logo
२०८० चैत्र १५ बिहीवार



कृषि उद्यममा युवा आकर्षण

अर्थ |


कृषि उद्यममा युवा आकर्षण


विराटनगर समाचारदाता

विराटनगर, पुस ३० गते । होटल व्यवसायमा लामो समय बिताएका विराटनगरका दुई युवकले आधुनिक कृषि उद्यममा हात हालेका छन् । झन्डै आठ करोड रुपियाँ लगानीमा विराटनगर महानगरपालिका–१२ का सञ्जय चापागाईं र गजेन्द्र शर्मा बन्जराले सोही वडाको दरैया बस्तीमा बन्जरा एग्रो फार्मको नाममा आधुनिक कृषि उद्यम सञ्चालनमा ल्याउनु भएको हो ।

लामो समय होटल व्यवसाय गर्नुभएका चापागाईं र बन्जराले ५० करोड रुपियाँ लगानी गर्ने लक्ष्यसहित बञ्जरा कृषि फार्म स्थापना गर्नुभएको हो । पहिलो चरणको काम हुँदै गर्दा फार्मले दैनिक ८०० लिटर दूध उत्पादन गर्न थालिसकेको छ भने आगामी वैशाखदेखि दैनिक एक हजार ५०० लिटर दूध उत्पादन गर्ने लक्ष्य राखेको छ । फार्ममा २५ देखि ४२ लिटरसम्म दूध दिने होलस्टेन जर्सी गाई छन् ।

आठ महिनाअघि पाँच बिघा जमिनमा सुरु भएको यो फार्मले पहिलो चरणको काम सम्पन्न गर्नासाथ यहाँ उत्पादन हुने दूधलाई आउँदो वैशाखदेखि बोटलिङ गरी बजारमा लैजाने तयारी गरेको सञ्चालक सञ्जय चौलागाईंले जानकारी दिनुभयो । कृषि फार्मले स्वचालित प्रविधिमा आधारित डेरी उद्योग सञ्चालनको तयारी गरेको छ । गाईलाई घाँस तथा पानी खुवाउने, गोबर सोहोर्ने, दूध दुहुनेजस्ता काम पनि मेसिनबाटै हुने बताइएको छ ।

फार्म पूर्ण रूपमा सञ्चालनमा आएपछि दैनिक पाँच हजार लिटर दूध र ५०० किलोग्राम तरकारी उत्पादन गरी बजारमा पठाउने योजनाअनुसार फार्मले काम गरिरहेको छ । फार्ममा कृषि विषयमा स्नातकोत्तर र स्नातक दुई जनासहित २५ जनाले रोजगारी पाएका छन् ।
युवा जनशक्ति कृषि पेसाबाट विमुख भइरहेका बेला चापागाईं र बन्जराले पेसा परिवर्तन गरी कृषिमा लगानी गर्ने आँट गरेको भन्दै पशु सेवा विभागका उपमहानिर्देशक लेखराज दाहालले सरकार र अन्य सरोकारवालाले प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । गाई फार्मको अतिरिक्ति बञ्जरा एग्रोले टनेल खेतीलाई पनि सँगसँगै अगाडि बढाएको छ । टनेलमा विभिन्न जातका बेमौसमी तरकारी लगाइएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?