logo
२०८१ बैशाख ८ शनिवार



टेलिकमले ल्यायो नमस्ते वाइफाई

अर्थ |
बिज्ञान |


टेलिकमले ल्यायो नमस्ते वाइफाई


गोरखापत्र समाचारदाता 

काठमाडौँ, माघ ७ गते । फाइबर इन्टरनेट पहुँच नरहेका स्थानलाई लक्षित गर्दै नेपाल टेलिकमले फोरजी एलटीई नमस्ते वाइफाई प्याकेज ल्याएको छ । उच्च गतिको डेटा र भ्वाइस सेवालाई व्यापक बनाउन कम्पनीले यो सेवा सुरु गरेको जनाएको छ ।   यो सेवा उपयोगका लागि छुट्टै डिभाइस भने प्रयोग गर्नुपर्ने हुन्छ । त्यस्तो डिभाइस उपलब्ध गराउन कम्पनीले बुधबार साइबरनेटिक्स प्रालिसँग सम्झौता पनि गरेको छ ।  

टेलिकमले अहिले व्यक्तिगत र सरकारी संस्था गरी दुई प्रकारका नमस्ते वाइफाई प्याकेज उपलब्ध गराएको छ । व्यक्तिगत प्याकेजअन्तर्गत न्यूनतम ८०० रुपियाँमा मासिक ६० जीबी डेटा प्रयोग गर्न सकिनेछ । यही प्याकेज एक वर्षका लागि भने नौ हजार रुपियाँमा खरिद गर्न सकिनेछ । यसमा ग्राहकले ७२० जीबी डेटा प्राप्त गर्ने र त्यसलाई प्रत्येक महिना ६० जीबीको दरले प्रयोग गर्नुपर्ने कम्पनीले जनाएको छ । यी दुवैमा एड अन प्याकका रूपमा ४०० रुपियाँमा १५ दिनका लागि ६० जीबी प्याक लिन सकिने सुविधा पनि कम्पनीले उपलब्ध गराएको छ । यही प्याकेज कम्पनीले प्रिमियमअन्तर्गत पनि उपलब्ध गराएको छ जुन मासिक एक हजार २०० रुपियाँ पर्छ ।  

सरकारी संस्थाका लागि कम्पनीले तीन हजार ६५० र दुई हजार १०० रुपियाँमा एक महिनाका लागि प्याकेज उपलब्ध रहेको कम्पनीले जनाएको छ । यो सेवा प्रयोग गर्न ग्राहकले छुट्टै डिभाइस भने खरिद गर्नुपर्ने कम्पनीका प्रमुख व्यावसायिक अधिकृत सङ्गीता पहाडीले जानकारी दिनुभयो । त्यसरी खरिद गरिएको डिभाइसमा टेलिकमको सिम प्रयोग गरिने र त्यसैबाट प्राप्त हुने ब्रोडब्यान्ड सिग्नलमार्फत इन्टरनेट प्रयोग गर्न सकिने उहाँले बताउनुभयो ।  

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?