logo
२०८१ बैशाख ५ बुधवार



कोरोनाको त्रासले पहाडी जिल्लामा पनि परीक्षा सुरु

शिक्षा |


कोरोनाको त्रासले पहाडी जिल्लामा पनि परीक्षा सुरु


धनगढी, फागुन २९ गते । सुदूरपश्चिमका डोटी, डडेल्धुरा र बैतडीमा पनि कोरोना भाइरस (कोभिड–१९) को त्रासका कारण कक्षा १ देखि ९ सम्मका परीक्षा धमाधम हुन थालेका छन् । बझाङ, बैतडी, अछाम, बाजुरा, कैलाली र कञ्चनपुरमा पनि धमाधम परीक्षा भइरहेका छन् । कतिपय विद्यालयले परीक्षाका कार्यक्रम सञ्चालनसमेत गरिसकेका छन् । कोरोना भाइरस (कोभिड–१९) को त्रासले गर्दा ती जिल्लाका विभिन्नखालका सार्वजनिक कार्यक्रम पनि स्थगित गरिएको छ । सुदूरपश्चिममा निकै महìवका साथ मनाइने होरी पर्वले पनि यसपटक रोचकता पाएन ।
विश्वव्यापी महामारीका रूपमा देखापरेको कोरोना भाइरस (कोभिड–१९)को त्रासका कारण डोटी जिल्लामा सार्वजनिक कार्यक्रमदेखि विद्यालयसम्म प्रभावित हुनपुगेका छन् । जिल्लाका सामुदायिक तथा निजी विद्यालयहरूले तोकिएको निर्धारित समयभन्दा अगाडि नै वार्षिक परीक्षा सक्ने गरी तयारी थालेका छन् ।
डोटीका सबै स्थानीय तहका सामुदायिक विद्यालयले वार्षिक परीक्षा सुरु गरिसकेका छन् । निजी विद्यालयले शुक्रबारदेखि परीक्षा सञ्चालन गर्ने गरेर तयारी गरिरहेका छन् । सिलगढीस्थित पद्म पब्लिक मुक्तिनारायण माध्यमिक विद्यालयकी प्रधानाध्यापक गीता जोशीका अनुसार डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयमा कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा मङ्गलबारदेखि नै सुरु
भइसकेको छ ।
डोटीको सायल गाउँपालिकामा वार्षिक परीक्षा बुधबारदेखि सुरु भएको छ । सायल गाउँपालिका अन्तर्गतको जनता जनार्दन माध्यमिक विद्यालयका प्रधानाध्यापक टीकादत्त जोशीले भन्नुभयो, “फागुन ५ गतेसम्म परीक्षा सम्पन्न गर्ने गरेर परीक्षा सुरु गरिएको हो ।”
यसअघि नै जिल्ला प्रशासन कार्यालय डोटीले एक सूचना प्रकाशित गरेर सार्वजनिक स्थानमा धेरै भीडभाड, जमघट तथा मेला महोत्सव नगर्न आग्रह गरेको छ । डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले भन्नुभयो, “कोरोना भाइरसका कारण ज्यान जानेको सङ्ख्या विश्वमा बढिरहेको छ, हामीकहाँ कोरोना भाइरसको सङ्क्रमण देखापर्नु अगाडि नै सजकताको प्रयासका लागि सबैसँग आग्रह गरिएको छ ।”
सधैँका वर्षमा धूमधामसँग मनाइने होली पर्वमा समेत यो वर्ष सुनसानजस्तै भएको छ । कतिपय स्थानमा होली (होरी) पर्वको समापन अझै भएको छैन । होली पर्वका लागि प्रशिद्ध डोटीको पूर्वीचौकी गाउँपालिका १, खिरसैनमा सूचना प्रसारण गरेर होली नहुने भन्ने जानकारी गराइएको थियो । धूमधामका साथ मनाउने तयारी रहेको ११०औँ अन्तर्राष्ट्रिय नारी दिवसका धेरैजसो कार्यक्रमसमेत स्थगित गरिएका थिए ।
परीक्षा चैत ५ गतेभित्रै सकिने
नेपाल सरकारले कक्षा १ देखि ९ सम्मको परीक्षा चैत ५ गतेभित्र गरिसक्न निर्देशन दिएपछि जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ दार्चुलाले सबै विद्यालयलाई परीक्षा समयमै सुरु गर्न परिपत्र गरेको छ ।
दार्चुलाका अधिकांश विद्यालयले परीक्षा सुरु गरिसकेका र बाँकी विद्यालयमा बुधबारदेखि परीक्षा सुरु गरिएको जानकारी प्राप्त भएको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख जयराज पन्तले बताउनुभयो ।
कक्षा १ देखि माध्यमिक तहसम्मका तीन सय ४७ वटै सामुदायिक र निजी विद्यालयमा कक्षा १ देखि ९ सम्मको परीक्षा ५ गतेभित्र सम्पन्न गर्नेगरी तयारी गरिएको एकाइ प्रमुख पन्तले बताउनुभयो ।
लेकम गाउँपालिकाका सबैजसो विद्यालयमा मङ्गलबारदेखि परीक्षा सुरु गरिएको शिक्षा शाखाका स्रोत व्यक्ति मोहनदेव विष्टले जानकारी दिनुभयो ।
