logo
२०८० चैत्र १५ बिहीवार



किस्ता रोकिदा घर निर्माणमा समस्या

समाज |


किस्ता रोकिदा घर निर्माणमा समस्या


अमरराज नहर्की
तनहुँ फागुन १२ गते । समयमै रकम निकासी नुहँदा यहाँ जनता आवास कार्यक्रम अन्तर्गतका घर निमार्ण कार्य प्रभावित बनेको छ । तेस्रो किस्ता रोकिँदा घर निर्माणमा समस्या परेको हो ।

शहरी विकास तथा भवन कार्यालय गोरखाको सहयोगमा तनहुँ जिल्ला भित्रका गरिब र विपन्न वर्गका लागि घर निर्माण कार्य अगाडि बढाइएको भएपनि समयमा नै रकम निकासी नहुँदा समस्या परेको प्राविधिक शङ्कर गैह्रेले बताउनुभयो । चालुआर्थिक वर्षमा तनहुँ जिल्लाभित्र २ सय ८७ वटा घर निर्माण भइरहेको उहाँले जानकारी दिनुभयो ।

तनहुँको व्यास नपामा ४७, शुक्लागण्डकीमा ६०, भिमादमा ३५, भानुमा ३५, म्याग्देमा २२, बन्दिपुरमा १३, आँबुखैरेनीमा १३, देवघाटमा २१ र ऋषिङमा १६ वटा घर निर्माण भइरहेको शहरी विकास तथा भवन कार्यालय गोरखाले जनाएको छ । कुमाल, दरै, बोटे, चेपाङ, गन्धर्व र दलित परिवारको घर निर्माण भइरहेको हो कार्यालयका प्रमुख सुरेश खनालले भन्नुभयो ।

गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयबाट समयमै बजेट निकासा नहुँदा तेस्रो किस्ता वापतको रकम दिन ढिलाई भएको जानकारी उहाँले दिनुभयो । प्राविधिकले गरेको मूल्याङ्कनका आधारमा ४ किस्तामा रकम भुक्तानीे पुरा हुने कार्यालयले जनाएको छ । प्रत्येक घरधुरीलाई शौचालय सहितको २ कोठा पक्की घर निर्माण गर्न ३ लाख ३२ हजार ५ सय रुपैयाँ उपलब्ध गराइन्छ । कार्यालयका अनुसार जग खनेपछि पहिलो किस्ता वापत ८३ हजार १ सय २५, डिपिसी गरेपछि दोस्रो किस्ता वापत ९९ हजार ७ सय ५०, गाह्रोको काम सम्पन्न भएपछि तेस्रो किस्ता वापत १ लाख १६ हजार ३ सय ७५ र अन्तिम किस्ता वापत शौचालय र छानो छाउन ३३ हजार २ सय ५० रुपैयाँ दिने प्रावधान छ । बजेट निकासामा ढिलाई हुँदा तेस्रो किस्ता वापतको रकम दिन नसकिएको हो ।

उक्त किस्ता उपलब्ध हुन नसक्दा बन्दै गरेको घर निर्माण समेत रोकिएका छन । यस वर्ष २ सय ८७ वटा घर निर्माणका लागि ९ करोड ५४ लाख २७ हजार ५ सय रुपैयाँ विनियोजन गरिएको सो कार्यक्रमले जनाएको छ । गत वर्ष तनहुँमा जनता आवास कार्यक्रम अन्तर्गत २ सय १३ वटा घर निर्माण भइ हस्तान्तरण गरिएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?