logo
२०८१ बैशाख १२ बुधवार



अङ्ग्रेजी शिक्षकका लागि रोमनमा प्रश्न

शिक्षा |


अङ्ग्रेजी शिक्षकका लागि रोमनमा प्रश्न


गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ २१ गते । माध्यमिक तहको अङ्ग्रेजी विषयमा रोमनबाट प्रश्न सोधिएको तथ्य फेला परेको छ । काठमाडौँको गौशालास्थित मङ्गलादेवी माध्यमिक विद्यालयले माध्यमिक तहको अङ्ग्रेजी विषयका राहत शिक्षकका लागि लिइएको परीक्षामा रोमनबाट प्रश्न सोधिएको थियो ।
रोमनबाट सोधिएको प्रश्नका आधारमा लिइएको परीक्षालाई मान्यता प्रदान गरिएको छ । त्यसको नतिजाका आधारमा शिक्षकलाई नियुक्तिसमेत गरिएको छ । विद्यालयले माध्यमिक तहको राहत कोटामा शिक्षक रिक्त भएपछि काठमाडौँ महानगरपालिकासँग परीक्षा सञ्चालन गरी शिक्षक नियुक्त गर्न विषयविज्ञ माग गरेको थियो । महानगरपालिकाको शिक्षा विभागले अङ्ग्रेजी विषयमा विद्यावारिधि उपाधि हासिल गर्नुभएका डा. शर्मिला पोखरेललाई विषय विज्ञका रूपमा विद्यालयमा पठाएको थियो । उहाँले ४० अङ्कको वस्तुगततर्फ रोमनमा प्रश्न तयार गर्नुभएको थियो ।
विद्यालयका प्रधानाध्यापक मधुसूदन ढुङ्गेलले महानगरपालिकाको शिक्षा विभागले गरेको सिफारिसका आधारमा विषय विज्ञलाई प्रयोग गरी प्रश्न तयार गरेको बताउँदै भन्नुभयो, “पदपूर्ति समिति गठन गरिएको थियो । महानगरपालिकाका विज्ञले बनाएको प्रश्नलाई मान्यता नदिने भन्ने अवस्था रहेन । परीक्षाको नतिजा सार्वजनिक गरेर शिक्षक छनोटसमेत गरिसकिएको छ ।” अङ्ग्रेजी विषयमा सरिता राई छनोट हुनुभएको छ ।
महानगरपालिकाको शिक्षा विभागका निमित्त प्रमुख तारापति खरेलले विषय विज्ञलाई स्पष्टीकरण सोधिएको बताउँदै भन्नुभयो, “परीक्षार्थीले प्रश्न बुझे । प्रश्नका कारण समस्या भएन । तैपनि आइन्दा यस्तो अवस्था नदोहोरियोस् भनेर सचेत भएका छौँ ।”

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?