logo
२०८१ बैशाख ११ मंगलवार



विद्यार्थीले देखाए स्मार्टसिटीका नमूना

शिक्षा |


विद्यार्थीले देखाए स्मार्टसिटीका नमूना



टीकाबहादुर बस्नेत
दाङ, पुस ११ गते । देशभर स्मार्टसिटीको बहस चलिरहँदा दाङका विद्यार्थीले स्मार्टसिटीको नमूना प्रस्तुत गरेका छन् । जिल्लाको तुलसीपुर उपमहानगरपालिकाभित्र रहेका सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीले सिकाई महोत्सवमा स्मार्टसिटीको नमूना प्रस्तुत मात्र गरेनन्–उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेलाई स्मार्टसिटी बनाउन तयार पार्नुपर्ने पूर्वाधारका बारेमा समेत जानकारी गराएका थिए ।

उपमहानगरपालिकाभित्र रहेका विद्यालयले आयोजना गरेको सिकाई महोत्सवको उद्घाटन गर्न पुग्नुभएका उपमहानगरपलिका प्रमुख पाण्डेसामू विद्यार्थीले स्मार्टसिटी, ग्रीनसिटी, ट्राफिक व्यवस्थापनको नमूना प्रस्तुत गरेका थिए । ग्रीनसिटीको अवधारणा प्रस्तुत गर्दै मावि बालापुरका विद्यार्थीले तुलसीपुरलाई ग्रीनसिटी बनाउन सकिने बताएका छन् । तुलसीपुरको भूगोल र मौसम विविध खालको रहेको भन्दै विद्यार्थीले बजार क्षेत्रभित्र विभिन्न मौसममा फुल्ने बोटबिरुवाका साथै तराई, भित्री मधेस र पहाडमा पाइने बा¥हैै महिना हरियाली छर्ने खालका बिरुवाहरु लगाउन सकिने बताएका थिए ।

सिकाई महोत्सवमा मावि रनियापुरका विद्यार्थीले स्मार्टसिटीको अवधारणा प्रस्तुत गरेका थिए । व्यवस्थित सहरीकरण, ट्राफिक व्यवस्थापनलगायतका पूर्वाधार समेटेर विद्यार्थीले स्मार्टसिटीप्रति आफ्नो धारणा उपमहानगरपालिका प्रमुख पाण्डेसामू प्रस्तुत गरेका थिए । उक्त अवसरमा मावि रनियापुरका विद्यार्थीले जलविद्युत र कृषि औजारका बारेमा आफ्ना धारणा उपमहानगरपालिका प्रमुख समक्ष प्रस्तुत गरेका थिए ।

तुलसीपुर उपमहानगरपालिका भित्र रहेका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीले विज्ञान, गणित, विकाससम्बन्धि अवधारणा समेटिएका सामग्री प्रस्तुत गरेका थिए । विद्यार्थीका प्रदर्शनीको अवलोकन गर्दै उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले विद्यार्थीको प्रदर्शनीले आफूलाई प्रेरित गरेको बताउनुभएको थियो ।

सिकाई महोत्सवको उद्घाटन गर्दै राष्ट्रियगानका सर्जक प्रदिपकुमार राई व्याकुल माइलाले सामुदायिक विद्यालयहरु रुपान्तरण हुनुपर्ने बताउनुभयो । समुदायिक विद्यालयको अवस्था अत्यन्तै नाजुक रहेको भन्दै माइलाले परम्परागत शैक्षिक प्रणालीबाट सामुदायिक विद्यालयहरु रुपान्तरित हुनुपर्ने बताउनुभयो । कार्यक्रम मावि बालापुर व्यवस्थापन समितिका अध्यक्ष भीमबहादुर ओलीको अध्यक्षतामा भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?