logo
२०८० चैत्र १६ शुक्रवार

    विकास निर्माणमा बन्यजन्तुप्रतिकाे सम्बेदनशीलता अभाव  



साढे तीन वर्षमा चितवनमा मात्रै ३० वन्यजन्तु भवितव्यमा मारिए

पढ्नै पर्ने |
राष्ट्रिय |
प्रदेश |


साढे तीन वर्षमा चितवनमा मात्रै ३० वन्यजन्तु भवितव्यमा मारिए


वसन्त पराजुली
भरतपुर माघ १४ गते । चुरे र महाभारत वन क्षेत्रको बीच वन्यजन्तु ओहोर दोहोर गर्ने करिडोर बरण्डाभार वनक्षेत्रमा खनिएको नालीमा परी गत आइतवार एक वयस्क गैँडा म¥यो । पूर्व पश्चिम राजमार्ग विस्तारसगैँ नाली निर्माणका लागि खनिएको खाल्टोमा परेको गैँडा रड गडेर मरेकोे थियो ।
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा यसरी असवधानीका कारण गैँडा मरेको यो पहिलो भने हैन । गत वर्षको चैत १० गते निकुञ्जको मुख्य कार्यालय कसरासगैँ रहेको जगतपुरमा अवस्थित टाइगर ल्याण्ड सफारी रिसोर्टको स्याफ्टी ट्याङ्कीमा परेर गैँडा मर्यो । झण्डै ३० वर्षको वयस्क पोथी गैँडा कमजोर ढकन फुटेर ट्याङ्कीबाट खस्दा ज्यान गुमाउन पुगेको हो ।
यस अघि २०७४ माघमा सौराहाको एक होटलमा सेफ्टी ट्याङ्कीमा परेको गैँडाको भने सकुशल उद्धार गरिएको थियो ।
माथिका केही प्रतिनिधि घटना मात्रै हुन् । चितवन राष्ट्रिय निकुञ्ज र यसको मध्यवर्ति क्षेत्रमा हुँदै गरेको भौतिक निर्माण वन्यजन्तु मैत्री नहुँदा यस्ता अप्रिय घटना हुने गरेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बताउनुभयो ।


“विकास निर्माण आजको आवश्यकता हो तर यसरी संरचना बनाउँदा वन्यजन्तु मैत्री नहुदा समस्या हुने गरेको छ”, उहाँले गोरखापत्रसँग भन्नुभयो, “हेर्नुस् न राजमार्ग विस्तारका क्रमममा खनिएको नाली समयमा नपुरिदा दुर्लभ वन्यजन्तु गैँडा गुमाउनुपर्यो । यो हदसम्मको लार्पवाही कहिलेसम्म सहिरहने ?”
सडक विस्तार गर्दा गर्नुपर्ने आवश्यक मापदण्ड र प्रक्रिया पूरा नगरी सडक विस्तारको काम हुदा भवितव्यमा गैँडा मरेको उहाँको आरोप छ । यस घटनाको अनुसन्धान गर्न सरकारले वन तथा भूसंरक्षण विभागका उपमहानिर्देशक डा. राजेन्द्र केसीको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल बनाएको छ । कार्यदलका सदस्य रहनुभएका आचार्य सडक विस्तारका क्रममा वातावरणीय प्रभाव मूल्याङ्कन हेरेर मात्रै काम गरेको भए यस्तो दुःखद घटना नहुने तर्क गर्नुहुन्छ ।
चितवन राष्ट्रिय निकुञ्ज र यस वरपरका वनक्षेत्रमा मात्रै विगत साढे तीन वर्ष यता ३६ वटा वन्यजन्तु तथा सरिसृपहरु यस्तै घटनामा परेर मरेका तथ्याङ्क निकुञ्जसँग छ । निकुञ्जका प्रवक्ता गणेश तिवारीका अनुसार यसरी आकस्मिक घटनामा परेर मर्नेमा सबैभन्दा बढी चित्तल छन् । त्यसपछि जरायो र गैँडा चार÷चार छन् सबैभन्दा कम चितुवा एक छ ।
“मानवीय लापर्वाहीका कारण गैँडा, चितुवा जस्ता दुर्लभ वन्यजन्तुले अकालमै ज्यान फाल्नुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो ।

