logo
२०८१ बैशाख ७ शुक्रवार

  इजरायलमा नेपाली कामदार  



आज ९९ जना उड्दै, दाेस्राे चरणमा १६२ जना लगिने

अर्थ |


आज ९९ जना  उड्दै, दाेस्राे चरणमा १६२ जना लगिने
फाइल तस्बिर


काठमाडौं, माघ ५ गते । रोजगारीका लागि ९९ जना नेपाली कामदार आज इजरायल उड्ने वैदेशिक रोजगार विभागले जनाएको छ । विभागका निर्देशक डम्बरबहादुर सुनुवारले बुधबार राति ११ बजे ६३ महिला र ३६ पुरुष गरी ९९ जना नेपाली कामदार इजरायलका लागि उड्ने जानकारी दिनुभयो ।
उहाँले यो पहिलो उडान रहेको बताउनुभयो । त्यसपछि जनवरीको २९ र फेब्रुअरी १ तारिकका दिन दुई उडान हुने उहाँले जानकारी दिनुभयो ।
‘पहिलो पटक १२५ जना नेपाली कामदारको उडानको तयारी गरेका थियौं ।,’ उहाँले भन्नुभयो, ‘तर २६ जना कामदारमा कोरोना पोजेटिभ देखिएका कारण सङ्ख्या घट्यो ।  अहिले १२५ मध्ये ९९ जना आज राति ११ बजे इजरायल उड्नुहुन्छ ।’
यसैगरी दोस्रो चरणमा १६२ जना इजरायल उड्ने भएका छन् । माघ १५ र १८ गते कामदार इजरायल उड्ने तय भएको विभागका निर्देशक सुनुवारले जानकारी दिुभयो ।
नेपाल सरकार र इजरायल सरकारबीच २०७७ साल असोज १४ गते श्रम सम्झौता भएको थियो । श्रम सम्झौतापछि विभागले विज्ञापन सुरु गरेको १७५ दिन अर्थात् २५ हप्तामा नेपाली कामदारलाई इजरायल उडाउने टुङ्गो लागेको उहाँले बताउनुभयो ।
इजरायलस्थित रोजगारदाताले हस्ताक्षर गरी विभागमा पठाएको सम्झौतापत्रमा हालसम्म ९९४ कामदारसँग सम्झौता भइसकेको छ । विभागले इजरायल रोजगारीका लागि एक हजार ६ सय जनाको अन्तिम छनोट गरेको थियो । त्यसमा इजरायलले ११ सय ७५ जना छनोट गरेको जानकारी उहाँले दिनुभयो ।
नेपाल सरकार र इजरायल सरकारको सम्झौता अनुसार छनौट प्रक्रियाको सम्पूर्ण कार्य वैदेशिक रोजगार विभागको नेतृत्वमा सम्पन्न भएको उहाँले बताउनुभयो ।
इजरायल जाने नेपाली कामदार पाँच वर्षको लागि जाँदै हुनुहुन्छ । तर, उहाँहरुले प्रत्येक वर्ष भिषा नवीकरण गर्नुपर्ने उहाँको भनाइ छ ।
इजरायल जाने नेपाली कामदारलाई इजरायलस्थित रोजगारदाताले १४ दिन क्वारेन्टिन राख्नेछ । इजरायल सुरक्षित गन्तव्यमध्ये एक हो र अर्को आकर्षक पारिश्रमिक पनि हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?