logo
२०८१ बैशाख १३ बिहीवार



काभ्रेमा २०४ विद्यालय निर्माण सम्पन्न

शिक्षा |


काभ्रेमा २०४ विद्यालय निर्माण सम्पन्न


मधुसुधन तिमल्सिना

काभ्रे पुस २३ गते । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ(शिक्षा) काभ्रेपलाञ्चोक मार्फत २०४ विद्यालय भवन निर्माण सम्पन्न भएका छन । स्थापना भएको चार बर्षमा २०४ विद्यालय निर्माण सम्पन्न भएर विद्यालयलाई हस्तान्तरण गरेको आयोजनाले जनाएको छ ।

चौथो राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको स्थापना दिवसको अवसरमा जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) ले धुलिखेलमा विद्यालय पुनःनिर्माण सम्बन्धी पुस्तक विमोचन तथा निर्माण कार्य सम्पन्न प्रमाणपत्र वितरण कार्यक्रममा २०४ विद्यालय निर्माण सम्पन्न भइसकेको इकाईका प्रमुख द्धारिका पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्ला आयोजना कार्यान्वयन इकाई मार्फत १७६ र केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) मार्फत निर्माण सम्पन्न भएका २८ विद्यालय निर्माण सम्पन्न भएर हस्तान्तरण भएको छ । यसै क्रममा विद्यालय व्यवस्थापन समिति मार्फत निर्माण सम्पन्न भएका १३३ विद्यालय भवन जिल्ला समन्वय समितिका संयोजक उद्धव केसी, केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) का आयोजना निर्देशक चुडामणि पौडेल, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना लगायतले विद्यालय निर्माण सम्पन्न प्रमाणापत्र हस्तान्तरण गर्नुभएको थियो ।

निर्माण सम्पन्न भएता पनि भौगालिक विकटता, यातायातको असुविधा लगायतका कारण विद्यालयलाई हस्तान्तरण गर्न नसकिएका १३३ विद्यालय भवनको प्रमाणपत्र हस्तान्तरण गरिएको थियो ।जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) का इन्जिनियर शोवित श्रेष्ठले विद्यालय व्यवस्थापन समिति मार्फत २२२ विद्यालय मध्ये १७६ सम्पन्न भएको बताउनुभयो । उहाँका अनुसार आर्थिक बर्ष २०७३/०७४ मा ६८ विद्यालय भवन बनाउन सम्झौता भएकामा ६५ सम्पन्न भएका छन । त्यस्तै आर्थिक बर्ष २०७४/०७५ मा ७० निर्माण गर्ने सम्झौता भएकामा ५८ वटा सम्पन्न भएका छन भने आर्थिक बर्ष ०७५/०७६ मा ८४ विद्यालय भवन निर्माणका लागि सम्झौता भएकोमा ४८ विद्यालय भवन सम्पन्न भएका छन् ।

केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) ले भूकम्पीय आपतकालीन सहायता परियोजना मार्फत निर्माण सुरु गरेका २८ विद्यालय सम्पन्न भएका छन । १४ माध्यमिक र १४ प्राथमिक विद्यालय भवन एसियाली विकास बैङकको ऋण सहयोगमा सम्पन्न भएका थिए । त्यस्तै एडिबी कै ऋण सहयोगमा केन्द्रीय आयोजना कार्यान्वनय इकाई (शिक्षा) ले विपद् व्यवस्थापन विद्यालय परियोजना मार्फत १९ विद्यालयको निर्माण सुरु भएको छ । भारत सरकारको सहयोगमा १० विद्यालय पनि निर्माण सुरु हुन लागेको इकाईले जनाएको छ ।  जिल्लाका ५८७ सामुदायिक विद्यालय मध्ये ३५३ पूर्ण र १७४ विद्यालयमा अधिक क्षति पुगेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?