logo
२०८१ बैशाख १३ बिहीवार



वैज्ञानिक प्रविधियुक्त कफी एकेडेमी सञ्चालनमा

शिक्षा |


वैज्ञानिक प्रविधियुक्त कफी एकेडेमी सञ्चालनमा


चिप्लेढुङ्गा, मङ्सिर २६  गते । कफी क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने र कफी व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ पोखरामा अन्तर्राष्ट्रिय मान्यताप्राप्त वैज्ञानिक प्रविधियुक्त कफी एकेडेमी अफ एक्सलेन्स नेपाल सञ्चालनमा आएको छ ।    
    
एकेडेमीको उद्घाटन कार्यक्रममा आज राष्ट्रिय चिया तथा कफी बोर्ड केन्द्रीय कार्यालयका निमित्त कार्यकारी प्रमुख दीपक खनालले नेपालमा कफीको निकै राम्रो सम्भावना भए पनि यो क्षेत्र व्यापकरूपमा विस्तार हुन नसकेको बताउनुभयो ।    
    
कफीमा आत्मनिर्र्भर भएर विदेश निर्यात गर्नसक्ने सम्भावना प्रशस्त भए पनि यस क्षेत्रप्रति सरोकारवालाको चासो बढ्न नसकेको उहाँको भनाइ थियो । कफीको व्यावसायिकता र कफीका लागि दक्ष जनशक्ति उत्पादन गर्न एकेडेमीले भूमिका खेल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।    
    
कार्यक्रममा जिल्ला कफी व्यवसायी सङ्घका अध्यक्ष एवं कफी कृषक विश्वबन्धु पोखरेलले पछिल्लो समय कफीप्रति धेरै किसानको रुचि बढ्दै गएको भन्दै व्यावसायिकतातर्फ उन्मुख भएको धारणा राख्नुभयो । उहाँले सम्भावना प्रशस्त भएकाले युवालाई समेत कफी कृषितिर आकर्षण गर्नुपर्ने बताउनुभयो ।    
    
एकेडेमीका सञ्चालक एवं कफी व्यवसायी महासङ्घका केन्द्रीय सदस्य सरोज श्रेष्ठले समयको मागअनुसार अन्तर्राष्ट्रिय मान्यताप्राप्त गुणस्तर सेवा प्रदान गर्ने र कृषि पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले एकेडेमी सञ्चालनमा ल्याएको जानकारी दिनुभयो ।    
    
कफी विज्ञ एवं प्राविधिक सल्लाहकार भोलाकुमार श्रेष्ठले नेपालमा उत्पादित कफी अन्तर्राष्ट्रियरूपमा उच्चस्तरको पाइए पनि नेपालमा कफी उत्पादन बढ्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “माग बढी छ तर उत्पादन बढ्न सकेको छैन । हामीले उत्पादन वृद्धि गरेर गुणस्तर कायम गर्न सक्यौँ भने कफीबाटै आत्मनिर्भर बन्छौँ ।”     
    
कार्यक्रममा कफी व्यवसायी महासङ्घका संस्थापक अध्यक्ष ढकेश्वर घिमिरे नेपालमा पछिल्लो समय कफी संस्कृतिको विकास हुँदै गएको बताउनुभयो । अन्तर्राष्ट्रिय परीक्षणले नेपालको कफी विश्व बजारमा समेत उच्चस्तरको मानिएसँगै नेपाली कफीको माग दिन प्रतिदिन बढेको उहाँको भनाइ थियो ।    
    
कफी विज्ञ टोड आर्नेटले नेपाल कफीको उर्वर भूमि भएको बताउनुभयो । सरोकारवालासँग सहकार्य र समन्वयबाट कफी उत्पादन बढाउन सके छिट्टै कफी आयात घट्ने सक्ने उहाँको विश्वास थियो । पछिल्लो तथ्याङ्कअनुसार नेपाली बजारमा वार्षिक एक हजार २६१ मेट्रिक टन कफी आयात भएको छ भने उत्पादन ५१३ मेट्रिक टन मात्रै छ । निर्यात भने झण्डै १०० मेट्रिक टन मात्रै रहेको देखिन्छ ।    
    
महासङ्घका सचिव एवं एकेडेमीका अध्यक्ष सन्तोष पोखरेलले नेपाली बजारमा कफीको माग बढ्दै गएकाले यसलाई व्यावसायिकरूपबाट गति दिन एकेडेमी सञ्चालनमा ल्याएको जानकारी दिनुभयो । उहाँले नेपालमा कफी संस्कृतिको विकास भएकाले अब कफीको जैविक स्वादलाई सहजरूपमा बिकाउन सकिने धारणा राख्नुभयो ।    
    
 उहाँले भन्नुभयो, “हामी अन्तर्राष्ट्रिय जगत्भन्दा पहिला आफ्नै देशमा कफीको स्वादलाई बिकाउन चाहन्छाँै । नेपालमा जुन मात्रामा कफी आयात भएको छ, यसलाई विस्थापन गर्न जैविक कफीको उत्पादन बढाएर जानुपर्छ ।” अमेरिकाको विलियम्सबर्ग एकेडेमीसँगको सम्बन्धन र सहकार्यमा एकेडेमी सञ्चालनमा आएको उहाँले बताउनुभयो ।    
    
 उहाँले कफीको मूल्य शृङ्खलाअनुरूप विभिन्न चरणमा आवश्यक पर्ने नर्सरी, बोटबिरुवा, बगैँचा व्यवस्थापन, उत्पादन, प्रशोधन, बजारीकरण र गुणस्तर प्रमाणीकरण जस्ता कार्यमा आवश्यक पर्ने कार्यलाई सहज र सुलभ ढङ्गले व्यवस्थापन गर्दै तालिम एवं परामर्श एकेडेमीबाट हुने जानकारी दिनुभयो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?