logo
२०८० चैत्र १६ शुक्रवार



अपाङ्गता भएका गर्बुजालाई घरमै नागरिकता प्रमाणपत्र

खुला |
प्रदेश |


अपाङ्गता भएका गर्बुजालाई घरमै नागरिकता प्रमाणपत्र


अमृतप्रसाद पौडेल
बेनी, माघ ५ गते । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ७, हिस्तान औलका सुकलाल गर्बुजा पछिल्लो ४९ वर्षदेखि विस्ताराबाट उठ्नुभएको छैन । जन्मजात रुपमा अपाङ्गता भएका गर्बुजा २०२९ सालमा जन्मिनुभएको हो । शारीरिक रुपमा असक्त भएकै कारण उहाँले विस्तारा समेत छाड्नुभएको थिएन ।

सुकलाललाई नागरिकता बनाउन जिल्ला प्रसाशन कार्यालय पुग्न समस्या देखिएपछि म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राना आफै सुकलालको घरमा पुगेर विस्तारामै नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गर्नुभयो । गर्वुजा जिल्ला प्रशासन कार्यालयसम्म आउन नसक्ने भएकाले घरमै पुगेर नागरिकता प्रदान गरिएको प्रजिअ रानाले बताउनुभयो ।

‘जन्मेदेखि ओछ्यानमै पल्टिएको करिब पाँच दशक पुग्न लागेको रहेछ, ‘अन्नपूर्ण गाउँपालिकाकी उपाध्यक्ष केशमायाँ मगर अनि हिस्तानका वडा अध्यक्ष गमबहादुर फगामीले अनुरोध गरेपछि घरमै पुगेर नागरिकता हस्तान्तरण गरिएको हो’ प्रजिअ रानाले भन्नुभयो ।

नागरिकताको प्रमाणपत्र नहुँदा सामाजिक सुरक्षा भत्ताबाट समेत वञ्चित भएपछि नागरिकता बनाउनका लागि आफूले पहल गरेको अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष मगरले बताउनुभयो । उहाँले भन्नुभयो, ‘नागरिकता नहुँदा भत्ता वितरण गर्न समस्या भएको हुँदा नागरिकताका लागि पहल गरेको थिएँ, अब नागरिकता भयो बाँकी प्रक्रिया पुरा गरेर भत्ता उपलब्ध गराइनेछ ।’

उपाध्यक्षले वास्तविकता बताएपछि वडा अध्यक्षलाई आवश्यक कागजात बनाएर ल्याउन भनेको थिएँ, वडा अध्यक्षले सबै प्रकारका कागजातहरु ल्याएपछि जिल्ला प्रशासनमा भेरिफाई गरियो अनि घरमै पुगेर विस्तारामै सुतिरहेका गर्बुजालाई नागरिकता दिएको हो’ प्रजिअ रानाको भन्नुभयो ।

‘वडा अध्यक्षले वडाको मुचुल्का, सर्जिमिन, अपाङ्गता परिचयपत्रको प्रतिलिपि लगायतका कागजातहरु ल्याउनुभएको थियो, त्यसलाई भेरिफाई गर्दा सही सावित भएपछि नागरिकता बनाएर हस्तान्तरण गरिएको हो’ उहाँले भन्नुभयो ।

‘क’ वर्गको अपाङ्गता परिचयपत्र बनाए पनि जिल्ला प्रशासनसम्म पु¥याउन नसक्दा सामाजिक सुरक्षा भत्ताबाट बन्चित भएको अवस्थामा घरमै आएर नागरिकता दिँदा सपनाजस्तै लागेको सुकलालका बुबा जगबहादुर पुनले बताउनुभयो । नागरिकता नहुँदा छोरा सामाजिक सुरक्षा भत्ताबाट समेत बञ्चित भएको उहाँले बताउनुभयो ।

हिस्तान पुगेर नागरिकता वितरण गरेपछि अब पूर्णरुपमा अशक्त भएका नागरिकलाई घरदैलोमा पुगेर नागरिकता दिने आफ्नो योजना रहेको प्रजिअ रानाको भनाइ छ । नागरिकता वितरण गर्ने क्रममा वडाअध्यक्ष गमबहादुर फगामी, वडा सदस्य टीका घताने लगायतको उपस्थिति थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?