logo
२०८० चैत्र १६ शुक्रवार



सरकारी चिया बगान अतिक्रमणको विरोध

अर्थ |


सरकारी चिया बगान अतिक्रमणको विरोध


प्रेम अधिकारी

पशुपतिनगर (इलाम), माघ १३ गते। इलामको सूर्योदय नगरपालिकाको कन्याममा नेपाल चिया विकास निगमको जमिन अतिक्रमणविरुद्ध स्थानीय युवा प्रतिकारमा उत्रिएका छन्। स्थानीय सरकार र व्यक्तिले संरचना निर्माण गर्दा सरकारी चिया बगान अतिक्रमण बढेको भन्दै स्थानीय युवाले खबरदारी गरेका हुन्। पछिल्लो समय सडक निर्माणदेखि विभिन्न संरचना निर्माण गर्दा चिया विकास निगमको जमिन अतिक्रमण हुने गरेको हो।

सूर्योदय नगरपालिका–७ को कन्याममा केही दिनअघि केही व्यक्तिले आफ्नो जग्गामा जाने सडक निर्माण गर्दा निगमको जमिन अतिक्रमण भएको थियो। कन्याममा विनिता नेपाल, दीपक नेपाल, प्रकाश नेपाल र जीवन नेपालको नाममा रहेको १३२ रोपनी जग्गा रहेको छ। नेपाल परिवारको उक्त जमिनमा होटललगायतका संरचना निर्माणको काम भइरहेको छ।

उक्त सडक निर्माण गर्दा नेपाल परिवारले बगानको जमिन अतिक्रमण गरेको स्थानीय युवा अभिषेक पौडेलले आरोप लगाउनुभयो। पौडेलले सूर्योदय नगरपालिका–६ का वडाध्यक्ष शिवकुमार बस्नेतले पनि अतिक्रमण गरेर बाटो खनाएको आरोप लगाउनुभयो।

जग्गाधनी जीवन नेपालले तल्लो गुप्ती गाउँ जाने सडकको समेत माग भएकाले सडक निर्माण गरिएको बताउनुभयो। उहाँले बगानको बिर्तामोडमा रहेको व्यवस्थापन कार्यालयमा समन्वय गरेर सडक निर्माण गरिएको दाबी गर्नुभयो तर कन्याम चिया बगानका व्यवस्थापक सचिन सुब्बाले भने आफूहरूलाई कुनै जानकारीबिनै सडक निर्माण गरिएको बताउनुभयो।

उहाले सडक खन्न थालेपछि एक पटक बार लगाएर रोक्दा पनि राति डोजर लगाएर सडक निर्माण गरेको बताउनुभयो। व्यवस्थापक सुब्बाले भन्नुभयो, “चियाको उत्पादन वृद्धिमा हामी काम गर्नै पाउँदैनाँै, कसले कता बगान खन्यो भनेर हेर्दै ठिक्क हुन्छ। ” सुब्बाले सूर्योदय नगरपालिकाको आडमा स्थानीयवासीले जथाभावी चिया बगानको जमिन अतिक्रमण गरेर संरचना बनाउने क्रम बढेको बताउनुभयो। २० फुटको सडक निर्माण गर्दा १२ फिट बगानकै परेको छ।

वडा नं. ६ का वडाध्यक्ष शिवकुमार बस्नेतले व्यक्तिको जमिनमा जाने बाटो स्वयं जग्गाधनीले खनेकाले आफ्नो कुनै संलग्नता नरहेको बताउनुभयो। वडा नं. ७ का वडाध्यक्ष लेखनाथ खड्काले उक्त सडक खन्न नगरपालिकासँग कुनै समन्वय नभएको जानकारी दिँदै जसले सडक खने पनि सार्वजनिक सम्पत्ति नष्ट गर्ने काम गर्न नहुने बताउनुभयो। माथिल्लो भागमा सडक र अन्य संरचना निर्माण गर्न जमिन खन्दा तल थालिएपछि गुप्ती गाउँ जोखिममा परेको स्थानीयवासीले बताएका छन्।

सूर्योदयका युवाले उक्त सडक निर्माण रोक्न माग गर्दै नगरप्रमुख रणबहादुर राईलाई ज्ञापनपत्रसमेत बुझाएका छन्। नगरप्रमुख राईले उक्त विषयमा छानबिन गरिने जानकारी दिनुभयो। यसअघि समेत कन्याम क्षेत्रमा केही संरचना बगानको जमिनमा निर्माण गरिएको भए पनि कसैले विरोध जनाएका थिएनन्। बगानकै जमिनमा होटल, रेस्टुराँ, शौचालयलगायतका संरचना निर्माण गरिएको छ।

२०५४ सालमा गरिएको निजीकरणअन्तर्गत ५० वर्षका लागि कन्यामसहित इलाम र झापाका सातवटा चिया बगान भारतको त्रिवेणी सङ्घाई गु्रपलाई लिजमा दिएको थियो। सङ्घाई समूहले सरकारलाई तिर्नुपर्ने करसमेत नतिरेको भन्दै स्थानीय तहले सम्झौता भङ्ग गरी स्थानीय सरकारको मातहतमा चिया बगान ल्याउन माग गर्दै आएका छन्। कन्याममा मात्र चिया बगानको करिब २० हेक्टर जमिन रहेको छ। चौतर्फी बगान अतिक्रमण हुन थालेपछि चियाको उत्पादनसमेत घट्दै गएको बगान व्यवस्थापन पक्षले जनाएको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?