logo
२०८१ बैशाख ७ शुक्रवार



सार्वजनिक यातायात र सरकारी कार्यालयमा भीडभाड घटेन

पढ्नै पर्ने |
खुला |


सार्वजनिक यातायात र सरकारी कार्यालयमा भीडभाड घटेन


काठमाडौ,माघ ४ गते । काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । सार्वजनिक बसमा सिट क्षमताभन्दा बढी यात्रु बोक्न प्रतिबन्ध लगाएको छ । तर, उपत्यकामा सञ्चालित हुने सार्वजनिक बसले यो नियमलाई अंगीकार गरेको देखिएको छैन । प्रशासनको निर्णय उपत्यकाका सार्वजनिक बसमा लागू नभएको देखिन्छ ।

सार्वजनिक बसमा मात्र नभएर उपत्यकाका सरकारी कार्यालयमा पनि सेवा लिन आउने सेवाग्रहीको भीडभाड बढेको छ । राहदानी विभाग, यातायात व्यवस्था विभाग तथा परिचयपत्र बनाउने ठाउँ र मतदाता नामावली सङ्कलन गर्ने ठाउँमा भीडभाड छ । यसले उपत्यकामा कोभिड संक्रमणको जोखिम बढाएको छ ।

भीडभाडबाट नै संक्रमण फैलदै छ : स्वास्थविद्
जनस्वास्थ्यविद् डाक्टर केदारप्रसााद दाहालले भीडभाड बढेकाले सरकारले कडा कदम चाल्नुपर्ने बताउनुभएको छ । नयाँ भेरियन्ट ज्यादै संक्रामक रहेकाले सरकारले यसतर्फ ध्यान दिन जरुरी रहेको उहाँकाे भनाइ छ। सरकारी कार्यालयमा सेवा दिँदा टोकन प्रणली अथवा लाइनलाई व्यवस्थापन गरेर सेवा प्रवाह गर्नुपर्ने दाहाल बताउनुहुन्छ । ‘सरकारी कार्यालयले सेवा प्रवाह गर्दा भीडभाड व्यवस्थित गर्नु जरुरी छ । सरकारी कार्यालयबाट नै कोरोना संक्रमण बढी फैलने डर भएकाले सेवा प्रवाहमा विशेष ख्याल गर्नु जरुरी छ,’उहाँले भन्नुभयो । सार्वजनिक यातायातमा देखिएको भीडभाड नियन्त्रण गर्नुपर्ने उहाँको तर्क छ ।

यस्तै सक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन भीडले कोरोना संक्रमण बढाउन सघाउने बताउनुहुन्छ । सरकारले निर्णय गरे पनि कार्यान्वयन पक्ष कमजोर हुँदा कोरोना नियन्त्रणमा चुनौती थपिएको उहाँको भनाइ छ । ‘संक्रमण बढाउनका लागि भीडले सहयोग गर्छ’, डा. पुन भन्नुहुन्छ, ‘सरकारले जारी गरेका निर्णयको कार्यान्वयन पक्ष फितलो रहेकाले कोरोना नियन्त्रणमा चुनौती थपिएको छ ।’

यसअघि सरकारले निर्णय गरे पनि आम सर्वसाधारणले स्वास्थ्य मापदण्ड पलना नगर्दा भयावह स्थिति बनेको उहाँले सुनाउनुभयो । ‘यसअघि हामी भयावह स्थितिमा पुग्नुका पछाडि हामी सचेत नहुनु नै हो’, डा. पुन भन्नुहुन्छ, ‘बेलैमा सचेत हुनु आवश्यक छ ।’

भीडभाड नियन्त्रण गर्नु सबैको साझा दायित्व
उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले कोरोनाको जोखिम बढरिहेकाले यसको नियन्त्रण गर्नु सबैको साझा दायित्व रहेको बताउनुभएको छ । प्रशासनले मात्र कोरोना नियन्त्रण गर्न नसक्ने भएकाले सबैको साथ महत्वपूर्ण रहको उहाँहरुको भनाइ छ ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुंगेलले पछिल्लो समय सार्वजनिक स्थानमा भीडभाड बढेको स्वीकार गर्दै यसको नियमनका लागि बेला–बेला हुने गरेको बताउनुभयो । भीडभाड नियन्त्रण गर्न प्रशासनले मात्र नसक्ने भएकाले सबै क्षेत्रको भूमिका आवश्यक रहेको उहाँकाे भनाइ छ ।

यस्तै भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भीडभाड नियन्त्रण गर्न जिल्लाभित्रका सरकारी कार्यालयमा टोकन प्रणाली लागू गर्न सबै कार्यालयलाई आग्रह गरिएको बताउनुभयो । लकडाउन हुन्छ कि भन्ने डरले कार्यालयमा सेवाग्रही धेरै आउने गरेको उहाँको तर्क छ । भीडभाड नियन्त्रणमा सबै नागरीक उत्तिकै जिम्मेवार रहेको प्रजिअ शर्माको भनाइ छ ।

यता ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी घनश्याम भुषालले कोरोना संक्रमण भीडभाड बाटै बढ्ने भएकाले सार्वजनिक यातायात र सरकारी कार्यालयमा हुने भीडभाड कम गर्न लागि परेको बताउनुभएको छ । सार्वजनिक सेवा प्रवाह गर्दा भीडभाड नगर्न सेवाग्रहीलाई आग्रह गरेकाे तर, कार्यान्वयन नहुँदा समस्या भएको बताउनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?