चैत ५ गतेभित्र कक्षा १ देखि ९ सम्मको परीक्षा सम्पन्न गरेर ६ गतेदेखि माध्यमिक शिक्षा परीक्षा एसईई सुरु हुने भएको छ । एसईई परीक्षा सञ्चालन गर्नका लागि दार्चुलामा १६ वटा परीक्षा केन्द्र निर्धारण गरेर केन्द्राध्यक्ष नियुक्तिलगायतको तयारी पूरा भएको शिक्षा विकास तथा समन्वय एकाइ दार्चुलाका प्रमुख पन्तले बताउनुभयो ।
डडेल्धुरास्थित विद्यालयहरूको परीक्षा चैत ६ गतेबाट सञ्चालन गर्ने भनिएको भए पनि कोरोना भाइरसका कारण फागुन २७ गतेबाट नै सञ्चालन भएको शिक्षा विकास तथा समन्वय एकाइ डडेल्धुराका प्रमुख रामदत्त भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “डडेल्धुरा जिल्लाका सातवटै स्थानीय तहका सामुदायिक विद्यालयमा कक्षा १ देखि ९ सम्मको परीक्षा सञ्चालन भइसकेको छ ।’
अमरगढी नगरपालिका अन्तर्गत कक्षा ५ र ८ को परीक्षा भने आन्तरिक तयारी नपुगेका कारण सञ्चालन नभएको समेत शिक्षा समन्वय एकाइ डडेल्धुराका प्रमुख भट्टले बताउनुभयो ।
उहाँका अनुसार सामुदायिक विद्यालयमा निर्धारित समयभन्दा अगावै परीक्षा सञ्चालन गर्नुपरेकाले केही विद्यालयको आन्तरिक तयारी नपुगेको देखिन्छ, यद्यपि परीक्षा भने शान्त वातावरणमा नै सञ्चालन भइरहेको छ । केही निजी विद्यालयको पढाइ पूरा नभएको कारण केही ढिला परीक्षा सञ्चालन गर्ने भनेका छन्, सक्दो चाँडो परीक्षा गर्न गराउन मैले प्रयत्न गरिरहेको छु, प्रमुख भट्टले भन्नुभयो ।
विद्यालयमा ठूलो सङ्ख्यामा विद्यार्थी एकै ठाउँमा बसेर पठनपाठन गर्ने भएकाले नेपाल सरकारको निर्देशन अनुसार डडेल्धुराका संस्थागत र सामुदायिक विद्यालयमा तत्काल १ दखि ९ कक्षाको परीक्षा सञ्चालन गर्न समन्वय गरेको जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जगन्नाथ भट्टले बताउनुभयो । ‘डडेल्धुरा जिल्लाका सबै पालिकामा परीक्षा सञ्चालनमा आइसकेको छ, प्रजिअ भट्टले भन्नुभयो । शिक्षा विकास तथा समन्वय एकाइ डडेल्धुराको तथ्याङ्कमा जिल्लाभरि प्राथमिक, आधारभूत र माध्यमिक विद्यालय गरी २४९ वटा विद्यालय रहेका छन् । जसमध्ये अजयमेरु गाउँपालिकामा ३०, आलिताल गाउँपालिकामा ४३, अमरगढी नगरपालिकामा २९, भागेश्वर गाउँपालिकामा ३३, गन्यापधुरा गाउँपालिकामा २४, नवदुर्गा गाउँपालिकामा २८ र परशुराम नगरपालिकामा ६२ वटा विद्यालय रहेको शिक्षा विकास तथा समन्वय एकाइ डडेल्धुराका सूचना अधिकारी केशव जोशीले बताउनुभयो ।
अमरगढीमा परीक्षा सञ्चालन भएन
अमरगढी नगरपालिका अन्तर्गत कक्षा ५ र ८ को परीक्षा सञ्चालन हुनसकेको छैन । कोरोना भाइरसको सङ्क्रमणमा पर्ने आशङ्काका कारण चैत ५ गतेसम्म कक्षा १ देखि ९ को परीक्षा सम्पन्न गरिसक्ने नेपाल सरकारको निर्देशन भए पनि अमरगढी नगरपालिकामा भने कक्षा ५ र ८ को परीक्षा सञ्चालनमा आएको छैन ।
अमरगढी नगरपालिकाका आधारभूत र माध्यमिक विद्यालय गरी १४ वटा विद्यालयका कक्षा ५ र ८ का विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका छन् । कक्षा ५ र ८ को प्रश्नपत्र निर्माणमा ढिलाइ भएकाले तोकिएको समयमा परीक्षा सञ्चालन गर्न नसकेको अमरगढी नगरपालिका शिक्षा शाखा प्रमुख हेमन्त पन्तले बताउनुभयो ।
उहाँका अनुसार कक्षा ५ र ८ को परीक्षा फागुन ३० गतेबाट सञ्चालन हुने जनाइएको छ ।
परीक्षामा सामेल विद्यार्थीलाई मास्क अनिवार्य गरेको बताउँदै शिक्षा शाखा प्रमुख पन्तले भन्नुभयो, “अमरगढी नगरपालिका अन्तर्गतका विद्यालयमा विद्यार्थी सङ्ख्याका आधारमा निःशुल्क रूपमा मास्क वितरण गरिएको छ ।”
(डिलबहादुर सिंह÷लोकेन्द्र जोशी÷हिक्मत सिंहको सहयोगमा)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?