logo
२०८० चैत्र १६ शुक्रवार



तनहुँमा अदालतको अत्यावश्यक सेवा बाहेक बन्द

खुला |
प्रदेश |


तनहुँमा अदालतको अत्यावश्यक सेवा बाहेक बन्द


अमरराज नहर्की
तनहुँ, माघ १४ गते । कोरोना सङ्क्रमण बढेपछि तनहुँ जिल्ला अदालतले अत्यावश्यक बाहेक अन्य सेवा बन्द गरेको छ । माघ १३ देखि २८ गतेसम्म १५ दिनका लागि सेवा बन्द गरिएको अदालतले जनाएको छ ।

अदालतका जिल्ला न्यायाधीशलगायत ११ जना कर्मचारीमा कोरोना पोजेटिभ भएको र केही कर्मचारी यसअघि नै कोरोना सङ्क्रमित घरमै आइसोलेशनमा रहेको अवस्थालाई समेतलाई दृष्टिगत गरी अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गर्नुपरेको अदातलका शाखा अधिकृत हरिश्चन्द्र गौतमद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

म्याद थप, पक्राउ पूर्जी, कल डिटेलको अनुमति र जरुरी पक्राउ पूर्जीको समर्थन गर्ने, अभियोगपत्र दर्ता गर्ने, अभियोगपत्रसाथ पेश भएका अभियुक्तको बयान लिने, थुनछेक आदेश गर्नेजस्ता सेवा प्रदान गरिने अदालतले जनाएको छ ।

त्यसैगरी, बन्दी प्रत्यक्षीकरण सम्बन्धी निवेदन दर्ता गर्ने र त्यसउपर सुनुवाइ गर्ने, प्रहरीद्वारा पक्राउ परी आएका फरार प्रतिवादीको बयान लिने तथा थुनछेक गरिने जनाइएको छ । त्यस्तै, फौजदारी कार्यविधि संहिता २०४४ को दफा १५५ बमोजिमका निवेदन लिने र त्यसउपर सुनुवाइ गर्ने, मिलापत्र, मुद्दा फिर्ता, डिसमिस तथा तामेलीसम्बन्धी काम कारवाही गर्नेलगायतका सेवा प्रवाह गरिने विज्ञप्तिमा उल्लेख छ ।

साथै अदालतबाट हुने कामकारबाही तथा सेवा प्रवाह स्थगन भएका अवधिमा मुद्दा रिट तथा निवेदनमा रहेको म्याद तथा तारेख नगुज्रने पनि सूचनामा जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?