logo
२०८० चैत्र १५ बिहीवार



श्रम गन्तव्य मुलुकमा प्रहरी सहचारी राख्ने प्रस्ताव

अर्थ |


श्रम गन्तव्य मुलुकमा प्रहरी सहचारी राख्ने प्रस्ताव


सीता शर्मा

काठमाडौँ, पुस १६ गते । नेपाल प्रहरीले नेपाली श्रमिकका प्रमुख रोजगार गन्तव्य देशमा प्रहरी सहचारी (कन्सुलर) राख्ने प्रक्रिया अगाडि बढाएको छ । नेपाल प्रहरीले श्रम गन्तव्य देशमा रहेका नेपाली श्रमिकलाई समस्यामा परेको बेलामा सहयोग गर्न ती देशका नेपाली दूतावासमा प्रहरी सहचारी नियुक्त गर्ने प्रक्रिया अगाडि बढाएको हो । प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरले नेपाली श्रमिकको सङ्ख्या धेरै रहेका देश संयुक्त अरब इमिरेट्स (यूएई), कतार, साउदी अरब, मलेसियासहित विभिन्न सात देशमा प्रहरी सहचारी राख्न प्रस्ताव गरेको जानकारी दिनुभयो ।

हाल छिमेकी भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासमा मात्र प्रहरी सहचारी छन् । त्यहाँ प्रहरी वरिष्ठ उपरीक्षकको दरबन्दी रहेको छ । खाडीका तीन मुलुक र मलेसियाबाहेक प्रहरीले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घीय डिपमार्टमेन्ट अफ पिस किपिङ अपरेन्सस, बङ्गलादेश र चीनमा सहचारी राख्न प्रस्ताव गरेको जानकारी उहाँले दिनुभयो ।

प्रवक्ता कुँवरले भन्नुुभयो, “भारतको नयाँदिल्लीमा जस्तै नेपालीका प्रमुख श्रम गन्तव्य देशमा पनि नेपालीको सुरक्षाका लागि प्रहरी सहचारीको आवश्यकता देखिएको छ । त्यसैले ती देशमा पनि प्रहरी सहचारी राख्नुपर्छ भनेर गृह मन्त्रालयमार्फत प्रस्ताव अगाडि बढाएका छौँ । ”

प्रवक्ता कुँवरका अनुसार ती देशमा रहेका नेपाली श्रमिकलाई सहयोग पु-याउने आपराधिक विषय जोडिएका व्यक्तिलाई स्थानीय प्रहरीको सहकार्यमा पक्राउ गरी स्वदेश ल्याउने उद्देश्यले प्रहरी सहचारी राख्न खोजिएको हो । यसैगरी गन्तव्य देशको अपराधीलाई त्यहाँको प्रहरीसँग सहकार्य गरे कारबाही गर्ने र ती देशमा रहेर नेपाली ठग्ने गरेकालाई प्रक्राउ गरी स्वदेश ल्याउनेमा केन्द्रित भएर काम गर्ने उद्देश्य रहेको प्रवक्ता कुँवरले बताउनुभयो ।

त्यसो त नेपाल प्रहरीले पाँच वर्षअघि श्रम गन्तव्य देशमा प्रहरी सहचारीका लागि गरेको प्रस्ताव गृहबाट स्वीकृत भए पनि परराष्ट्र मन्त्रालयमा गएर रोकिएको थियो । पछिल्लो पटक श्रम गन्तव्य देशमा नेपालीले नेपालीलाई गर्ने आपराधिक गतिविधि नियन्त्रण गर्न दूतावासमा पनि प्रहरी सहचारीको आवश्यकता महसुस गरिएकाले अहिले कतैबाट रोकावट नहुने प्रहरी प्रवक्ता कुँवरले बताउनुभयो ।

उहाँका अनुसार यसबाहेक गन्तव्य देशमा सानासाना गल्ती वा बिनाकारण लामो समय जेल सजाय तथा ब्लडमनीजस्ता ठूलो परिमाणमा हुनसक्ने जरिवानाबाट जोगाउन पनि प्रहरी सहचारी स्थापना भएमा धेरै सहज हुनेछ । पूर्वश्रम सचिव पूर्णचन्द्र भट्टराईले नेपालका प्रमुख श्रम गन्तव्य देशमा प्रहरी सहचारी राख्ने वा नराख्ने विषयमा एकीकृत अध्ययन गरेर ती देशमा आवश्यकता महसुस भएमा राख्नलाई ठूलो समस्या नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले प्रहरी सहचारी राख्ने पछि निकाल्नुपर्ने अवस्था आउनुभन्दा पहिले नै अध्ययन गरेर राख्न सकियो भने त्यसबाट आउने परिणाम पनि राम्रै हुन्छ । ”

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?