logo
२०८१ बैशाख ८ शनिवार



टकिङ्ग टिचरका नाममा आर्थिक अनियमितता

शिक्षा |


टकिङ्ग टिचरका नाममा आर्थिक अनियमितता


जाजरकोट समाचारदाता
खलङ्गा, कात्तिक २ गते । भेरी नगपालिकाका १३ वटा विद्यालयले खरिद गरेको टकिङ्ग टिचर (शैक्षिक सामग्री आफै बोलेर पढाउने विधि) को परामर्श सेवा शुल्कमा आर्थिक अनियमितता भएको पाइएको छ । विद्यालयबाट परामर्श सेवा शुल्कवापतको १७ लाख ५० हजार बराबर रकम लिएर पनि सेवा नदिएपछि घोटाला भएको देखिएको हो ।
भेरी नगरपालिका लेखापाल डम्बरबहादुर बिष्टका अनुसार छनौटमा परेका ती विद्यालयका लागि टकिङ्ग टिचरका टिटी सेट, बालकक्षा देखि ५ कक्षा सम्मका पुस्तक, स्पीकर, विद्यालयका लागि विद्यार्थी पुस्तक लगाएतका सामग्री उपलब्ध गराउनुको विद्यालयलाई परामर्श सेवा दिने गरी नगरपालिकासंग क्रिएटिभ एडुमेन्मेन्ट वल्र्ड प्रालि भाटभटेनी–४ विशालनगर काठमाडौंले सम्झौता गरेको थियो ।

नगरपालिकाले सम्झौता अनुसारको रकम विद्यालयका खातामा पैसा जम्मा गरिदिएको र विद्यालयको खाताबाट क्रिएटिभ एडुमेन्मेन्ट वल्र्ड प्रालिलाई २३ लाख २३ हजार ४२० रुपियाँ भुक्तानी गरिएको हो । तर उक्त प्रालिले विद्यालयलाई पाँच लाख ७३ हजार ४२० रुपियाँ मूल्य बराबरको टकिङ्ग टिचर सामाग्री उपलब्ध गराएको भए तापनि परामर्श सेवा विनै उक्त शुल्कवापतको १७ लाख ५० हजार रुपियाँ विद्यालयबाट भुक्तानी लिएर अनियमितता गरिएको नगरपालिकाको लेखा समितिले ठहर गरेको छ ।

सम्बन्धित विद्यालयका शिक्षक तथा बिद्यार्थीहरुलाई टकिङ्ग टिचरको सेट प्रयोग गर्न सिकाउनलाई लिइने परामर्श सेवा शुल्क हो तर, सेट प्रयोग गर्न नसिकाएरै प्रालिले भुक्तानी लिएको छ । परामर्श सेवा शुल्कको नाममा प्रालिले टकिङ्ग टिचर सेट प्रयोग गर्न सिकाउनलाई एक जना विद्यार्थी बराबर एक हजार रुपियाँ लिने गरेको छ ।
विद्यार्थीहरुको शिक्षण सिकाई उपलब्धिको प्रतिशतलाई बढाउन नगरपालिकाको अनुदानमा ती विद्यालयले टकिङ्ग टिचरका टिटी सेट, बालविकासदेखि कक्षा ५ सम्मका पुस्तक, स्पीकर, विद्यालयका लागि विद्यार्थी पुस्तक लगाएतका सामग्रीहरु खरिद गरेका थिए ।

खरिद गरेका उक्त सामग्रीहरु प्रयोगमा आउन नसकेपछि हाल विद्यालयका दराजहरुमा थन्किएका छन् । टकिङ्ग टिचरका लागि सम्बन्धित बिद्यालयले शिक्षक छनौट पनि गरिसकेका छन् तर, प्रयोग गर्नलाई छनौट गरिएका शिक्षक, शिक्षिकामा आधारभूत ज्ञान पनि नभएपछि सामग्रीहरु थन्काउन विद्यालयहरु बाध्य भएका हुन् ।

बागेश्वरी प्राथमिक विद्यालय पिपे, जनता प्राथमिक विद्यालय पोखरा, हनुमान प्रावि थाप्ले, भेरी प्रावि गैरीखाली, लक्ष्मी माध्यमिक विद्यालय भेरे, सिमा प्रावि डौरीखोला, शिवशक्ति प्रावि लामाकाटिया, भैरव आधारभुत विद्यालय भुरचौर, दुर्गा प्रावि महतरागाउँ, विश्व प्रावि राताचौर, भगवती मावि कुदु, विजय मावि काफलचौर, मष्टा आधारभूत विद्यालय गिमा गरि नगरपालिकाका १३ वटा बिद्यालयले सो प्रालिबाट टकिङ्ग टिचरका सामग्री खरिद गरेका थिए ।

वडा नं १ का वडा अध्यक्ष दीपक राना संयोजक, वडा नं., ३ का वडा अध्यक्ष लिलाबहादुर शाह र वडा नं. ९ का वडा अध्यक्ष धु्रव पौडेल सदस्य रहेको ३ सदस्य नगरपालिकाको लेखा समितिले नगरपालिकाले खरिद गरेको टकिङ्ग टिचरका सामग्री तथा अन्य प्रक्रियाबारे अध्ययन गरेको थियो ।

क्रिएटिभ एडुमेन्मेन्ट वल्र्ड प्रालिले भेरी नगरपालिका, नलगाड नगरपालिका, शिवालय गाउँपालिका, कुशे गाउँपालिका लगायतका जिल्लाका अधिकांश पालिकाका विद्यालयहरुमा टकिङ्ग टिचरका सामग्री उपलब्ध गराउनुको साथै परामर्श सेवा शुल्कवाफतको रकम भुक्तानी लिइसकेको ति पालिकाले जनाएका छन् । तर काम भने कुनै पनि ठाउँमा सम्झौता अनुसार नगरेको गुनासो पाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?