logo
२०८१ बैशाख ७ शुक्रवार



शारदा खोलामा पक्की मोटरेबल पुल निर्माण

अर्थ |
प्रदेश |


शारदा खोलामा पक्की मोटरेबल पुल निर्माण


प्रतीक इच्छुक शर्मा
सल्यान, फागुन ५ गते । शारदा नगरपालिका १ शान्तिनगरबाट वडा १२ रेशमज्युला जोड्ने पक्की मोटरेवल पुल सञ्चालनमा आएको छ । शारदा नगरपालिकाको भ्याटसहित ४ करोड ५५ लाख रुपियाँको लागतमा पुल निर्माण सम्पन्न भएको हो । जुद्ध एन्ड पूर्ण निर्माण सेवा दाङले पुल निर्माणको ठेक्का लिएको थियो ।

२०७५ माघ २० गते निर्माण सम्झौता भएको पुल २०७८ जेठ २० गतेभित्र पुरा गरिसक्नुपर्ने भएपनि निर्माण कम्पनीले ६ महिनाको म्याद थप गरेर निर्माण सम्पन्न गरेको हो । पुलको लम्बाई ५० मिटर र चौडाई ८ मिटर रहेको छ ।

पुल बनेसँगै शारदा नगरपालिका १ श्रीनगरबाट वडा १२ र १३ का नागरिकलाई प्रत्यक्ष रुपमा सुविधा हुने भएको छ । वडा १२ का वडा अध्यक्ष दिपककुमार हमालले पक्की पुल बनेसँगै शारदा नगरपालिकाका साथैै छत्रेश्वरी गाउँपालिका वडा ५, २, १, मोख्ला र रोल्पाको झ्यामसम्म सहज हुने बताउनुभयो ।

स्थानीय मनोज स्वर्णकारले पुल सञ्चालनमा आएपछि स्थानीयवासीलाई आवत–जावत साथै दैनिक उपभोग्य वस्तु ढुवानीमा सहज हुने बताउनुभयो । पुल नहुँदा वर्षातको समयमा आवतजावत गर्न गाह्रो भएसँगै दैनिक उपभोग्यवस्तु तथा निर्माण सामग्री ढुवानीमा समस्या हुनेगरेको थियो ।

शारदा नगरपालिकाका नगर प्रमुख सुरेश अधिकारीले पुल निर्माण नगरपालिकाको गौरवको आयोजना भएको र निर्धारित समयमा नै सम्पन्न भएको बताउनुभयो । उहाँकाअनुसार जनताको माग र आवश्यकतालाई मध्यनजर गरी पुल निर्माण गरिएको हो । शारदा नगरपालिकाभित्र भएर वग्ने शारदा खोलामा चालु आर्थिक वर्षमा २ वटा पक्की पुल निर्माण भएका छन् । वडा नम्वर ६ र १४ जोड्ने बरला र शारदा नगरपालिका १ श्रीनगरबाट १२ नम्बर रेशम जिउला जोड्ने सडक निर्माण भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?