नेपालको कानुनले बाघ, गैँडा जस्ता दुर्लभ वन्यजन्तुलाई मानवीय लापर्वाहीका कारण मृत्यु भएमा दोषीलाई कारवाही गर्ने कानुन छ तर त्यो त्यति प्रभावकारी देखिँदैन ।
टाइगर ल्याण्ड सफारी रिसोर्टको स्याफ्टी ट्याङ्कीमा परेर मरेको गैँडाका सम्वन्धमा निकुञ्जले अनुसन्धान गरि रिसोर्ट सम्बद्ध छ जना विरुद्ध ग वर्षको चैत २६ गते चितवन जिल्ला अदालतमा मुद्दा दायर गर्यो । निकुञ्जले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनको दफा २६ १ अनुसार कसुर गरेको दाबी गर्दै ऐनको दफा ५ को (क) र (छ) अनुसार कारवाहीको माग गर्दै सो मुद्दा दायर भएको थियो तर भोलिपल्टै उनीहरुलाई अदालतले १० लाख रुपियाँ धरौटीमा छाड्यो । कतिपय विद्युतीय धरापमा परेर वन्यजन्तु मरेका हकमा भने दोषी कारवाहीमा परेका पनि प्रवक्ता तिवारीले बताउनुभयो ।
“चितवनको भरतपुर महानगर पालिका वडा नम्वर १६ स्थित नारायणी नदी किनारमा गत मङ्सिर २७ गते बिहानै मृत अवस्थामा भेटिएको गैँडा अनुसन्धान गर्दा विद्युतीय धराममा परेर मरेको पुष्टि भएपछि दोषीमाथि अनुसन्धान गरी कारवाही भैरहेको छ”, उहाँले भन्नुभयो ।
उसो त निकुञ्ज र मध्यवर्ती क्षेत्र भएर कुनै पनि विकास निर्माणको काम गर्दा निकुञ्जको सहमति लिनुपर्छ । तर राजमार्गमा बन्दै गरेको सडक होस् वा अन्य विकासका काममा कमै मात्रै अनुमति लिएको पाइन्छ । माडीमा अहिले बन्दै गरेको हुलाकी सडक र त्यसमा पर्ने १३ वटा पुलमध्ये अधिकाशंको वातवरणीय प्रभाव मूल्याङ्कन हुनसकेको छैन ।
चितवन राष्ट्रिय निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत अणनाथ वराल स्थानीय सरकार नै वन्यजन्तु मैत्री नहँुदा समस्या भएको तर्क गर्नुहुन्छ । तर माडि नगरपालिका प्रमुख ठाकुर ढकाल भने माडीमा बन्दै गरेको १३ मध्ये ६ पुलकको वातवरणीय प्रभाव मूल्याङ्कन भएको र अन्यको हुने प्रक्रियामा रहेको बताउनुहुन्छ ।
“स्थानीय सरकार संरक्षण र विकाससगैँ बढाउन चाहन्छ तर निकुञ्ज पनि विकास विरोधी जस्तो देखिन हुँदैन”, उहाँको तर्क छ ।

 पूर्व पश्चिम राजमार्ग अन्तर्गत वरण्डाभार क्षेत्रमा राजमार्ग विस्तारका क्रमममा खनिएको नालीमा परी मरेको गैँडाकाे शव निकालिँदै ।


वन्यजन्तुको संरक्षणमा लामो समयदेखि लागेका संरक्षणकर्मीहरु भने विकास भन्दा संरक्षण नै ठूलो ठान्छन् । त्यसकालागि निकुञ्ज वरपर भौतिक संरचना निर्माण गर्दा लापरबाही हुन नहुने निकुञ्जका पशु चिकित्सक डा. विजयकुमार श्रेष्ठको भनाइ छ ।
“निकुञ्ज वरपर वन्यजन्तु ओहोरदोहोर गर्ने ठाउँमा सडक निर्माण होस वा नाली वा होटल निर्माण गर्दा कमसे कम वन्यजन्तु मैत्री बनाउने गरी वातावरणीय प्रभाव मूल्याङ्कन गरिए वन्यजन्तुको क्षति कम गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।
वन्यजन्तु ओहोरदोहोर गर्नुपर्ने क्षेत्रमा अण्डरपास (सडकमुनिबाट वन्यजन्तु हिँड्ने बाटो) र ओभरपास (सडक माथिबाट वन्यजन्तु हिड्ने बाटो) को व्यवस्था गर्न सके मात्रै पनि वन्यजन्तुको संरक्षण गर्न सकिने उहाँको तर्क छ । पूर्व प्रमुख संरक्षण अधिकृत बराल भन्नुहुन्छ “विगतमा वातवरण प्रभाव मूल्याङ्कन नभएका र निकुञ्जले सहमति नदिँदा वीरगञ्ज त्रिवेणी सडक, मलेखु, भण्डारा ठोरी सडक, निकुञ्ज हुँदै रेलमार्ग निर्माण, त्रिवेणी र गोलाघाटमा पुल बनाउने काम रोकिएको सर्वविदितै छ । अब पनि वन्यजन्तु मैत्री नबनेका विकास निर्माण यसरी नै रोक्नैपर्छ ।”

यो पनि हेर्नुहोस्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?