logo
२०८० चैत्र १६ शुक्रवार



जुजु धौलाई ट्रेडमार्क

अर्थ |


जुजु धौलाई ट्रेडमार्क


विश्वास रेग्मी

काठमाडौँ, पुस १० गते । मौलिक स्वादका लागि प्रसिद्ध भक्तपुरको जुजु धौ (दही)ले व्यापारिक चिह्न प्राप्त गर्ने भएको छ । मल्ल कालका राजाहरूको रोजाइको यो दहीको विशिष्ट पहिचान संरक्षण गर्ने उद्देश्यसहित सामूहिक व्यापार चिह्न (कलेक्टिभ ट्रेडमार्क) दर्ता गर्न लागिएको हो । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै बजार विस्तार गर्न यस किसिमका चिह्न प्रयोग गराउने सरकारी नीतिअनुरूप दर्ताको प्रक्रिया अगाडि बढाइएको हो ।

जुजु धौको व्यापारिक चिह्न दर्ताका लागि उद्योग विभागमा निवेदन प्राप्त भएको विभागका निर्देशक सुरेश जोशीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यस्तो ट्रेडमार्क प्रदान गर्ने मापदण्ड तयार गर्नका लागि हामीले सङ्घलाई जानकारी गराएका छौँ।” 

भक्तपुर जुजु धौ व्यवसायी सङ्घले जुजु धौको व्यापारिक चिह्न प्राप्त गर्न यसको प्रक्रिया अगाडि बढाएको हो । विभागबाट प्राप्त निर्देशनअनुसार अहिले मापदण्ड निर्माण गर्ने कानुनी प्रक्रिया जारी रहेको सङ्घका अध्यक्ष कृष्णगोपाल सैँजूले जानकारी दिनुभयो । उहाँका अनुसार भक्तपुरको मौलिक उद्योग भएकाले त्यहीँका व्यवसायीलाई मात्र ट्रेडमार्क उपलब्ध गराउने योजना छ ।

“हामीले अरू ठाउँमा पनि जुजु धौ बनाउने प्रयास ग-यौँ तर भक्तपुरको जस्तो बनेन । यहाँकै मौलिक उद्योग भएकाले यहीँका व्यवसायीलाई दिने सोच हो,” उहाँले भन्नुभयो । मौलिक उद्योगलाई संरक्षण गर्ने उद्देश्यले नै ट्रेडमार्क लिन लागिएको उहाँले जानकारी दिनुभयो । स्वाद र गुणस्तर नबिगार्ने गरी उत्पादन गर्ने व्यवसायीले मात्र यसको ट्रेडमार्क लिन पाउने उहाँले स्पष्ट पार्नुभयो ।

अहिले भक्तपुरमा मात्रै करिब ९० वटा पसलमा जुजु धौ तयार गरिन्छ । आकारमा सानो भए पनि भक्तपुरको दहीको पहिचान भने देशैभर स्थापित छ । सङ्घका अनुसार जाडो महिनामा दैनिक करिब ३० हजार लिटर जुजु धौ उत्पादन हुन्छ । त्यस्तै गर्मीयाममा दैनिक ६० हजार लिटरसम्म उत्पादन हुने सङ्घको अनुमान छ । खासगरी माघपछि जुजु धौको माग बिस्तारै बढ्छ ।

काठमाडौँ उपत्यका यसको मुख्य बजार हो । मेसिनको प्रयोग नगरी परम्परागत रूपमा बनाइने र संरक्षणका उपाय प्रयोग गर्न नसक्दा भने निर्यातको सम्भावना भए पनि विदेश पठाउन नसकिएको सङ्घका अध्यक्ष सैँजूले बताउनुभयो । यद्यपि ट्रेडमार्क प्राप्त गरेपछि भविष्यमा निर्यात गर्न भने सहज हुने उहाँको भनाइ छ ।

जुजु धौ मात्र होइन, पछिल्लो समय सरकारले अन्य आन्तरिक उत्पादनलाई पनि यस किसिमको व्यापारिक चिह्न दिने प्रक्रिया थालेको छ । दैनिक जनजीवनका अत्यावश्यक वस्तु, औषधि र स्वास्थ्य सामग्री एवं स्वदेशी कच्चा पदार्थ प्रयोग गरी आन्तरिक उत्पादन प्रवद्र्धन गर्न सरकारले सामूहिक ट्रेडमार्क पाउने व्यवस्था गरेको जनाएको छ । यसमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सहजीकरण गरेको छ ।

सरकारी व्यवस्थाअनुसार नै सम्बन्धित भूगोल, क्षेत्रका व्यवसायीले व्यापारिक प्रयोजनका लागि ट्रेडमार्कका लागि उद्योग विभागमा निवेदन सक्नेछन् । मन्त्रालयका अनुसार अहिलेसम्म नेपाल टी, नेपाल कफी, एभरेस्ट अलैँची र च्याङ्ग्रा पस्मिनाले सामूहिक ट्रेडमार्क पाइसकेका छन् । जुजु धौसहित नेपाल जुट, नेपाल कार्पेट पनि सामूहिक ट्रेडमार्क दर्ताको प्रक्रियामा छन् ।

राष्ट्रिय सहकारी सङ्घले पनि नेपाल कुप कफीको ट्रेडमार्क दर्ताको प्रक्रिया अगाडि बढाएको छ । ट्रेडमार्क दर्ता गर्ने विभागले भने सम्बन्धित ट्रेडमार्कका लाभग्राहीसहित प्रयोगका सम्पूर्ण मापदण्ड स्पष्ट पार्न निवेदकलाई जानकारी गराइसकेको अवस्था छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?