logo
२०८१ बैशाख ८ शनिवार



विश्व अर्थतन्त्र खस्कने

अर्थ |


विश्व अर्थतन्त्र खस्कने


गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ १३ गते। कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनले विश्वलाई आक्रान्त बनाउन थालेपछि विश्व अर्थतन्त्र अपेक्षितभन्दा अझ कमजोर हुने प्रक्षेपण गर्न थालिएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोषले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार ओमिक्रोनका कारण अन्तर्राष्ट्रिय तथा देशभित्रको आवतजावतमा प्रतिबन्ध लागेको, ऊर्जाको मूल्य बढेको, आपूर्ति शृङ्खलामा अवरोध सिर्जना भएकाले विश्वको आर्थिक वृद्धिदर पूर्वानुमानभन्दा घट्ने र मुद्रास्फीति बढ्ने प्रक्षेपण कोषले गरेको हो।

त्यस्तै चीनको रियलस्टेट क्षेत्रको गिरावट र निजी क्षेत्रको उपभोगमा देखिएको सुस्तताका कारण पनि अर्थतन्त्रको वृद्धिदरलाई सीमित गरिदिने मुद्रा कोषले जनाएको छ। कोषको नियमित प्रकाशन वल्र्ड इकोनोमिक आउटलुकका अनुसार आर्थिक वृद्धिदर सन् २०२१ मा ५.९ प्रतिशतबाट सन् २०२२ मा ४.४ प्रतिशतमा झर्ने अनुमान गरिएको छ। दुई ठूला अर्थतन्त्र भएका मुलुकको बजार खस्कँदा आगामी अक्टोबरमा त्योभन्दा पनि आधा प्रतिशत हुने बताइएको छ। त्यस्तै सन् २०२३ मा ३.८ प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ।

त्यस्तै विकसित देशको मुद्रस्फीति औसतमा ३.९ प्रतिशतसम्म हुँदा कम आय भएका मुलुकको मुद्रास्फीति ५.९ प्रतिशतसम्म हुने अध्ययनले देखाएको छ। त्यस्तै पेट्रोलियम पदार्थमा १२ प्रतिशत र प्राकृतिक ग्यासको मूल्यमा ५८ प्रतिशतसम्मको वृद्धि हुन सक्ने अध्ययनले देखाएको छ। त्यस्तै खाद्य पदार्थको मूल्यमा ४.५ प्रतिशतसम्मको हुनसक्ने अध्ययनले देखाएको छ। सन् २०२२ र २०२३ मा विश्व व्यापार भने मध्यम अवस्थामा रहने देखिएको छ।
सन् २०२२ को अन्त्यसम्ममा विश्वका धेरै देशको स्वास्थ्य अवस्था अझ खस्कने अनुमानका आधारमा यो प्रक्षेपण गरिएको कोषले जनाएको छ तर विश्वभर कोभिडविरुद्धको खोपको दरमा सुधार हँुदा र अन्य उपचार पद्धति प्रभावकारी भएमा यो अवस्थामा सुधार आउन सक्ने पनि बताइएको छ।

कोभिडको नयाँ भेरियन्ट आइरहँदा महामारीको अवस्था लम्बिरहँदा अर्थतन्त्रमा पनि नयाँ अवरोध सिर्जना हुन सक्छन्। योभन्दा बढी आपूर्तिमा अवरोध, ऊर्जाको मूल्य अस्थिर हुने, ज्यालामा दबाबजस्ता विषयले मुद्रास्फीति बढाउन सक्ने अनुमान गरिएको छ। राम्रा अर्थतन्त्र भएका मुलुकको नीतिगत विषयले उदयमान र विकासशील मुलुकको पुँजी प्रवाह, वित्तीय स्थिति र मुद्राको स्थायित्वमा जोखिम पु-याउन सक्ने अनुमान गरिएको छ। विशेष गरी विगत दुई वर्षदेखि हुँदै आएको ऋणको अवस्थामा बढ्न सक्छ। अन्य विश्वमा देखिने जोखिमा यस्तो अवस्थाले भौगोलिक रूपमा तनावको अवस्थालाई उच्च बनाउँछ। महामारीले निरन्तर रूपमा प्रभाव फैलाइरहँदा पहिलेको भन्दा थप प्रभावकारी रूपमा स्वस्थ्यका रणनीति अवलम्बनमा जोड दिनुपर्ने सुझाव मुद्रा कोषको रहेको छ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?