logo
२०८१ बैशाख १२ बुधवार



सामुदायिक क्याम्पस सवलीकरणमा प्रदेश सरकार   

शिक्षा |


सामुदायिक क्याम्पस सवलीकरणमा प्रदेश सरकार   


चितवन,भदौ २५ गते ।
प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सामुदायिक क्याम्पस सवलीकरणका लागि प्रदेश सरकारले सहयोग गरिरहेको बताउनुभएको छ । सप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुरले स्थापना गरेको शैक्षिक एफएम तथा टेलिभिजन प्रयोगशालाको आज यहाँ उद्घाटन गर्नुहुदैं मुख्यमन्त्री पौडेलले सरकारले दर्ता मात्रै गर्ने तर नहेर्ने हँुदा सामुदायिक क्याम्पस समस्यामा रहेको बताउनुभयो ।    
    
हेटौँडा क्याम्पस सञ्चालक समितिको २० वर्षे नेतृत्व हालै मात्र छोडेको बताउँदै उहाँले भन्नुभयो,“सरकारले अनुमति दिएर छोड्ने, विद्यार्थीले कम शुल्क तिर्न खोज्ने, प्रध्यापकले त्रिवि सरह तलब खोज्ने र अभिभावकले गुणस्तरीय शिक्षा चाहने हुँदा सामुदायिक क्याम्पस समस्यामा छन् ।” सामुदायिक क्याम्पसमा अवसर र चुनौती दुवै भएको भन्दै उहाँले प्रदेश सरकारले सामुदायिक क्याम्पस र विद्यालयलाई सवलीकरण गर्ने नीति अघि बढाएको बताउनुभयो ।    
    
प्रयोगशाला स्थापनाका लागि प्रदेश सरकारले रु २० लाख सहयोग गरेको छ । आउँदा दिनमा पनि आवश्यकता अनुसार सहयोग गरिने उहाँले आश्वासन दिनुभयो । कार्यक्रममा क्याम्पस प्रमुख मणिराज महतोले विसं २०४५ मा स्थापना भएको क्याम्पसमा हाल तीन हजार विद्यार्थी अध्ययनरत रहेको बताउनुभयो ।    
    
प्रयोगशाला निर्माणका लागि प्रदेश सरकारले उपलब्ध गराएको रकममा क्याम्पसले रु पाँच लाख थप गरेको उहाँले बताउनुभयो ।    
पत्रकारिता विषयका उपप्रध्याक मधुसुधन दवाडीका अनुसार सो क्याम्पसको कक्षा ११ र १२ तथा स्नातक तहमा दुई सय विद्यार्थी अध्ययनरत रहेका छन् । प्रयोगशाला निर्माणसँगै विद्यार्थीलाई अध्ययनमा सहयोग पुग्ने दवाडीले बताउनुभयो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?