logo
२०८० चैत्र १६ शुक्रवार



रानीपोखरीको नयाँ प्रवेशद्वार बन्दै

खुला |


रानीपोखरीको नयाँ प्रवेशद्वार बन्दै


भउचप्रसाद यादव

काठमाडौँ, पुस १२ गते । रानीपोखरी र सो क्षेत्रमा निर्माण भइरहेका मल्लकालीन फाल्चालगायतका संरचनाको काम अन्तिम चरणमा पुगेको छ । अहिले सो क्षेत्रमा गोलघरसहितको फाल्चा, जमलमा रहेको आकाशेपुलसँगै रानीपोखरीको नयाँ प्रवेशद्वार, टिकट काउन्टरलगायतका संरचना निर्माण भइरहेका छन् ।

काठमाडौँ महानगर पूर्वाधार विकास विभागका प्रमुख रामबहादुर थापाले रानीपोखरीको आसपास क्षेत्रमा निर्माण भइरहेका संरचनाको काम तीव्र गतिमा भइरहेको जानकारी दिनुभयो । रानीपोखरी र गोपालेश्वर मन्दिर सर्वसाधारणका लागि हरेक दिन खोल्न प्रवेशद्वार, टिकट काउन्टर तथा शौचालय निर्माण भइरहेको छ । आवश्वयक पूर्वाधार निर्माण भइसकेपछि सर्वसाधारणका लागि रानीपोखरी खुला गरिनेछ । रानीपोखरीको प्रवेशद्वार काठमाडौँको परम्परागत घर र पाटीको शैलीमा निर्माण गरिँदैछ ।

अहिले रानीपोखरी प्रवेशका लागि जमलमा रहेको आकाशेपुलसँगै प्रवेशद्वारका साथै फाल्चा निर्माण कार्य भइरहेको छ । यस्तै शान्तिवाटिका क्षेत्रमा गणेशमान सिंहको सालिकसँगै गोलघरसहितका फाल्चाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । अहिले रानीपोखरी आसपासको निर्माण मल्लकालीन शैलीमा भइरहेको जानकारी थापाले दिनुभयो ।

त्यसैगरी हात्ती चढेको प्रताप मल्लको मूर्तिभन्दा पछाडिपट्टि पनि फाल्चाको निर्माण भइरहेको छ । रानीपोखरीको हिस्साकै रूपमा मल्लकालीन फाल्चालाई लिने गरिन्छ । फाल्चालाई ‘गोलपाटी’को नामले चिनिन्छ ।
तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रानीपोखरीको भित्री भाग मात्र काठमाडौँ महानगरपालिकालाई हस्तान्तरण गरेको थियो । पोखरीको आसपास क्षेत्रमा अहिले निर्माण भइरहेका संरचनाको काम सम्पन्न भइसकेपछि रानीपोखरी र गोपालेश्वर मन्दिर सर्वसाधारणका लागि खुला गरिनेछ ।

पुरातत्त्व विभाग, काठमाडौँ महानगरपालिका र स्थानीयवासीको सल्लाहअनुसार नै नयाँ संरचना निर्माण भइरहेका छन् । त्यसैगरी रानीपोखरी उत्तरको जगतनारायण मन्दिरसहितका संरचनाको समेत पुनर्निर्माण गरिँदैछ । यो मन्दिरको पनि पुरानै शैलीमा पुनर्निर्माण हुँदैछ । यो स्थानमा ढुङ्गेधारासमेत बन्ने छ ।
सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पद्मप्रसाद मैनालीले रानीपोखरी आसपास क्षेत्रमा नयाँ संरचना निर्माण अहिले तीव्र गतिमा भइरहेको बताउँदै चैतसम्म निर्माण कार्य सम्पन्न हुने जानकारी दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?