logo
२०८० चैत्र १६ शुक्रवार



सर्वोच्चमा आजदेखि अतिआवश्यक मुद्दामा मात्रै सुनुवाइ

राष्ट्रिय |


सर्वोच्चमा आजदेखि अतिआवश्यक मुद्दामा मात्रै सुनुवाइ


काठमाडौं, माघ ५ गते । सर्वोच्च अदालतमा आजदेखि अतिआवश्यक मुद्दामा मात्र सुनुवाइ हुने भएको छ ।

मंगलबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट)ले कोरोना सङ्क्रमण बढ्दै गएपछि बुधबारदेखि आफ्नो सेवा कटौती गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार आजदेखि सर्वोच्चमा अतिआवश्यक मुद्दामा मात्र सुनुवाइ हुने भएको हो ।

आजदेखि बन्दी प्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित, अत्यन्त जरुरी प्रकृतिका जीवन र जनस्वास्थ्य तथा सार्वजनिक महत्वका मौलिक हकसँग सम्बन्धित रिट निवेदनहरुको मात्र नियमितरुपमा सुनुवाइ गर्ने निर्णय पूर्ण बैठकले गरेको छ । सर्वोच्चका प्रवक्ता बाबुराम दाहालद्वारा जारी विज्ञप्तिमा यही माघ १८ गतेसम्मका लागि सेवा कटौती गर्ने निर्णय भएको उल्लेख छ ।

सो अवधिमा मुद्दा फिर्ता, तामेली एवं मिलापत्रसम्बन्धी कामकारबाही नियमितरूपमा सञ्चालन हुने, मुलुकी फौजदारी कार्यविधिअनुसार थुनुवा रहेका व्यक्तिहरूको निवेदन तथा प्रतिवेदनउपर सुनुवाइ हुने, थुनुवा भएका मुद्दाको सुनुवाइ गर्ने, हेर्दाहेर्दै र निर्णय सुनाउनेमा रहेको मुद्दाको सुनुवाइ गर्ने र सरकारको तर्फबाट दर्ता भएका प्रत्यर्थी झिकाउने आदेश नभएका पुनरावेदनको सुनुवाइ गर्ने सर्वोच्चले जनाएको छ ।

यसैगरी, उच्च र जिल्ला अदालत, अरु न्यायाधीकरणहरूको हकमा स्थानीय परिस्थिति एवं जोखिमको अवस्था तथा सङ्क्रमित भएको अवस्थासमेतको मूल्याङ्कनका आधारमा काम कारबाही गर्ने व्यवस्था मिलाउने बैठकले निर्णय भएको छ । आज सर्वोच्चमा एक पूर्ण, एक एकल र पाँच संयुक्त इजलास गरी सात इजलास गठन भएको छ ।

सर्वोच्चका ३० जना कर्मचारीलाई कोरोना सङ्क्रमण देखिएको छ भने अन्य ३० भन्दा बढी कर्मचारीमा कोरोनाको लक्षण देखिएको र स्वाब परीक्षण गराएर घरमा बसिरहनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?