logo
२०८१ बैशाख ८ शनिवार



शुल्क हैन प्लास्टिक

शिक्षा |


शुल्क हैन प्लास्टिक


भारतमा एउटा यस्तो विद्यालय छ जसले विद्यार्थीलाई शिक्षाका लागि पैसा होइन शुल्कमा प्लास्टिक लिन्छ । विद्यालयको यस कदमबाट सम्पूर्ण नगर नै रूपान्तरित भइरहेको छ । मानव जातिको उत्पत्ति भएयता पहिलोेपटक होला अहिले पृथ्वीमा वातावरणीय प्रदूषणका कारण हरितगृह ग्यासले ठूलो समस्या उत्पन्न गरेको छ । वातावरणीय प्रदूषणमा यत्रतत्र प्लास्टिकको उपस्थिति चुनौतीपूर्ण नै छ ।
भारत, जहाँका विद्यालयहरूमा विद्यार्थीहरू प्रत्येक दिन प्लास्टिकका झोला लिएर पढ्न आउँछन्, त्यहीँ आसामको पामोहीमा अक्षर नामको विद्यालय पनि छ, जसले प्लास्टिकलाई शुल्कका रूपमा लिएर वातावरणीय प्रदूषण कम गर्नमा योगदान गरिरहेको छ ।
विद्यालयका सहसंस्थापक मजिन मुख्तारले आफ्नी श्रीमतीसँगको सल्लाहमा नौलो खालको विद्यालय स्थापना गरेको बताएका छन् । गरिब विद्यार्थीलाई लक्षित गरेर स्थापना गरिएको विद्यालयले दुई महìवपूर्ण कार्य गरिरहेको छ । पहिलो त पढाइको शुल्क पनि तिर्न नसक्ने गरिब बालबालिकाले खेर गएका प्लास्टिक ल्याएर पैसा खर्च नगरी पढ्न पाइरहेका छन् । अर्को कुरा विद्यालयले प्लास्टिक
सङ्कलन गरी वातावरण संरक्षण गरिरहेको छ । सन् २०१६ मा अक्षर फाउन्डेसन स्थापना गरी मजिन र प्रमिता शर्माले विद्यालय शुरु गरेका थिए ।
शुरुमा प्लास्टिक रिसाइकल सेन्टर स्थापना गरिँदा अभिभावकले सहयोग गर्न चाहेनन् तर जब प्लास्टिकलाई विद्यालयको शुल्क भनिएपछि अभिभावक सहयोग गर्न तयार भए । शुल्क मिनाहाका लागि विद्यार्थीले मात्र होइन अभिभावकले पनि प्लास्टिक सङ्कलन गरी विद्यालयमा ल्याउनुपर्छ ।
अक्षर विद्यालय स्थापना गरिनु पहिले त्यहाँका अधिकांश बालबालिका ढुङ्गा खानीमा काम गर्दथे । जहाँ उनीहरू केही आम्दानी गर्दथे । तर उनीहरूले विद्यालय देखेकै थिएनन् । विद्यालय जाँदा कमाइ छुट्ने समस्या थियो । प्लास्टिक
सङ्कलनलाई शुल्कमा परिणत गरिएसँगै सिनियर विद्यार्थीले जुनियरलाई पढाउनुपर्ने नियम विद्यालयले ल्यायो । पढाएबापत खाजा, लुगा र किताब किन्न पुग्ने रकम विद्यालयले दिन थालेपछि ढुङ्गा खानी जानुपर्ने आवश्यकता पनि रहेन ।
अहिले त अक्षरका विद्यार्थी अनलाइन किनमेल पनि गर्छन् । अक्षरले विद्यार्थी र अभिभावकलाई प्लास्टिकबाट वातावरण र मानव स्वास्थ्यमा पुग्ने हानिका बारेमा जानकारी दिने गर्छ । पामोहीका बासिन्दाले पहिले त न्यानो पार्न प्लास्टिक बाल्ने गर्थे तर जब अक्षरले प्लास्टिकको दुष्प्रभावका बारेमा जानकारी दियो उनीहरू स्तब्ध भए ।
२० जना विद्यार्थीबाट शुरु भएको विद्यालयमा हाल ११० विद्यार्थी छन् । त्यहाँका प्रत्येक विद्यार्थीले प्रतिहप्ता करिब २५ पोका प्लास्टिक फोहोर लिएर आउने गर्छन् । अक्षर फाउन्डेसनले सङ्कलित प्लास्टिकबाट वातावरणमैत्री इँटा बनाउने गरेको छ ।


युवामञ्च २०७६ असोज,

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?