logo
२०८१ बैशाख १३ बिहीवार



स्थिरीकरण कोषबाट तेलको भुक्तानी

अर्थ |


स्थिरीकरण कोषबाट तेलको भुक्तानी


काठमाडौँ, माघ १२ गते । निरन्तर घाटा बेहोरिरहेको नेपाल आयल निगमले मूल्य स्थिरीकरण कोषबाट पनि रकम निकासा सुरु गरेको छ । सञ्चित बचत, कर्मचारी आवासबापतको रकम र बोनसबापत जम्मा भएको रकम निकासा गरिसकेपछि स्थिरीकरण कोषको रकम पनि निकासा सुरु गरेको हो ।

बचत शून्यमा झरेपछि निगमले स्थिरीकरण कोषको एक अर्ब ८० करोड रुपियाँ निकासा गरेर सोमबार इन्डियन आयल कर्पोरेसनलाई जनवरीको १३ अर्ब २० करोड रुपियाँ भुक्तानी गरेको हो । कोषमा अब छ अर्ब २० करोड रुपियाँ बचत रहेको निगमले जनाएको छ ।
यसअघि निगमले सञ्चित बचतमा रहेको १९ अर्ब ५१ करोड, बोनस खातामा सञ्चित करिब तीन अर्ब ५० करोड र कर्मचारी आवासको करिब तीन अर्ब ५० करोड रुपियाँ निकासा गरी खर्च गरिसकेको छ ।

निगमले मूल्य स्थिरीकरण कोषबाट एक अर्ब ८० करोड रुपियाँ लिएर जनवरीको दोस्रो किस्ताबापतको रकम इन्डियन आयल कर्पोरेसनलाई भुक्तानी गरेको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो । हाल निगमले १५ दिनमा एक अर्ब ८८ करोड रुपियाँ घाटा बेहोरिरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिव्यारेल ९० अमेरिकी डलर पुगेको छ । आठ महिनाअघि प्रतिव्यारेल ७० डलर थियो । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य निरन्तर बढेपछि निगमको घाटा बढेको हो । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १० रुपियाँ घाटा छ, जसको १५ दिनको घाटा ३४ करोड ८१ लाख हुन्छ । डिजेल प्रतिलिटर छ रुपियाँ ३३ पैसा घाटा छ । १५ दिनमा ५७ करोड ४३ लाख रुपियाँ घाटा पुग्छ । मट्टीतेलमा प्रतिलिटर २२ रुपियाँ ३४ पैसा नाफा छ । १५ दिनको नाफा करिब दुई करोड रुपियाँ छ ।

त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फ नौ रुपियाँ ६२ पैसा प्रतिलिटर नाफा छ । १५ दिनको नाफा करिब दुई करोड ६१ लाख रुपियाँ छ । हवाई इन्धन बाह्यतर्फ प्रतिलिटर २९ रुपियाँ नाफा हुन्छ । १५ दिनको नाफा १३ करोड ७९ लाख रुपियाँ छ । एलपी ग्यासमा प्रतिसिलिन्डर ६४६ रुपियाँ घाटा छ । १५ दिनको घाटा एक अर्ब १४ करोड ८६ लाख रुपियाँ छ । आगामी महिनाको भुक्तानी कसरी गर्ने हो, यसै भन्न नसकिने अवस्था नरहेको प्रवक्ता उपाध्यायको भनाइ छ । निगमले प्रत्येक अङ्ग्रेजी महिनाको ८ र २३ तारिखमा इन्डियन आयल कर्पोरेसनलाई पेट्रोलियम पदार्थ खरिद गरेबापतको रकम भुक्तानी गर्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?