logo
२०८१ बैशाख ८ शनिवार

जनकपुरधाममा विवाह पञ्चमी महोत्सव सम्पन्न (फोटो फिचर)

खुला |
फोटो फिचर |
समाज |


2021-12-09-52465



लक्ष्मी चौधरी / विजयकुमार साह
ढल्केवर, मङ्सिर २३ गते । जनकपुरधाममा भगवान राम र सीताबीच प्रतिकात्मक विवाह सम्पन्न भएको छ । त्रेता युगमा भगवान राम र सीताबीच विवाह भएको सम्झनामा बुधबार राति जनकपुरधामस्थित जानकी मन्दिरमा वैदिक परम्पराअनुसार रामसीताको प्रतिकात्मक विवाह सम्पन्न भएको हो ।

विवाह समारोहमा नेपाल तथा भारतका लाखौं श्रद्धालु सहभागी थिए । दिउँसो जानकी मन्दिरबाट जानकीको डोला र राम मन्दिरबाट रामको डोला साधुसन्तको अगुवाइमा झाँकी कीर्तनसहित नगर परिक्रमा गर्दै बाह्रविघा मैदान पुगेर स्वयम्वर गरिएको थियो । ढोल पिपही, सहनाई, व्यान्ड बाजा र पञ्चेबाजासहित छुट्टाछुट्टै निस्केको दुबै डोला बाह्रविघा मैदानमा प्रतिकात्मक राम र सीताबीच स्वयम्वर (मालाफेर) भएको थियो ।

यस्तै, विवाह पञ्चमी महामहोत्सवको सातौं दिन बिहीबार मिथिला परम्परा अनुसार भगवान रामको जन्तीमा आएका पाहुनालाई विदाई भोजन स्वरुप मिथिला भोजन गराउँदै रामकलेवा विधि समापनसँगै सप्ताहव्यापी रामसीता विवाह महोत्सव सम्पन्न हुनेछ ।

विवाह उत्सवमा आएका भक्तजन श्रद्धालुहरुलाई सामूहिक भोजनका लागि जानकी मन्दिर परिसरमा ३६ प्रकारका व्यञ्जन पकाएर जन्तीको रुपमा भारतको आयोध्या तथा अन्य स्थानबाट आएका साधुसन्त, भक्तजन, श्रद्धालुहरुलाई भोजन खुवाउने र दक्षिणा दिएर विदाई गर्ने विधि रामकलेवा हो ।

गत शुक्रबारदेखि सुरु भएको रामजानकी विवाह महोत्सवको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलबारी लीला, तेस्रो दिन धनुषयज्ञ, चौंथो दिन तिलकोत्सव, पाँचौ दिन मटकोर, छैठौँ दिन रामजानकी विवाह महोत्सव तथा सातौँ दिन रामकलेवा हुँदैछ । रामकलेवापछि रामजानकी विवाह महोत्सव यसवर्ष विधिवत् रुपमा सम्पन्न हुनेछ ।