logo
२०८० चैत्र १६ शुक्रवार



विकट गाउँमा सुविधा सम्पन्न विद्यालय भवन

शिक्षा |


विकट गाउँमा सुविधा सम्पन्न विद्यालय भवन


मधुसुधन तिमल्सिना
कोसीपारि (काभ्रे), फागुन ११ गते । विकट चौँरीदेउराली गाउँपालिका वडा न ६ कात्तिकेदेउरालीको प्रभा नमूना माध्यमिक बिद्यालयले सुविधा सम्पन्न भवनबाट पढाई सुरु गरेको छ ।

कोसीपारि क्षेत्रकै पुरानो उक्त बिद्यालय भूकम्पमा क्षति पुगेको थियो । भूकम्प गएको करिब ५८ महिनापछि सुविधा सम्पन्न भवनबाट पढाई सुरु गरिएको बिद्यालयले जनाएको छ । उक्त बिद्यालयको भवन प्रतिनिधि सभाका सदस्य गंगाबहादुर दोङले शनिवार उद्घाटन गर्नुभएको थियो ।
बिद्यालय व्यस्थापन समितिका अध्यक्ष तेजबहादुर पन्तले नयाँ भवनसँगै अब गुणस्तरीय शिक्षा तर्फ ध्यान केन्द्रीत गरिएको बताउनुभयो । काभ्रे जिल्ला कै विकट यस प्रभा नमुना माविले यस क्षेत्र कै सुविधा सम्पन्न भवन पाएको छ, यसमा हामीलाई गर्व लागेको छ । अब भवन अनुसारको पठनपाठन गर्नुपर्ने हामीमा चुनौती थपिएको छ । उहाँले भन्नुभयो ।

एशियाली विकास बैङ्कको ऋण सहयोगमा केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) ले आठ करोड ४१ लाख ७४ हजार ६०४ रुपियाँको लागतमा चार वटा भवन निर्माण गरिदिएको छ । जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा)का इन्जिनियर शोवित श्रेष्ठले २४ वटा कक्षा कोठा, १० वटा छात्र, छात्राका लागि छात्राबास, एक क्यान्टिन बनेको जानकारी दिनुभयो ।

स्थानीय एव्म प्रभा बहुमुखी क्याम्पसका पूर्व प्रमुख चुडाप्रसाद चौँलागाईले नमुना बिद्यालयसँगै नमुना भवन पनि पाउँदा खुशी लागेको बताउनुभयो । चकटी र गुन्द्रीमा राखेर बिद्यार्थी पढाएको स्मरण गर्नुहुँदै प्रविधिसँगै विकासले फड्को मारेकोमा खुशी लागेको छ, भन्नुभयो ।
उक्त बिद्यालयका पूर्व बिद्यार्थी समाजका महासचिव एवम् गैसस महासंघका केन्द्रीय अध्यक्ष जीतराम लामाले २०४०÷०४१ साल तिर भवन बनाउन बिद्यार्थीले ढुङ्गा र माटो बोकेको स्मरण गर्नुहुँदै कल्पनै गर्न नसकिएको परिर्वतन भएको देख्दा खुशी लागेको छ, भन्नुभयो ।

कार्यक्रममा चौँरीदउराली गाउँपालिका अध्यक्ष दिनानाथ गौतमले गाउँपालिकाभित्र रहेका बिद्यालयमा प्राविधिक बिषय पढाइलाई प्राथमिकता दिन खोजेको छौँ, भन्नुभयो । बिद्यालय भवन निर्माण अन्तिम चरणमाा पुगेका छन, अब हामी बिद्यालयको गुणस्तरीयतासँगै प्राविधिक बिषयको पढाइलाई समेत अगाडि बढाउन लागि परेका छौँ ।

प्रतिनिधिसभा सांसद गंगाबहादुर दोङ र बाग्मती प्रदेश सभाका सदस्य रत्न ढकालले निर्वाचनमा कबुल गरेका प्रतिबद्धता अनुसार आफूहरुले काम गरिरहेको बताउनुभयो । उहाँहरुले सुविधा सम्पन्न भवनसँगै अब सामुदायिक बिद्यालयले गुणस्तरीय शिक्षामा ध्यान केन्द्रीत गर्न सक्नुपर्छ भन्नुभयो ।
भूकम्प आपत्तकालिन बिद्यालय निर्माण सकियो

एशियाली विकास बैङ्क (एडिबी) ले भूकम्प पश्चात तत्काल बिद्यालय निर्माणका लागि काभे्रपलाञ्चोक जिल्लाका १४ बिद्यालय निर्माणका लागि एक अर्ब २९ करोड रुपियाँ सहयोग उपलब्ध गराएको थियो ।  जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) का इन्जिनियर शोवित श्रेष्ठले एडिबीको ऋण सहयोगमा केन्द्रीय आयोजना कार्यान्वयन इकाई मार्फत निर्माण भएका १४ बिद्यालय निर्माण सम्पन्न भएर हस्तान्तर भएको बताउनुभयो । उहाँले भूकम्प आपत्तकालिन परियोजना मार्फत धुलिखेलमा रहेको सञ्जिवनी नमुना माध्यमिक बिद्यालय, प्रभा नमुना माध्यमिक बिद्यालय लगायत अन्य बिद्यालय सम्पन्न भएर हस्तान्तरण भइसकेको बताउनुभयो । १४ माध्यमिक र १० आधारभूत बिद्यालय निर्माण सम्पन्न भएका हुन ।
थप १० बिद्यालय बनाउन ५१ करोड
एडिबी कै ऋण सहयोगमा केन्द्रीय आयोजना कार्यान्वनय इकाई (शिक्षा) ले विपद् व्यवस्थापन बिद्यालय परियोजना मार्फत १० बिद्यालयको निर्माण सुरु गरेको छ । १० बिद्यालय निर्माणका लागि ५१ करोड २४ लाख ३५ हजार रुपियाँ निकासका भएको इन्जिनियर श्रेष्ठले जानकारी दिनुभयो । उक्त परियोजनाले काभे्रका १९ बिद्यालय निर्माण गर्न लागेको छ । १० वटाको निर्माण ७० प्रतिशत पुगेको र नौ वटाको निर्माण कम्पनी छनौट भएको श्रेष्ठले जानकारी दिनुभयो । भारत सरकारको सहयोगमा बन्नका लागेका १० बिद्यालय एक हप्तामा सुरु हुने इकाईले जानकारी दिएको छ । जिल्लाका ५८७ सामुदायिक विद्यालय मध्ये ३५३ पूर्ण र १७४ विद्यालयमा अधिक क्षति पुगेको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?