी सकारात्मक र रचनात्मक रुपमा व्यस्त बनाउने भन्ने आम चासोको विषय बनेको छ ।
तर अनलाइन कक्षाको सञ्चालनले भने धेरै बालबालिकालाई विद्यालयमा जस्तै पढ्न र सिक्न पाउने भएका छन् । कोरोना भाइरसका कारण देश लकडाउन (बन्दाबन्दी)मा छ तर छ वर्षीया युनिका सिहंको पढाइमा भने लकडाउनले कुनै असर परेको छैन् । मिदास नामक संस्थाले सञ्चालन गरेको अनलाइन पढाइबाट सिहंले धेरै कुरा सिक्न पाएको उहाँको आमा अन्जु तण्डुकारले जानकारी दिनुभयो ।
उहाँका अनुसार सो अनलाइन पढाइले युनिकाको दिनचर्या सिर्जनशील बनाइदिएको छ । गुगल कक्षा मार्फत मिदासले युनिका जस्ता बालबालिकालाई घरैमा पढ्ने सिक्ने वातावरण मिलाइदिएको छ । तीनदेखि १३ वर्षका केटाकेटीले अनलाइन कक्षा लिन सक्छन् । त्यहाँ कला, विज्ञान, गणित, सामाजिक ज्ञान, फिटनेस, भाषा विकास लगायत शिक्षा रमाइलो तरिकाले सिकाइन्छ ।
तण्डुकार भन्नुहुन्छ, यो कार्यक्रमले हामीजस्ता अभिभावकलाई पनि सजिलो बनाएको छ । गुगल कक्षामा राखिएका भिडिओ, लिंक र गृहकार्यले छोरीलाई व्यस्त राखेको छ । विमान परिचालिका तण्डुकारले छोरीसँगै आफ्नोसमेत समय सदुपयोग भएको बताउँनुहुन्छ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का अध्यक्ष टीकाराम पुरीले हाल मिदास तथा कारखाना नामक संस्थाको सहकार्यमा अनलाइन क्लासहरू संञ्चालनमा ल्याइएको जानकारी दिनुभयो ।
उहाँले मिदासले कक्षा १ देखि कक्षा १० सम्मका हरेक वर्गका विद्यार्थीहरुलाई शिक्षा प्रदान गर्ने जानकारी दिदै हाल ८० हजार विद्यार्थी आवद्ध रहेको जानकारी दिनुभयो । अनलाइन कक्षाबाट विद्यार्थीले भरपुर ज्ञान लिन सक्ने दावी गर्दे भन्नुभयो, विद्यार्थीको जिज्ञासा, प्रश्नहरुको पनि उत्तर दिने गरिन्छ ।
यसैगरी कारखाना नामक संस्थाले विद्यार्थीलाई मात्र नभएर शिक्षक हरुलाई पनि तालिम दिइरहेको बताउनुभयो । पुरीले अर्को वर्षको पाठ्यक्रम कसरी तयार गर्ने, वार्षिक योजना, लगायतका तालिमहरु शिक्षकहरु दिइरहेको बताउनुभयो ।
उहाँले अनलाइन कक्षा धेरै प्रभावकारी भएको हुनाले अरु संस्थाहरु सँग पनि सहकार्य गर्न प्याब्सनले खोजिरहेको जानकारी दिनुभयो ।
यस्तै स्पाइनी ब्याबलर नामक प्रि स्कुलले पनि गुगल कक्षा संञ्चालन गरेको छ । स्पाइनी ब्याबलर इभोलुसनका संयोजक पल्लभ रञ्जनले भन्नुभयो, गुगल कक्षामा पठाइने कार्यक्रम सुरूमा पल्लभले आफ्नै ६ वर्षीया छोरीलाई देखाएर परीक्षण गर्नुभएका हो । लकडाउन भएकाले यो कक्षा केही महिनाका लागि निःशुल्क छ । आफ्ना केटाकेटीलाई संलग्न गराउन चाहनेले गुगल फारम भर्नुपर्छ ।
उहाँका अनुसार यो अन्तर्रा्ष्ट्रिय कार्यक्रम भएकाले कोही अमेरिका, कोही स्विडेन त कति नेपालका छन् । सबै देशको समय फरक । त्यसैले सबै देशका केटाकेटीलाई एकै समयमा बोलाएर अनलाइन कक्षा सञ्चालन गर्न सम्भव नभएको उहाँ बताउनुहुन्छ ।
आफ्नो उमेर र क्षमता अनुसार जे सक्नुहुन्छ, त्यो गर्नुहुन्छ,’ रञ्जनले भन्नुभयो, फोटो, चित्र, लेख, भिडिओहरू पठाउनुहुन्छ । विज्ञानको परीक्षण र योग गर्नुहुन्छ । हामीले सोचेभन्दा राम्रो गरिरहनुभएको छ ।’ कति कुरा साना बच्चालाई सिक्न समय लाग्न सक्छ, ठूलाले चाँडो सिक्छन ्। आफ्नो क्षमता र इच्छाअनुसारको विषय आफैं छान्न पाउँछन् ।
लकडाउन केटाकेटीका लागि झनै जटिल समय हो । खेल्न, कुद्न र घुम्न नपाउँदा छट्पटाउने नै भए । मानसिक रोग विशेषज्ञ डा रवि शाक्यले लामो समय एकान्तमा बस्दा वा महामारीका समयमा मानिसमा तनाव हुने, बाहिर जान नपाउने हुँदा डर लाग्ने, आत्तिने, छटपटी हुने हुनु स्वभाविक भएकाले आफूलाई व्यस्त बनाएर दिमागलाई ठीक ठाउँमा राख्न सकिने बताउनुभयो ।
उहाँले भन्नुभयो, हामीले कुनै रचनात्मक काम गरेर समय बिताउन सक्छौँ । बालबालिकालाई समूहमै सहभागी गराएर खेलाउने गर्न सक्छौँ । सुत्ने, खाने, खेल्ने, मनोरञ्जन गर्ने, योग गर्ने समय नियमित तर्जुमा गरी व्यस्त हुन सक्छौँ ।
डा शाक्यले भन्नुभयो, हामीहरु लकडाउन भएकैले बाँचेका छौँ । यति लामो समय एकै ठाउँमा परिवार यसरी बस्न पाएका थिएनौँ । यो अवसर हो । अहिले अनलाइन पठनपाठन निकै प्रभावकारी भएको जानकारी दिदै बालबालिकालाई मोवाइल ट्याव अत्यन्त प्रिय हुन्छन् यसैलाई अध्ययनको माध्यम बनाउँदा निकै प्रभावकारी हुने शाक्यको भनाइ छ ।
लामो विदालाई ध्यानमा दिएर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र मातहतका निकायले पनि अनलाइन शिक्षा र सन्दर्भ सामाग्रीमा जोड दिँदै आएका छन् । नेपाल शिक्षक महासङ्घ, शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपाल, निजी तथा आवासीय अर्गनाइजेशन (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (एन प्याब्सन), साझा इ पार्टी (इ पुस्तकालय), कारखाना, मिदास आदि संस्थाले पनि यस अवधिका लागि अनलाइनका माध्यमबाट कोर्स र पठनीय सामाग्रीको डिजिटल भर्सनमा अभ्यास गराउन थालेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?