logo
२०८१ बैशाख ८ शनिवार



टेलिकमको इन्टरनेट खपत दोब्बरले बढ्यो

अर्थ |


टेलिकमको इन्टरनेट खपत दोब्बरले बढ्यो


विश्वास रेग्मी

काठमाडौँ, पुस २२ गते । नेपाल टेलिकमको दैनिक इन्टरनेट (डेटा) खपत एक वर्षमै दोब्बरभन्दा बढीले वृद्धि भएको छ । टेलिकमको अहिले दैनिक डेटा खपत औसतमा ४८० टेराबाइट (टीबी) छ । यो सन् २०२१ को औसत इन्टरनेट खपत हो । सन् २०२० मा कम्पनीको दैनिक औसत डेटा खपत २६३ टीबी मात्र थियो । फोरजी विस्तारका क्रम बढेसँगै कम्पनीको डेटा खपतमा व्यापक वृद्धि भएको हो । कुल डेटा खपतमा फोरजीकै हिस्सा बढी छ । फोरजी प्रयोगमार्फत टेलिकमको दैनिक ४९३ टीबीसम्म डेटा खपत भएको छ जब कि सन् २०१९ को मध्यसम्म फोरजीबाट हुने डेटा खपत केवल ७.५५ टीबी थियो ।

यो क्रम टुजी र थ्रीजीमा भने देखिँदैन । सन् २०१९ जुलाईमा टुजीमार्फत ६.१५ टीबी डेटा खपत भएकामा २०२१ नोभेम्बरमा घटेर २.८५ टीबी भएको छ । सोही अवधिमा थ्रीजीबाट हुने डेटा खपत दैनिक ९०.६१ टीबीबाट बढेर ९२.५० टीबी पुगेको छ । फोरजीबाट डेटा खपत बढेपछि दुई वर्षको उक्त अवधिमा कम्पनीको डेटाको प्रयोग समग्रमा ४६४ प्रतिशतले बढेको छ ।

पछिल्लो समय इन्टरनेटको प्रयोग बढेपछि डेटाको खपत पनि बढिरहेको कम्पनीका प्रवक्ता राजेश जोशीले बताउनुभयो । “कोभिडपछि धेरै कामका लागि इन्टरनेट प्रयोग हुन थालेपछि यसको दैनिक खपत पनि बढिरहेको छ,” उहाँले भन्नुभयो ।
डिजिटल कन्टेन्टको निर्माण पनि बढिरहेको तथा फोरजी विस्तार आयोजनामा पनि उल्लेख्य प्रगति हासिल हुँदा डेटाको खपत बढ्न सहयोग पुगेको उहाँको भनाइ छ ।

टेलिकमले करिब २० अर्ब रुपियाँमा तीन वर्षअघि देशैभर फोरजी विस्तार आयोजना कार्यान्वयनमा ल्याएको थियो । यस अवधिमा कम्पनीले ६४० वटा नयाँ टावरको व्यवस्था गरेको छ जसमध्ये ५०१ वटा टावर जडान सम्पन्न भइसकेको छ भने ४५१ टावरमार्फत सेवा सञ्चालनमा आइसकेको छ ।

टेलिकमले फोरजी आयोजनाको ९५ प्रतिशत भौतिक प्रगति हासिल भएको जनाएको छ । यसबाट ७७ जिल्लाका ७१० स्थानीय तहमा सेवा सुरु भइसकेको कम्पनीको तथ्याङ्क छ । आयोजना सम्पन्न हुँदा चार हजार ५१७ स्थानबाट मोबाइल सेवा सञ्चालनमा आउने कम्पनीले जनाएको छ । टेलिकमले अहिले फोरजीमार्फत भिडियो कलको समेत सुविधा लिन सकिने भ्वाइस ओभर एलटीई (भीओएलटीई) सेवा पनि सुरु गरिसकेको छ ।
पछिल्लो तथ्याङ्कअनुसार टेलिकमका फोरजी प्रयोगकर्ताको सङ्ख्या ७४ लाख नाघेको छ । त्यस्तै थ्रीजी प्रयोगकर्ता करिब एक करोड र टुजी प्रयोग गर्नेको सङ्ख्या ३८ लाख हाराहारी छन् ।

भ्वाइसमा पनि उल्लेख्य सुधार
डेटा मात्र होइन, टेलिकमको भ्वाइस ट्राफिकमा पनि उल्लेख्य सुधार देखिएको छ । कम्पनीको तथ्याङ्कअनुसार सन् २०२१ मा भ्वाइस ट्राफिक ३२ लाख २० हजार अल्र्याङ पुगेको छ । अल्र्याङले एक घण्टामा नियमित भ्वाइस कल सक्रिय भएको अवस्था बुझाउँछ । अर्थात् एक अल्र्याङ बराबर नियमित एक घण्टा भ्वाइस कल सक्रिय भएको अवस्था हुन्छ ।

सन् २०२० टेलिकमको भ्वाइस ट्राफिक २७ लाख ८० हजार अल्र्याङ थियो । त्यसअघि सन् २०१९ मा २४ लाख १० हजार अल्र्याङ, सन् २०१८ मा १८ लाख अल्र्याङ, सन् २०१७ मा १६ लाख २० हजार अल्र्याङ र सन् २०१६ मा १२ लाख ३० हजार अल्र्याङ रहेको टेलिकमले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?